• सञ्जय मित्र

आज रामनवमी । देशभर सार्वजनिक बिदा छ तर रौतहटमा विशेष दिन छ, आज । राष्ट्रपति विद्यादेवी भण्डारीको आगमन हुँदैछ रौतहटमा । त्यो पनि गरुडा नगरपालिकामा । म गरुडावासी हुँ । गरुडा नगरपालिकाको नागरिक हुँ । मेरो नगरपालिकामा राष्ट्रपतिको आगमन हुँदैछ । म पूर्ण तयार छु कार्यक्रममा जानको लागि, उत्सुक छु र प्रतीक्षारत पनि ।

आज बिहान अलिक फुर्सत छ । छतमा मोबाइल लिएर पुग्छु । इन्टरनेटले छतमा पनि काम गरेको छ । एक दुई फोन गर्नु थियो, गर्छु । म्यासेन्जरमा कल गर्छु साहित्यकार नरनाथ लुईंटेललाई । उहाँ मलाई खासै चिन्नुहुन्न । मूल उद्देश्य भलाकुसारी नै हो । केही हप्ता पहिले उहाँले व्यङ्ग्यम् माग्नुभएको थियो । सोही क्रममा हेटौंडा साहित्य महोत्सवमा पुगेर भाइ रामअविकाससित आज भोलि नै पठाउनुपर्ने कुरोकानी भएको थियो । दुई प्रति नरनाथ लुईंटेल र दुई प्रति लक्ष्मण गाम्नागेलाई । किताब पुग्यो होला भन्ने कुरामा ढुक्क थिएँ । प्रसङ्ग आयो तर पुस्तक नआएको कुरो थाहा भयो । थोरै कुरा गरेर मुख्यगरी सञ्चो–बिसञ्चो र अन्य केही भलाकुसारी गरी दुवैजना एकअर्काबाट बिदा लिन्छौं ।

ह्वाट्स एप लगाउँछु अविकासको । व्यस्तको नोटिस आउँछ तर लगत्तै उताबाट आइहाल्छ फेरि ह्वाट्स एपमैं । कुराकानी हुन्छ दाजुभाइबीच । दुई दशकभन्दा बढी समयदेखि दाजु नै भन्दै आएका छन् अविकासले मलाई । भलाकुसारी चल्छ र प्रसङ्गले व्यङ्ग्यम् कतै पठाउन नसकेको कुरो आउँछ । अनि राम भन्छन् – मेरो भर नपर्नू दाइ, मेरो ठेगान हुँदैन ।

कुरियर गर्न कि गौर पुग्नुपर्छ कि चन्द्रपुर । म बसेको ठाउँबाट दुवै समान दूरीमा छन् दुई ध्रुवजस्तै । आजै कतै गएर कुरियर गर्छु भन्ने दृढताको बीजारोपण हुन्छ मनमा । राष्ट्रपतिको कार्यक्रमको लागि दिउँसो १२ बजेको निम्तो छ । निम्तो सांसद अनिलकुमार झाले फोन गरेर दिएका हुन् । सांसद झाकै नेतृत्वमा गरुडा नपा–१ मा गजेन्द्रनारायण सिंह स्मृति अस्पताल निर्माण भएको छ । यसको समुद्घाटनका लागि राष्ट्रपतिको आगमन हुँदैछ ।

आज चैत २७ गते भए पनि बिहानैदेखि गर्मी छैन । पुर्वैया शीतल हावा बिहानैदेखि चलिरहेको छ । आकाशमा बादल पनि लागेको छ तर वर्षाको सम्भावना छैन ।

खाना खाँदाखाँदै विचार आउँछ कार्यक्रममा जाने र दुई बजेतिर कार्यक्रम सकिएपछि गौर पुग्ने कुरियर गर्न । खाना खाएर खाम ल्याएर दुईवटा खाममा दुईदुई व्यङ्ग्यम् हाल्छु र घरबाट निस्कन्छु । पौने बार बजेको छ । जयनगर पुग्छु । कार्यक्रमको प्रवेशद्वारको ठीक अगाडि सडकभन्दा तल्तिर खेतमा पार्किङ बनाइएको छ । उतै लाग्छु म स्कूटर राख्न । स्कूटर एउटा सभ्य नागरिकले झंैं साइड गरेर राख्छु । त्यहीं प्रहरीहरू छन् । स्कूटरमा हेल्मेट खोलेर हाल्छु । अलिकति पोशाक मिलाउँछु । अनि त्यहाँबाट कार्यक्रमतिर अगाडि बढ्न खोज्छु । चार पाँच पाइला अगाडि बढिसकेको हुन्छ कि एकजना प्रहरी कराउँछन्– उता लैजानुस् गाडी । अघिदेखि त्यहीं उभिएका प्रहरीले पहिले नै भनेका भए इशारा गरेकै ठाउँतिर लगाउँथे । पहिले हेरेर बस्ने अनि गाडी लगाएर चारपाँच पाइला हिंडेपछि पुलिसिया शैलीमा कडा बोली पार्दै भोजपुरी भाषामा बोल्ने प्रहरी धु्रव यादवको अनुहार र बोलीको शैली देखेर गाडी निकाल्छु र हिंड्छु ।

म किन बस्थें कार्यक्रममा । सोझै हानिन्छु गौरतिर । पहिले कुरियर गरूँ कि पहिले साहित्यकार नवराज रिजालले पठाइदिएको पुस्तक खोजूँ । साहित्यकार रिजालले आफ्नो पुस्तक मलाई पठाइदिएका छन् माया गरेर । माँ कल्याणी बसको काउन्टरमा छाडिदिएका छन् कम्तीमा तीन हप्ता पहिले । धेरैजनालाई भनिसकें गौर बसपार्कमा छ रे एकचोटि हेरिदिनू । हरेक मानिसका आफ्नै व्यस्तता हुँदोरहेछ । आज एक पन्थ दुई काज हुने भयो । अझै राष्ट्रपतिको सवारी भइसकेको छैन । एक घण्टामा त फर्किहाल्छु नि, भनेर कुद्छु गौरतिर ।

गौरमा एउटै पसलमा कुरियर हुन्छ । हाम्रो जिल्लाको सदरमुकाम भए पनि कुरियर सेवा अलिकति पनि भरपर्दो छैन । पहिले जनमत साहित्यिक मासिक आएर महीनौं थन्किथ्यो । कुरियर पसल कहिले बन्द हुन्थ्यो त कहिले मान्छे हुँदैनथ्यो । आज पनि पसल बन्द छ । कुरियरको लागि अन्य स्टेशनरी पसलहरूमा पुग्छु तर अन्य कुनै पनि पसलले कुरियर गर्दैन । अब आस मर्छ ।

अनि खोजीमा जुट्छु साहित्यकार रिजालको पुस्तकको । गौर बजारमैं रहेको माँ कल्याणीको काउन्टरमा सोध्छु । हेर्दै नहेरी काउन्टरको मानिसले नमीठो बोलीमा झर्केर भन्छ – यहाँ कुनै सामानतामान छैन । बसमैं गएर सोध्नू ।

बस हुन्छ बसपार्कमा । त्यहाँबाट सोझै पुग्छु बसपार्क । बसपार्कको नौ नम्बर सटरमा छ माँ कल्याणीको काउन्टर । काउन्टरमा एकजना मानिस बसेका छन् जो मोबाइलमा कुनै गेम खेलिरहेका छन् । मलाई स्कुटरबाट ओर्लेको देखेर अलिक व्यस्त भएजस्तो गर्छन् । “काठमाडौंबाट कुनै किताबको सानो पोको आएको छ ?” म स्थानीय बज्जिका भाषामा सोध्छु । जब उनले  थाहा पाउँछन् म टिकट लिन आएको होइन तब उनी अपशब्द मात्र प्रयोग नगरी यत्ति जर्कटिएको बोलीमा इन्कार गर्दछन् मानौं मैले कुनै भयङ्कर े अपराध गरेको छु जसको क्षमायाचना गर्दा पनि उनको स्वाभिमानमा चोट लाग्छ ।

साउजीको हातमा काठमाडौंमा दिएको भन्ने आग्रह हुन्छ निवेदनको पारामा । उनी साउकै हातबाट लिनू नभए गाडीमा गएर हेर्नू भन्छन् । उनको बोली निसाफकर्ताको न्यायवचन हुन्छ र म याचकजस्तो उभिएको छु । हेर्छु नजीकै गाडी छ । गाडीनेर गएर हेर्छु ढोका बन्दछ । कोही पनि मानिस छैन ।

अलिकति आक्रोश र धेरै निराशा मनभित्र हुलेर गौरबाट फर्कन खोज्छु । बसपार्कबाट निस्कँदै गर्दा पौने एक बजेको छ । राष्ट्रपतिको आगमन भइसकेको हुनुपर्छ भन्ने ठानी कार्यक्रमको लागि हिंड्छु । करीब एक बजेतिर आइपुग्छु । पैदल मानिसहरूको लर्को छ कार्यक्रमको लागि । खेतमा हेलिकप्टर रोकिएको छ । कार्यक्रममा पुग्ने मुख्य प्रवेशद्वारमा अत्यधिक भीड छ । यति भीड छिचोलेर जाँदा त्यहाँ बस्ने ठाउँको पनि अभाव होला । बरु आज चन्द्रपुर गएर पनि कुरियर गर्छु । अलमल नगरी सोझै हानिन्छु चन्द्रपुरतर्फ ।

सधैं पुस्तक वा पत्रिका किन्ने गरेको पसलमा पुग्छु । त्यहाँ कुरियर सेवा छैन । पुस्तकको कुनै पोको आएको छैन । अनि हानिन्छु शुभ प्रभात स्टेशनरीतर्फ । कुरियर सेवा उपलब्ध छ । कुरियर गरेर एकै छिन इलाका प्रहरी कार्यालय चन्द्रपुरका कार्यालय प्रमुख डिएसपी सन्तुकुमार जैस्बारलाई भेट्न पुग्छु । सन्तपुरको थारू होटलमा खाजा खाने विचारमा छु । घोंघी, गंगटो, सिप्पी, लोकल कुखुरा, खोलाको माछा, हाँस सबै पाइन्छ । निकै पहिलेदेखि नाम सुनेको हो, ठाउँ देखेको हो तर खान पाएको छैन । त्यहीं बस्ने एकजना साथी हुनुहुन्छ नरेन्द्रकुमार चौधरी । बिहान हामी एकै ठाउँमा हुन्छौं क्याम्पसमा । फोन गर्छु त संयोगले तयार भइहाल्छन् । अनि चपुरबाट सन्तपुरतर्फ फर्किदै गर्दा स्कूटर बन्द हुन्छ । पौने तीन बजेदेखि पौने सात बजेसम्म स्कूटर बनाउने मिस्त्रीले समय लगाइदिन्छ ।

सबै काम धराप । आजको दिन कुनै काम हुन पाएन । लेखाइपढाइ हुन पाएन, घरको काम पनि गर्न सकिएन । साथीभाइलाई भेट्न सकिएन । कम्तीमा घरमा बस्न सकिन्थ्यो र केही सिर्जनात्मक काम हुन्थ्यो, त्यो पनि भएन ।

भयो त केवल कुरियर गर्ने काम । साहित्यकार रिजालजीको पुस्तकको कुनै अत्तोपत्तो छैन । एउटा कुरियर गर्नको लागि पूरा एक दिनको समय समाप्त ।

स्कूटर बनाउने मिस्त्रीले नै भनेका छन् – भोलि फेरि आउनुपर्छ । भन्नुको तात्पर्य अधूरो बनेको छ । अझ बनाउन बाँकी छ । फेरि अर्को दिन पनि दिनभर बस्नुपर्ने हो कि ? मिस्त्रीको कुनै ठेगान हुँदैन । पाँच मिनेटमा भइहाल्छ भनेकै हुन्, चार घण्टाभन्दा बढी समय लगाए ।

सडकमा अँध्यारो छरिएको छ तर गाडीको हेड लाइटले काम गर्ने र छोड्ने गरिरहेको छ । यस्तैमा मौसमले पनि हतार गर् भनिरहेको छ । हतारमा गाडी चलाउने मान्छे म होइन । लाइटले जे त पर्ला भनेर अगाडि बढाइरहन्छु गाडी ।

वास्तवमा भन्ने हो भने एउटा भरपर्दो कुरियर सेवा नभएको मोफसल ।

मोसफलका कतिपय अदृश्य पीडा छन् । कतिपय पीडा दृश्य छन् । कतिपय पीडा त वर्णन वा अभिव्यक्त गर्नै सकिंदैन । मोफसल भएकै कारण कतिपय फसल नलागेको यथार्थ हो । र, यस पीडाबाट उन्मुक्तिको कुनै उपाय पनि त छैन । यसकारण मीठो मानी यसलाई पचाउनुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here