• फूलमहम्मद मियाँं

युवा, परिवर्तनका वाहक, देशका कर्णधार । युवा नेता । आजकालका युवा नेता त ठूला नेताका केवल दास मात्र भएर बसेका छन् । उनीहरूमा आफ्नै खालको सोच चिन्तन, जिम्मेवारी बोध र स्थिरता छैन । स्वंयमा जिम्मेवारीबोध नभई राजनीतिक पार्टीमा आफ्नो स्थान बनाउन पार्टीको झन्डा बोकी नेताहरूको अगाडि–पछाडि गर्दै नेताको स्वार्थ पूरा गर्ने गोटी बनिरहेका छन् । पार्टीमा आफ्नो भूमिका सक्रिय देखाउन जिन्दाबाद–मुर्दाबाद भन्न व्यस्त रहँदै कहिले कुन त, कहिले कुन पार्टी र नेताको पुच्छर बनेर आफूलाई समर्पित गरिरहेका छन् । यस्ता यूवाहरूबाट देशले के आशा गर्न सक्छ ?

नेताको भलोलाई आफ्नो भलो मान्ने मानसिकता रहेको यो अवस्थालाई चिरेर युवाहरू अघि नबढ्ने हो भने राजनीति अझ दूषित हुँदै जाने र देश अधोगतितिर लम्कने निश्चित छ । त्यसैले युवाले भाव र विचार भरिपूर्ण, जिम्मेवार, सक्षम, जोश, जाँगर, आँट, साहस र धैर्यसहित मूलूकको मुहार फेर्न दृढ सङ्कल्पका साथ अगाडि आउन जरूरी छ ।

हाम्रो मुलुकका अधिकांश युवा जोसँग केही सीप र दक्षता छ उनीहरू विदेशमा छन् भने देशभित्र बसेका युवाहरू अधिकांश बेरोजगारी छन् । गाउँ– शहरका चोकगल्लीभरि सामाजिक सञ्जालमा अल्झिएर बसेका भेटिन्छन् । उनीहरूसँग काम छैन । राजनीतिक दल र नेताहरूले निर्वाचनताका प्रस्तुत गरेका मेनुफेस्टो र गरेका प्रतिबद्धता केही पनि कार्यान्वयनमा ल्याउन न प्रयास गरे, न सकारात्मक परिवर्तन नै ल्याए । जसले गर्दा नकारात्मकता र अराजकता बढिरहेको छ, जसले युवाहरूमा नकारात्मकताप्रति आकर्षण बढ्दो छ । देशभित्र बसेका युवाहरू सामाजिक सञ्जालमा अराजकता मचाउने समूह वा विभिन्न पार्टीतिर लागेर विभिन्न बहानामा चन्दा आतङ्क मचाउँदै आफूलाई सामाजिक अभियन्ता र राजनीतिक कार्यकर्ता भन्दै समय बर्बाद गर्दैछन् । उनीहरूका गतिविधिले नेताहरू मोटाउने तर मुलुक दलदलमा फस्दै ध्वस्त हुँदै जानुका साथै भएको उद्योग, व्यापार, कलकारखाना बन्द हुँदै जाने अवस्था आइपुगेको छ । यी सबै दृश्यले नवयुवाले चित्त बुझाउने ठाउँ देखिंदैन । यो सबै बेइमान, अनुत्तरदायी, राष्ट्रप्रेम र भिजन नभएका भ्रष्ट नेताले गर्दा भएको हो, जसले गर्दा नयाँ पुस्तामा राजनीतिप्रति पूरै वितृष्णा जागेको छ ।

युवाहरू जतिजति लोकतान्त्रिक र आधुनिक हुँदै गएका छन्, त्यतित्यति अल्छी, दिग्भ्रमित, निराश र परनिर्भर हुँदै गएका छन् । लोकतन्त्रको अर्थ बेटर लाइफ हो भन्ने बुझेर पनि जीवनलाई आफैं अझ सुन्दर बनाउने प्रयास गर्नु त कता हो कता, अरूको मुख ताक्ने अभ्यस्त बनेका छन् । तसर्थ देश बदल्न चाहने हो भने सक्षम युवा पुस्ताले टुलुटुलु हेरेर वा सरापेर बस्नुहुँदैन । हजुरबाको पालामा उही नेता, बाको पालामा उही नेता,अहिले पनि उही नेता र पनातिको पालामा पनि उही नेता बेहोरिरहने परम्परा (बाध्यता) परिवर्तन गर्न वर्तमान बदल्ने दिशातर्फ लाग्नुपर्छ, नेताको पुच्छर बन्ने होइन ।

आजसम्म कुनै राजनीतिक दल वा नेताले शिक्षालाई प्राथमिकतामा राखे ? स्वास्थ्य, मानवीय विकास, नागरिकको जीवनस्तर उकास्ने खालका विकास गरे ? गरेनन्स गरे मात्र झूटो वाचा, दिए त केवल खोक्रो आश्वासन । युवाहरूको भरपूर प्रयोग गरे तर दिए धोखा मात्र । बेरोजगारीमा बढोत्तरी दिए, पिछलग्गु बनाए, पङ्गु बनाए । अर्को कोणबाट हेर्दा राजनीतिक दल र नेताहरूले जनता र देशसँग लिएर खाए तर राष्ट्र र जनतालाई केही दिएनन् । दिए आफ्ना आफन्त र सन्तान दरसन्तानका लागि अकुत सम्पत्ति । जनताले दिइरहने र नेताले लिइरहने, खाइरहने ? यो क्रम कहिलेसम्म चलिरहने ?

अवस्था हेर्ने हो भने विद्यालय छ, तर पर्याप्त शिक्षक छैनन् । समय सुहाउँदो प्रतिस्पर्धात्मक पाठ्यक्रम, पाठ्यपुस्तक छैन । निश्शुल्क भन्या छ तर शिक्षाको व्यापारीकरण भएको छ, जुन साधारण जनताको पहँुचमा छैन । जसोतसो पढेर शिक्षा हासिल गरेको प्रमाणपत्र छ, तर रोजगार छैन । स्वास्थ्य संस्था छ, चिकित्सक छैनन्, औषधि पाइँदैन । धारा छ, पानी छैन । कृषि प्रधान देश भन्या छ आधुनिक खेतीको नयाँ प्रविधि छैन । उन्नत बीउ उपलब्ध छैन, समयमा मल पाइँदैन । कृषिलाई प्रोत्साहन छैन । गाडी छ, हिंड्न लायक बाटा छैनन् । भएको सेवा सुविधा पनि महँगीले छोइ न सक्नु छ । अनि कहाँ छ त युवाका लागि मन बुझाउने ठाउँ । यसले दिन प्रतिदिन युवामा निराशा बढाएको बढायै छ ।  के यही हो, युवाहरू राजनीतिक दल र नेताको पछि लागेको सहयोगको प्रतिफल ?

नेताहरूले राजनीतिलाई भन्छन् सेवा, तर पेशा बनाएका छन्, आम्दानीको स्रोत बनाएका छन्, यसैले नेताहरूलाई आम नागरिकको प्रश्न छ । यिनीहरू कुनै आय आर्जनका काम गर्दैनन्, सेवा गर्छन् भने विलासी जीवन कसरी बिताइरहेका छन् ? तपाईं कहाँबाट पैसा ल्याउनुहुन्छ भनेर नेताहरूसँग सोध्ने हो भने जवाफ हुन्न । त्यसैले यो प्रस्ट छ, उनीहरू पैसा लिइरहेका छन् जनताले पाउने सेवा सुविधाबाट, विकास, निमार्णमा हुने भ्रष्टाचारबाट, लिइरहेका छन् ठेकेदारबाट, देश विरोधी र माफियाहरूसँग । हो, त्यसैले आज देशमा विदेशी हस्तक्षेप बढ्दै गएको छ ।

यी सबै दृश्य हेर्दा अवसरवादी दक्षिणपन्थी हुन वा वामपन्थी, प्रजातान्त्रिक हुन् कि तानाशाही, नाम मात्र फरक छ, सबै पैसामुखी भइसकेका छन् । चुनाव जितेका हुन् कि नजितेका संसद् पुगेका हुन् कि नपुगेका सबै उस्तै छन् । लुटतन्त्रमा मस्त छन्, मुलुकको अस्मिता लुट्न व्यस्त छन् । त्यसैले अब यस्तो प्रवृत्तिलाई बढावा दिने हैन, जरैदेखि उखेलेर फाल्नुपर्छ । झट्ट सुन्दा यो नेताको आलोचना र निराशाजस्तो लाग्छ तर के गर्ने, देशको वास्तविकता यही हो । त्यसैले यसविरुद्ध धावा बोल्नु पहिले युवाहरू स्वयं आफू आधुनिक दासताको मानसिकताबाट मुक्त हुनुपर्छ । अतः अब शिष्टताका साथ आफ्नो काम गर्ने जिम्मेवारी बोध, सकारात्मक सोच र मानसिकतामा परिवर्तन गर्दै थ्यौरी अफ स्पेसलाइजेशन अँगाल्दै अगाडि बढे मात्र नयाँ बाटो समाउन सकिन्छ र समस्याको समाधान निकाल्न सक्षम भइन्छ । अनि मात्र हुन्छ, मुलुक र युवाको प्रगति ।

–लेखक सामाजिक कार्यकर्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here