• शीतल गिरी

ऋग्वेदका (ऋग्वेद १०।१४५।१–६) मन्त्रहरूमा पनि अभिचार क्रियाको केही हदसम्म प्रयोग हुन्थ्यो भन्ने कुराको सङ्केत पाइन्छ । सौतालाई पिर्न आपूmतिर लोग्नेको मन फर्काउन दिव्यौषधिको प्रयोग गर्ने आदि कुराको चर्चा उक्त मन्त्रहरूमा आएको छ । मारण, मोहन, वशीकरण, उच्चाटन आदि कार्य सम्पन्न गर्नका निम्ति वैदिक मन्त्रहरूमा अगाडि ॐ र पछाडि वौषट्/श्रौषट् आदि शब्दको साथै पछाडि स्वाहा, नमः आदि शब्दहरू जोडिन्थे । जादू टुना, चटकमा पनि जनताको विश्वास थियो ।

मनुष्य समाजमा अदृश्य शक्तिको भय–त्रासले नै चिन्तन शक्तिको विकास भयो तथा देवताको आराधना, सम्झना जागरित गर्ने पहिलो पक्ष पनि भय नै हो भन्ने पुराविद्हरूको तर्क छ । भय निवारण, शत्रुमाथि विजय, मनोभावना सिद्ध धन–धान्य, सुख–सुविधाको आशा, इहलोकको सफल भोगपछि परलोकको पनि ऐश्वर्य भोगका लागि स्तुतिपाठ, मन्त्रजप, यज्ञविधान, देवपूजा, बलिदान आदि कर्महरू आज पनि गरिन्छ । आदिम युगको मनुष्य समाजले पनि प्रकृति–विजयको लागि असीम शक्तिका दाता देवताको आराधना, सम्झना ग¥यो होला र उनको सेवा सुश्रुषाद्वारा ढुक्क भएको मनले आत्मबल बढाएर इष्ट लाभ गर्न मदत पु¥यायो होला । ऋग्वेदका देवता इन्द्रका मित्र सुदास थिए ।

देवतामा आश्रित बलद्वारा उनले विपक्षका उनान्सय पुर (गढ) विजय हुनाले देव–कृपा ठान्नु आश्चर्य भएन । यस्ता सर्वशक्ति दाता, त्राता, देवताको साथ नपाएको भए आदिम युगको मानव समाजले विकास गर्न सक्ने थिएन । आर्य परम्परामा मात्रै होइन प्राचीन युगका सुमेर, बावेरू, मिस्र, असिरिया, क्रीट आदिका मानव समूहमा पनि देवताको सर्वोपरि मान र स्थान थियो । ऋक्, यजु, साम आदि वैदिक मन्त्रहरूमा देवताहरू स्तुति, मन्त्र, प्रार्थना, पूजाबाटै रिझिन्छन् भन्ने कुरा पाइन्छ । मन्त्र, तन्त्र, प्रार्थनाद्वारा उपासना गर्ने, देवताको आराधना गर्ने प्राचीन परम्परा विश्व मानव सभ्यताभित्र समानरूपले व्याप्त थियो ।

आज पनि ईश्वरको पुकार, प्रार्थना, संस्मरणले नै वैदिक भावना बचाएको छ । भूत, प्रेत, पिशाच, यातुधानको छल–कपट र दुष्टताबाट बच्न र मारण, मोहन, वशीकरण आदि कार्यमा सफलता पाउन विश्वकै मानवले मन्त्रको सृष्टि गरे । लोकको श्रद्धानुसार झारफुक, औषधि, उपचारमा प्रयोग हुने तन्त्रमन्त्र, अभिचार क्रियाको संहिता अथर्वा र अङ्गीरस ऋषिले सङ्कलन गरी अथर्ववेद नाम राखेको हुँदा पहिलेको वेदत्रयीमा अथर्वको नाउँ आउँदैन ।

ऋग्वेदभन्दा पनि प्राचीन अवस्थादेखिकै मानव–समूहले अङ्गीकार गरेको जादू टूना र झारफुक पद्धतिलाई अथर्ववेदको नाउँले स्वीकृत भएपछि ॐ र स्वाहा लागेका वैदिक मन्त्रहरूद्वारा नै अभिचार क्रिया हुन थाले । ज्वरो भगाउने, कुकुर, स्याल आदिले टोकेमा झारफुकले निको पार्ने, सर्पको विष झार्ने, मन्त्र बलले शत्रुलाई मार्ने, बौलाहा बनाउने, स्त्री आदिलाई मोहनी लगाउने, ग्रहदशा, अनिष्टकारी जोग हटाउने आदि कार्यमा मन्त्रशक्तिको ठूलो प्रभुत्व रहेको कुरा अथर्ववेदको परिशीलनबाट थाहा हुन्छ ।

यस प्रक्रियाको विश्वजयी रूपको व्याख्या कौशिक सूत्रमा देख्न पाइन्छ । संसारभरि नै मनुष्यले अँगालेको मन्त्रतन्त्रको महŒव र मान्यता प्रतिदिन विकसित हुँदैरह्यो । पाली साहित्यको अध्ययनबाट पनि बुद्धभन्दा पूर्वकालदेखि नै जनमानसमा व्यापकता पाएको यस पक्षले बुद्धकालीन समाजमा पनि गहिरो जरा गाडेकै थियो भन्ने थाहा हुन्छ ।

नयाँ सिर्जनाले पुरानो रूपलाई छोप्दै गए तापनि मौलिक अस्तित्व लोप भएको हुँदैन । साथै समय पाएर त्यो पलाउन सक्छ, परिवर्तित रूपमा फेरि जन्मन सक्छ । दूषित प्रभावबाट बचाएर मानवीय भावनामा अग्रसर गराउनु बुद्धको लक्ष्य थियो र यसको निम्ति प्रभावकारी नेतृत्वको आवश्यकता पनि थियोे । आफू बितेपछि पनि सक्षम नेतृत्व दिन सक्ने उत्तराधिकारी भएमात्र लक्ष्य प्राप्ति हुने ठानेर नै उनले भिक्षुसङ्घको परम्परा बसालेका हुन् । आर्य सभ्यतामा प्रभावकारी नेतृत्व दिने व्यक्तिको बौद्धिक क्षमताका साथै चरित्रबलको पनि अपेक्षा गरिन्छ । यस कारण बुद्धले उपदेशको साथसाथै चरित्र निर्माणको निम्ति विनय (अनुशासनको नियम) बनाए।

बुद्धदर्शन हेतुवादी (कार्य कारणवाद) तथा परिवर्तनवादी मानिन्छ । यस कारण धार्मिक विकासको प्रक्रिया पनि निरन्तर परिवर्तनद्वारा नयाँ–नयाँ रूपमा प्रकट हुनु आश्चर्य होइन । महायान निकायमा बुद्ध अलौकिक र ईश्वरको अवतारको रूपमा गनिएपछि वैदिक सनातन धर्मको विरोध गर्दागर्दै उसैका विकसित रूपसँग प्रतिस्पर्धा गर्न अथवा हात मिलाउन पुग्छ । अवतारवाद, मूर्तिपूजा, मन्त्रयानका सिंढी बढ्दै बज्रयानको नामले प्रकृति युगको मानव सभ्यता अँगाल्न पुग्दछ । बुद्ध परिनिर्वाणका जति–जति वर्ष बित्तै गए बुद्धका मानुषीगुण पनि बिर्सिइँदै गए । जति–जति बुद्धको ऐतिहासिकता लोप हुँदै गयो त्यति नै अलौकिकता र सर्वशक्तिमान् ईश्वरीयरूपको परिकल्पना हुन थाल्यो । अलौकिक बुद्धको जीवनी र आश्चर्यजनक कथामा प्रभावशाली ईश्वरीय व्यक्तित्व देखा प¥यो ।

उपनिषद् साहित्यले पनि एक देववादमा शिव, विष्णु, शक्तिको महत्ता गाएकै थियो । वैदिक मन्त्रका अनुकरणमा बौद्धजगत्मा पनि अनेकन मन्त्रको रचना हुँदै गयो । बुद्धभन्दा अगाडिकै समयदेखि शिक्षा, व्याकरण, कल्प, छन्द तथा दर्शनहरूको सूत्रहरूमा ग्रन्थ रचना भयो । बुद्धकालीन समयमा पनि भूतप्रेतको निम्ति कतिपय मानिस चिन्तित हुन्थे, तिनीहरूलाई वश गर्न केही सूत्रहरूको रचना हुन थाल्यो । स्थेरवादीहरूले (जो मानव बुद्धधर हुन्) आटानाटीयसूतबाट यसको श्रीगणेश गरे ।

अरू निकायका निम्ति झन् बाटो खुल्यो । अनि स्थेरवादी भिक्षुहरूले देखे— यो घोडदौडमा मानव बुद्धले काम चल्दैन, जबसम्म अलौकिक बुद्ध जन्मँदैनन् । तान्त्रिक पक्षको चमत्कारी रूपमा जनताको बैरो लागेको देखेर बुद्ध भिक्षुहरूले पनि यस दिशातर्फ उत्साह देखाए । यसको फल, बुद्ध निर्वाणको चार सय वर्षपछि नै वैपुल्यवादीहरूले बुद्ध पृथ्वीमा जन्मेका थिए भन्ने कुरा नै इन्कार गरिदिए । सौकिन पुरुषको रूपमा बुद्धलाई मान्ने हो भने अद्भूत शक्तिको धनी कसरी हुन सक्थे र ! दाताहरूको दानले अतुल ऐश्वर्य र राजसी वैभव जम्मा भएको विहारमा बस्ने युवक भिक्षुहरूलाई कष्ट सहन गर्ने नियम मन नपर्नु स्वाभाविकै थियो ।

बुद्धलाई मानवबाट देवता बनाउने शास्त्र–रचना सर्वशक्तिमान् शिव, विष्णु, देवीका अगणित महिमायुक्त चरित्र गाथाले भरिएका पुराण, संहिता तन्त्रले जनमानसलाई निरन्तर आकर्षण गरिरहेकै हुँदा यसै सन्दर्भमा भएको मान्न सकिन्छ । यसपछि राम, कृष्ण, शिव, विष्णुको नाम सङ्कीर्तन, पूजा–पाठ मन्त्रजप, स्तुति गर्नाले अनिष्ट नाश भएर स्वर्ग मोक्ष प्राप्ति हुने र इहलोकको सुख भोग एवं मनोकामना पूर्ति पनि हुने भएकोले देवताको रूपमा बुद्धको पनि उपासना पद्धतिे शुरू भयो ।

यिनै कुरालाई लिएर राहुल सांकृत्यायन भन्दछन्— “अठार बौद्ध सम्प्रदायले सूत्र रचना गरे तथा बुद्धमा अद्भूतशक्ति भएको कल्पना पनि गरे ।” फेरि वैपुल्यवादीहरूले लामा–लामा सूत्रपाठ गर्न ढिलो हुने र पट्यार पनि लाग्ने विचार गरेर छोटा–छोटा धारणी मन्त्रहरू रचना गरे । मन्त्राक्षरको खोजीमा मान्छे यत्रतत्र दौडेको देखेर ‘मञ्जुश्री नाम सँगीति’ शास्त्रले भनेकै अनुसार सबै स्वर, व्यञ्जनवर्णलाई नै मन्त्रको संज्ञा दिए । अब अगाडि ‘ॐ’ र पछाडि ‘स्वाहा’ जोडेपछि जे जस्तो मन्त्र पनि बनाउन सकिने भयो । भन्नुहुँदैन कि— यो मिहिनेतको पुरस्कार रुपियाँ–पैसा अन्य अनेकन सुख सामग्रीको रूपमा नमिलेको भए बौद्धहरूको यो आश्चर्यजनक कृतिबाट दुनियाँ वञ्चित रहन्थ्यो होला ।

बुद्धधर्मको मूल सिद्धान्तको विपरीत ब्राह्मणधर्मको प्रतिस्पर्धा गर्दै आगमशास्त्रको होडबाजीमा उभिन पुगेको बौद्ध परम्परालाई लक्ष्य गरेर बौद्ध पण्डितहरू नै विषाद प्रकट गर्दछन् । महायानका अलौकिक बुद्धका सहायक र अनुयायी अवलोकितेश्वर, मञ्जुश्री आदि अलौकिक बोधिसत्वको पनि आविष्कार भयो । योभन्दा अगाडिदेखि नै वैदिक धर्मको एक पक्ष अथर्ववेदको स्वीकृतिपछि तन्त्रमन्त्रको विकासमा लागेकै थियो । योग–साधनासँग तन्त्रको समीकरण गरेर मानसिक शक्तिको एकाग्रता र वैचारिक तीक्ष्णताले चमत्कारी सिद्धि लाभ गरी जनसाधारणमा ठूलो प्रभाव जमाइसकेका थिए । यस्तै–यस्तै कारणले तन्त्रमन्त्रको महात्म्य प्रतिदिन बढ्यो । जीवनको निरन्तर साधना पक्षमा संलग्न रहिरहेर अर्हत पद प्राप्त गर्नुभन्दा मन्त्रसिद्धको थोरै कालको श्रम र साधना नै उपलब्धि मानिनु र चमत्कारप्रति आकर्षण हुनु अस्वाभाविक भएन । योग साधनाको प्रक्रिया आर्य परम्परामा ज्यादै पुरानो हो । सिन्धुघाटी सभ्यतामा यसको प्रचलन भएको विद्वान्हरू शङ्का गर्दछन् ।

वैदिक ऋषि, महर्षिहरू पनि योगद्वारा चित्तवृत्ति निरोध गरी एकाग्र चिन्तनद्वारा वैचारिक तीक्ष्णताले अनन्त आकाशमा निरन्तर गुञ्जायमान रहने शब्द ब्रह्मको अस्तित्वलाई साक्षात्कार गरी वेदमन्त्रका तŒवहरूको प्रख्यापन गर्दथे । चमत्कारी सिद्धिलाभका साथै प्रस्फुरित विचारधाराले नयाँ कुरा आविष्कार गर्न सकिन्छ भन्ने कुरा आर्यहरू जान्दथे र मान्दथे पनि । यस्तै एकान्त चिन्तनको प्रतिफल आरण्यक उपनिषद् साहित्य र दर्शनहरू हुन् । मनको एकाग्रताले प्राप्त हुने तीक्ष्ण विचार शक्तिलाई बुद्धले पनि स्वीकार गरे ।

ध्यान, धारणा, समाधिको अन्तिम दशामा पुगेर जुन प्रज्ञा प्राप्त हुन्छ त्यसैलाई ‘निर्वाण पद’ भनेको पाइन्छ । यो मानसिक एकाग्रताले नै आजका वैज्ञानिकहरू पनि नयाँ–नयाँ आविष्कार गर्न सफल भएका छन् । ईशापूर्वका धेरै शताब्दीदेखि नै दक्षिण भारत, मिश्र, बेविलोन, क्रीट आदि देशको व्यापार चलेको र परस्पर सांस्कृतिक सम्बन्ध एवं आवागमन थियो भन्ने कुरा पुराताŒिवक प्रमाणले पनि साबित भएको छ । तन्त्रमन्त्रको बाहुल्य र यससम्बन्धी ग्रन्थको आविष्कार भएको क्षेत्र पनि दक्षिण भारत नै मानिन्छ । यस कारण सिन्धु–प्रदेशका आर्यसँग इरान, इराकको सम्पर्क हुनु र अथर्वसंहिता कतिपय बाह्य जगत्को मान्यतामा समावेश हुनु आश्चर्य हुँदैन । क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here