- सञ्जय मित्र
आजभोलि धेरै पुराना पर्वमा खिया लाग्न थालेका छन् । नजीकका पर्वहरू जूड शीतल, सतुवान यसका उदाहरण हुन् । आफ्ना केही पर्वहरू दुब्लाए पनि विदेशी पर्व वा संस्कृतिको आकर्षण हामीकहाँ बढ्दो छ । रैथाने संस्कृतिका शुभचिन्तकहरू यस कारण चिन्तामा छन् कि लोकसंस्कृति र यससम्बद्ध धेरै सम्पदा निरन्तर लोप भइरहेका छन् । संस्कृति निरन्तर हराइरहँदा दुर्भाग्य कतैबाट मौलिकता रक्षार्थ कुनै महŒवपूर्ण काम भइरहेको छैन । ओरालो लागेको मौलिकतामा हरेक दिन आधुनिकता थपिंदै गइरहेको हाम्रा संस्कृतिप्रति सद्भाव त रहेको छ तर सद्भावका अगाडि उभिएर एउटा सेल्फी लिएर संस्कृति मानेको भ्रमको अनुकरण बढेको छ । भ्रमको अनुकरणमा हाम्रो वास्तविक संस्कृतिका कतिपय पक्षको बारेमा धेरैलाई केही थाहै रहेनछ । आफूले आफूलाई नै बिर्सिंदै गइरहेको जस्तो भइरहेको छ अहिले ।
चैतको आरम्भमा हुने होलीलाई त फगुवा नै भन्ने गरिन्छ । चैतको पहिलो दिन हुने भएपनि फागुनमा नै गन्ती हुन्छ समाजमा । यस धरातलमा सबैभन्दा ठूलो पर्व हुन्थ्यो रामनवमी । रामनवमीलाई चैतको ठूलो पर्व मान्ने गरिन्थ्यो । र सर्लाहीदेखि पश्चिमका लागि चैतेनवमी मेला प्रसिद्ध थियो सिम्रौनगढको । अहिले यस मेलाको रौनक पनि खुइलिइसकेको छ । धेरै चोक र बजारले आफ्नो नौरङ्गी छाया विस्तार गरिसकेका छन्, जसमा सिम्रौनगढको मेला फिक्का भइसकेको छ ।
निकै कम समयमा चैते दशैं र चैती छठको विकास भइरहेको छ । हेर्दाहेर्दै चैते दशैंको मेला धेरै ठाउँमा लाग्न थालिसक्यो । जसरी फागुन पूर्णिमाको दिन समनपुर मेला पर्याय नै थियो, त्यसरी अब चैतको कुनै मेला पर्याय छ भने अलिकति जनकपुर मेला । अन्यथा चैतमा अब दशैं र दशैंभन्दा धेरै गुना बढी छठको सम्झना हुन थालिसक्यो । छठजस्तो कठिन पर्व मान्नेहरूको सङ्ख्या हेर्दा मधेसमा यस महीनाको सबैभन्दा ठूलो पर्व अब छठ नै भइसक्यो भन्दा अत्युक्ति नहोला ।
मधेसका सबै जिल्लामा छठ धूमधामका साथ मनाइन थालिएको छ ।
अध्ययनको आधारमा मैले दाबी गरेको छु कि छठको सुरुआत रौतहटको समनपुरबाट भएको हो । मेरो एउटा पुस्तक पनि प्रकाशित छ– छठ पबनी, उद्भव र विस्तार ।
चार दशकअघि कतै कुनै चैती छठको बारेमा मैले सुनेको थिइनँ तर विस्तारको सुरुआत भएको छ । गत दुई दशक र अझ पछिल्लो दशकमा भने चैतको छठले निकै विस्तार पाएको छ । यसको पछिल्लो अर्धदशक अर्थात् देशमा नयाँ संविधान जारी भएपछिको अवस्थामा भएको पालिका निर्वाचनपछिको पाँच वर्षमा छठले सङ्ख्यात्मक र गुणात्मक दुवैरूपमा आकाशको विस्तार भएको छ । छठको आकाश यसरी विस्तार भइरहेको छ कि अब यसले खोजेको औपचारिक शुभकामना हो । हो, अन्य पर्वको जस्तो चैतको छठको औपचारिक शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी ठूला नेताहरूलाई बोलाउन शुरू गर्ने हो भने राष्ट्रिय मिडियामार्फत सबैको ध्यान खिच्न सफल हुने कुरामा अलिकति पनि शङ्का छैन । र यस सवालमा पनि शङ्का छैन कि अब चैती छठले आफ्नो जरोको आकाश यसरी विस्तार गरेको छ कि समाजले अपनत्व ग्रहण गरिसकेको छ । जहाँ कुनै पनि पर्व वा संस्कृतिलाई समाजले अपनत्व ग्रहण गर्दछ, त्यहाँ त्यसको विस्तार हुन्छ । छठ पर्वको विस्तारमा यही मूल कारण रहेको छ ।
छठ पर्व आफैं विस्तार भइरहेको छ । कसैले यसको लागि प्रयास गरिरहेको छैन । यसलाई औपचारिकता दिइरहेको छैन । समाजमा यसलाई मान्नेहरूले एउटा दियोबाट अर्को दियो सल्काएझैं आफैं सल्किंदै गइरहेको छ । साँच्चै, चैती छठ मान्नेहरूमध्ये धेरै चाहिं पहिलो पुस्तामा नै छन् । अर्थात्, चैती छठ मान्ने अधिकांश चाहिं पहिलो पुस्ता हुन् । के उसो भए यसको कुनै इतिहास नै छैन त ?
होइन, यसको इतिहास छ । जसरी चैतमा दशैं मनाइन्छ र असोजमा पनि । दशैं पहिले कुन ? यस्तै पक्ष छठको अगाडि पनि छ । किन अरू महीनामा छठ मनाइएन ? चैतमा नै किन ? के चैत र कात्तिकको छठमा कुनै सामञ्जस्य छ ? निस्सन्देह छ । दुवै छठ एउटै हुन् । छठको विधि, प्रक्रिया, आस्था र श्रद्धा सबै उही हुन् । एकै तिथि, मिति र एकै विधानले कात्तिके छठ र चैती छठ मनाइन्छन् । कतिपय सन्दर्भमा दुवै छठ मान्ने पात्र उही छन् ।
अर्धदशक पहिले दर्शक धेरै हुन्थे, श्रद्धालु धेरै देखिन्थे तर व्रतालु निकै कम हुन्थे । यसरी लाग्दथ्यो कि व्रतालुहरूभन्दा धार्मिक मनोरञ्जन गर्न जाने दर्शकहरू धेरै छन् । छठ पबनीको श्रीसप्ताअगाडि टाउको अलिकति निहु¥याएर पर्वप्रति सद्भाव, श्रद्धा र आस्था देखाएपछि छठ पर्वप्रतिको आफ्नो कर्तव्य सकिन्थ्यो । तर यही समयमा अब छठ पर्व गर्नेहरू बढेका छन् । धेरै परिवार थपिएका छन् । धेरै परिवार थपिनुको अर्थ हो अझ धेरै मानिस जोडिनु । जब धेरै मानिस जोडिन्छन्, तब छठले आफ्नो महŒव बढाएको पनि स्पष्ट हुन्छ ।
सबैले बुझेका छन्– छठ पबनी कसैले कुनै रहरले मात्र गर्दैन । एकचोटि पबनी शुरू गरिसकेपछि सितिमिति छाड्नुहुँदैन । भन्नुको तात्पर्य एकचोटि छठको उठान गरेपछि निकै लामो समयसम्म गरिरहनुपर्दछ । छठको लामो यात्रामा जब व्रतालु हिंड्न शुरू गर्दछन्, तब लाम आफैं बढ्दै जान्छ । यो कहिल्यै कम हुँदैन । कहिल्यै कम नहुने एउटै कारण हो– यसको आस्थामा विस्तार भइरहनु । यसले समाजलाई जोडिरहने हुन्छ । समाजलाई जोड्ने एउटा सामाजिक सामूहिक पर्व छठ अब बिस्तारै चैतमा सबैको साझा बन्ने बाटोमा अग्रसर छ ।
कतिपय सन्दर्भमा कात्तिके छठ सुलभ छ र कतिपय सवालमा चैती छठ सुलभ छ । चैतमा धानदेखि गहुँसम्म जुटाउन अर्थात् सामग्री जुटाउन निकै सुगम छ तर अन्तिम चैतको गर्मी दिनमा झन्डै सवा दुई दिन निराहार बस्नु साँच्चै निकै ठूलो कठिन चुनौती हुन्छ, आफैंमा । कात्तिके छठमा भने मौसममा नरमपन आइसकेको हुन्छ, यसले गर्दा तिर्खा लाग्ने सम्भावना धेरै कम हुन्छ तर सामग्री जुटाउन भने अलिक बढी सङ्घर्ष गर्नुपर्दछ । यद्यपि हातमा पैसा छ भने आजभोलि सबै सामान केही छिनमैं उपलब्ध हुन्छ । सबै सामान सजिलै पाइन्छन् ।
अब हाम्रो सामाजिक परिवेशमा चैती छठ निकै घुलमिल भइसकेको छ । समाजको एउटा ठूलो उत्सव भइसकेको छ । समाजको सांस्कृतिक जरो पनि बनिसकेको छ । सामाजिक सांस्कृतिक पहिचान र प्रतिष्ठासित जोडिइसकेको चैती छठको महŒव राज्यले बुझ्न बाँकी छ । यसमा जति धेरै मानिस संलग्न हुन थालेका छन्, यसले धेरै क्षेत्र प्रभावित हुन थालेको देखिन्छ । समाजका धेरै क्षेत्रमा चैती छठले प्रभाव पार्न सक्नुको अर्थ हो, अब यसले सामाजिक मान्यता पाइसकेको छ र कानूनी मान्यता पाउन बाँकी छ । समाजले यसको माग अघोषितरूपमा गर्न थालेको छ । देश वा प्रदेशले दिने कतिपय पर्वको बिदाको दिनभन्दा यस दिन समाज धेरै गतिशील भइसकेको छ । यसको आयाम धेरै विस्तार भइसकेको छ । पुराना पुस्ता त आफैंमा यस चैती छठको विस्तार देखेर अचम्भित छ ।
चङ्गा उडाएको त देखिन्न तर चैती छठले पटाका पड्काउन भने थालेको छ । पटाकाको आवाज धेरैले सुनेको हुनुपर्छ । पटाकाको आवाजलाई चैती छठको आवाज बुझ्न थालेको छ बिस्तारै समाजले ।