काठमाडौं, २ चैत/रासस
इन्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधवार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिंदा पेट्रोलियम पदार्थको खरीद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिंदा पेट्रोलको खरीद मूल्य प्रतिलिटर १८२ रुपियाँँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपियाँँ ४४ पैसा, मटीतेल प्रतिलिटर ११३ रुपियाँँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपियाँँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४ रुपियाँँ ५१ पैसा र एलपी ग्याँस प्रतिसिलिन्डर दुर्ई हजार २४० रुपियाँँ ३४ पैसा पुगेको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबाट चैत महीनामा मात्रै रु १० अर्ब ६१ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम बिक्रीबाट रु पाँच अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ । सो अवधिमा पेट्रोलको बिक्रीबाट रु एक अर्ब सात करोड ९८ लाख, डिजेलको बिक्रीबाट तीन अर्ब १६ करोड ७२ लाख र एलपी ग्याँसको बिक्रीबाट रु एक अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।
निगमलाई मटीतेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ । १५ दिनमा मटीतेलको बिक्रीबाट एक करोड ५० लाख, हवाई इन्धन (आन्तरिक)बाट रु एक करोड १३ लाख र हवाई इन्धन (अन्तर्राष्ट्रिय)बाट रु १७ करोड ५३ लाख नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ । मटीतेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन ।
आइओसीबाट आज प्राप्त मूल्यमा कर थपिंदा पेट्रोलमा प्रतिलिटर ३२ रुपियाँँ ८१ पैसा, डिजेलमा ३६ रुपियाँँ ४४ पैसा र एलपी ग्याँसमा प्रतिसिलिन्डर ६६५ रुपियाँँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ । मटीतेलमा प्रतिलिटर १९ रुपियाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा चार रुपियाँँ छ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रुपियाँँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ ।
१५ दिनमा पेट्रोल ३२ हजार ९१५ किलोलिटर, डिजेल ८६ हजार ९१० किलोलिटर, मटीतेल ७७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) दुर्ई हजार ७७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्याँस १८ लाख ९९ हजार २७८ सिलिन्डर खपत हुने निगमको आकलन छ ।
काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मटीतेलको प्रतिलिटर रु १३३, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर रु १३६, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्याँसको बिक्री मूल्य प्रतिसिलिन्डर रु एक हजार ५७५ रहेको छ ।
सरकारले भन्सार बिन्दुमैं पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकको कर उठाउने गरेको छ ।
सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रुपियाँँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रुपियाँँ १६ पैसा, मटीतेलमा प्रतिलिटर १३ रुपियाँँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक)मा प्रतिलिटर १९ रुपियाँँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा दुर्ई रुपियाँँ आठ पैसा र एलपी ग्याँसमा प्रतिसिलिन्डर २८० रुपियाँँ ३० पैसा कर उठाउँदै आएको छ ।
भन्सारले पेट्रालियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ । त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बीमा, प्राविधिक नोक्सानी र विक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ ।