- सञ्जय मित्र
पहिले र अहिलेको होलीमा कति धेरै फरक छ ? हरेक होलीको रङ फरक पर्दै गएको छ । आजभोलिका नवयुवालाई अहिलेका प्रौढहरूले पहिले खेल्ने गरेको होलीको विषयमा बताउँदा कि त पत्याउँदैनन् या सुनाउने कुरो भन्ठान्छ ।
होली परिवर्तन कसरी हुँदै गएको छ भन्ने कुरो भोग्नेलाई थाहा छ । समय भोग्नेहरूले होलीको रङ कहाँबाट कहाँ बगिसकेको पाउँछन् अहिले ।
पहिले होलीको सुरुआत श्रीपञ्चमीको दिनदेखि नै हुन्थ्यो । श्रीपञ्चमीको दिन मुख्यगरी मधानी वा अष्टयाम गर्नेहरूले शिवको पूजा गरी अबिर साटासाट गर्थे, डम्फू बजाउँथे । अनि होलीको रङ समाजमा देखिन थाल्थ्यो ।
श्रीपञ्चमीको दिनदेखि फागुन महीनाभरि कोही कतै पाहुना लाग्न जानुको अर्थ हुन्थ्यो– होलीको रङ लाउनु । कोही नातेदारकहाँ पुगेर फर्किंदा निधारमा अबिर र लुगामा रङ लागेकै हुन्थ्यो । नातेदारकहाँ पुगेको प्रमाण होलीको रङ हुन्थ्यो । सबैले सजिलै बुझ्थे । सबैले सजिलै भन्दथे– फगुअईको रङ हो । नातामा जिस्कने हक पाउनेले यसो गरेको हो ।
फागुनमा जिस्किने हक हुन्थ्यो, जिस्क्याउने हक हुन्थ्यो । मुख्यगरी देवर र भाउजूबीच जिस्कने र जिस्क्याउने चलिरहन्थ्यो । यसै सन्दर्भमा जिस्कने र जिस्क्याउने समाज हुन्थ्यो । समाजमा भन्ने गरिन्थ्यो– फागुनभरि बूढो मान्छे पनि देवरसरह हुन्छन् (भर फागुन बुढबा देवर
लगिहन) ।
अहिले त डम्फूको ताल नै हराइसकेको छ । पहिले डम्फूको बाजा फागुन महीनाको सौन्दर्य
हुन्थ्यो । डम्फूको ताल हराएको होइन, अहिले त फागुनको सौन्दर्य नै हराएको छ । आजभोलि सरेहमा पनि कतै सुनिन्न फगुआ गीत । ग्राम्य लोक होलीको सङ्गीतविहीन धुनको अभावमा फागुनको सरेह निराश लाग्दछ । भैंसवाहहरू र घसवाहरूको फागुने कण्ठमा कुनै धुनले नृत्य गरिरहेको देखिंदैन । र गाउँमा पनि डम्फूको तालमा सर्वसाधारण झुम्मिएको दृश्य कतै देख्न पाइन्न । पहिलेको दिन सम्झने हो भने अहिलेको फागुन कतै कुनै कुनाबाट पनि फागुन जस्तो लाग्दैन । फागुन आफैंमा बिरानो बन्दै गइरहेको छ, आफैंदेखि अपरिचित बन्दै गइरहेको छ । साँच्चै फागुनले यदि आफ्नो पुरानो अनुहार सम्झेको छ भने एकचोटि आफ्नो अनुहार ऐनामा हेरोस्, आफैंलाई देख्दा चिन्छ कि चिन्दैन ? आफैंलाई पनि चिन्ने अवस्थाबाट मुक्त हुँदै गएको फागुन महीनाको कुनै नयाँ अनुहार स्थापित हुन नसक्नु आफैंमा दुर्भाग्य पनि हो । भएको परिचय र पहिचान हराउनु तर नयाँ परिचय र पहिचान कायम गर्न नसक्नुलाई सामाजिक विडम्बना मान्नुपर्दछ । विडम्बनामा रमाउनु अझ ठूलो विडम्बना हो ।
डम्फू मात्र हराएको होइन, डम्फू बजाउने पनि हराउँदै गएका छन् । डम्फूप्रतिको रुचि हराउँदै गएको छ, आकर्षणमा खिया लाग्दै गएको छ । होलीका बाजाहरू, बजाउने सीपहरू, सिक्ने उत्साहहरू, होलीका गीतहरू, होलीका स्वरहरू र होलीका पहिरनहरू, होलीको रङ घोल्ने गरिकाहरू, पिच्कारी बनाउने कलाहरू, होलीका मौलिक आनन्दहरू हराउँदै गएका छन् । नयाँ पुस्तामा हुनुपर्ने नैसर्गिक हस्तान्तरण अवरुद्ध भएको छ र यसप्रति सकारात्मक चिन्तनको स्रोत पनि हराउँदै गएको छ । अत्यधिक भौतिकवादी तथा उपभोक्तावादी संस्कृतिले फागुनको मौलिक सांस्कृतिक पहिचानमाथि आघात गरेको छ । भौतिक सम्पन्नताको सेरोफेरोमा मौलिक फागुनको पहिचान लोप हुन थालेको छ । यस अवस्थामा कुनै पनि गाउँ वा टोलमा होलीको मौलिक स्वरूपलाई बचाइराख्नु महान् चुनौती साबित भइरहेको छ । आजभोलि त्यो सामूहिक प्राकृतिक स्वरूपको स्वच्छन्द होली कहाँ पो पाइएला ?
होलीको गीत गाउने, होलीको गीतमा रमाउने तथा होलीको गीतको तालमा आफूलाई झुमाउन सक्ने मानिस लोप हुनुका पछाडिका कारणहरू खोतलिनु पनि आवश्यक छ । अहिले त हरेक टोलपिच्छे सरकार छ र सरकारहरू गिट्टी तथा बालुवाको दोहन गर्नमा आफूलाई व्यस्त तथा अभ्यस्त बनाएका छन् तर होलीको संस्कृतिलाई कसरी जोगाउने भन्ने कुरा नै बिर्सिसकेका छन् । स्थानीय सरकारको र स्थानीय सरकारमातहत रहेको वडा सरकारको पनि कुनै सांस्कृतिक दायित्व छ भन्ने कुरो अरू कतैबाट कोही बुझाउन सक्दैन । आफैंले देख्ने हो, बुझ्ने हो र गर्ने हो । यही हुन नसक्दा होली कुन खोलाको नाम होला भनेर फागुनको अन्तिम दिनसम्म थाहा हुँदैन । एक दिन बल्ल थाहा हुन्छ ।
समाजका बूढो पुरानो मानिसहरूलाई सोध्ने हो कि आजभोलिको होली कस्तो छ ? भने आजभोलि होली नै नभएको जवाफ पाइन्छ । फागुन महीनाले आफ्नो धर्म बिर्सिइसकेको बताउँछन्, बूढापुराना मानिसहरू । फागुनभर गाइने फगुआ गीत सुनेर रहरको बोटमा दाना लाग्दथ्यो, खेतमा केराउ र गहुँमा फूल फुल्दथ्यो । चनाको खेतले गज्जबको सुगन्ध छर्दथ्यो । अहिले सबै हरायो । किनभने फागुन महीनाले आफूलाई बिर्सिदियो ।
फागुन महीनाको रौनक कसरी हरायो त ? यसको जवाफ सही तरीकाले पुराना मानिसहरूले दिन सकेको पाइँदैन तर पढेलेखेका मानिसको रुचि होली मनाउनतिर नगएको मुख्य आरोप रहेको छ । अशिक्षितले चाहिं होली मनाउन ध्यान दिइरहेको अवस्था र शिक्षित समुदायले संस्कृति मनाउन नसकिरहेको अवस्थाको बीचमा जब मोबाइल र टेलिभिजनको युगको प्रकाशले गाउँलाई छोप्यो, तब संस्कृतिमा अँध्यारो युगको सुरुआत भयो । अन्य संस्कृतिहरूका साथै फगुआको गीत चाहिं हरायो । तथा अझै हराउने क्रम जारी छ ।
दुर्भाग्य त यहाँनेर देखिन्छ कि आफ्नो मौलिक संस्कृतिको पक्षपोषण गर्ने किसिमको कुनै पनि कार्यक्रम स्थानीय सरकारले सञ्चालन गरेको देखिंदैन । एउटा पालिकाले क्रिकेट खेलमा लाखौं खर्च गर्दछ र क्रिकेट हेर्नको लागि पालिकाभर दुई दिनको सार्वजनिक बिदा दिन्छ तर होलीको मौलिक भेषभूषा, मौलिक बाजा र गीतको तालमा गरिने होलीनृत्यको प्रवद्र्धनको लागि कहिल्यै कुनै बजेट छुट्याउँदैन । कहिल्यै कुनै प्रतिस्पर्धा गराउँदैन । टिकटकका कलाकार को को हुन् भनेर युवाहरूले चिन्दछन् तर हाम्रो संस्कृतिको गला र कलामा जान्ने को को छन् भन्नेतिर कहिल्यै सोच्ने प्रयास गर्दैनन् । र यस किसिमको मनोविज्ञान बन्न नदिने हाम्रो समाज तथा मुख्यगरी सामाजिक अभियन्ता र अगुवाहरूले प्रयास गरेका देखिंदैनन् ।
अब एक वा दुई दिनमा होली सीमित हुँदैछ । यो पनि मौलिकताविहीन प्रदर्शनमा फागुनले आफ्नो समापन गर्नुपर्दछ । होलीको परम्परागत स्वच्छन्दता अब केवल नशामा सीमित बन्दै गएको देखिन्छ । नशामा कुन अर्थमा भने खानु छ, पिउनु छ र एउटा डिजेमा खूब नाच्नु छ । होलीको उमङ्ग व्यक्तिमा सीमित बनेर रहेको छ । अबको नयाँ पुस्ताले होली यत्तिमा सीमित रहेको पाइरहेको छ, देखिरहेको छ र होली यही हो भनेर सिकिरहेको छ । अन्य दिनभन्दा दुईटा फरक के पाउँछन् भने यस दिन सबैले अबिर र रङ लगाउँछन् तथा सबैको घरमा एकै दिन माछा–मासु पाक्छ । आर्थिक समृद्धिले माछा–मासु खान अब कुनै चाडपर्व पर्खिरहनुपरेको छैन । मानिसलाई अबिर र रङ भने होलीको दिन मात्र खेल्ने चलन अझै पनि रहेको छ ।
होलीले भिœयाइरहेको विकृतिमा अश्लील गीतको आधिक्य र अश्लील नृत्य हो । पहिलेको होली अश्लीलतारहित थियो भन्न खोजेको होइन । एउटा पर्दाभित्र अश्लीलता थियो, एउटा मर्यादाको सीमा रहेको थियो । साङ्केतिक र प्रतीकार्थक तथा द्विअर्थी थिए, कतिपय रसिक गीतहरू । र सम्भव हुँदासम्म गाउँमा गाइने चलन थिएन फागुनभरि । यदि गाउँमैं गाइन्थ्यो भने अबेर राति होलीका सबै गीत सकिएपछि छुटिने बेलामा अर्थात् समापनको बेलामा दुई/चार वटा यस्ता गीत गाइन्थ्यो । होलीलाई पर्वको रूपमा मनाइन्थ्यो तर आजभोलि होली केवल अबिरको कारणले चिनिएको छ ।
होलीको सुरुआत कसरी भयो ? होलीको दिन सामाजिक सञ्जाल तथा सञ्चारमा धेरै मिथक सार्वजनिक हुन्छन् तर झन्डै डेढ महीना मनाइने होली दुई दिनमा कसरी सीमित हुन पुग्यो ? यस विषयमा सबै मौन छन् । डेढ महीने होलीले सामाजिक तथा आर्थिक जीवनमा नराम्रो प्रभाव पनि पारेको थिएन तर पनि हराउनुमा भन्दा खोजी गर्ने कलामा समाज चुकेको छ । संरक्षणको चासोमा ¥हास भएकोले लोप हुने खतरा बढेको छ ।
होलीको मौलिकतालाई संरक्षण गर्न कुनै सङ्ग्रहालयमा सम्भव छैन । समाज आफैंमा एउटा विशाल विश्वविद्यालय र सङ्ग्रहालय पनि हो । देशको संस्कृतिप्रति संवेदनशील मनहरूले अब यही विश्वविद्यालय र सङ्ग्रहालयको मौलिकतालाई पनि होलीको दृष्टिकोणले बचाउनुपरेको छ ।