• विश्वराज अधिकारी

अहिले हामी उत्तर आधुनिक युगमा छौं । यो उत्तर आधुनिक युग आर्थिक विकासको लागि स्वर्णिम युग हो । स्वर्णिम युग किन हो भने यो युगमा विश्वले अनेक क्षेत्रमा ठूला–ठूला आविष्कार देखेको छ । प्रयोग गर्न पाएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा अभूतपूर्व विकास भएको छ । यो उत्तर आधुनिक युगको आर्थिक फाइदा उठाएर चीन अहिले विश्वको दोस्रो आर्थिक महाशक्ति राष्ट्र हुन पुगेको छ ।

प्रविधिको क्षेत्रमा अहिले अकल्पनीय विकास भएको छ । इन्टरनेटको प्रयोगले यति ठूलो संसारलाई एउटा सानो गाउँजस्तो तुल्याइदिएको छ । इन्टरेनटले सञ्चार व्यवस्थालाई यति सरल पारिदिएको छ कि कुनै आवश्यक सूचना, जानकारी वा खबर एक मिनेटभित्र संसारभरि फैलाउन सकिन्छ ।

विज्ञानको क्षेत्रमा पनि ठूला–ठूला आविष्कार भएका छन् । उन्नत बीउ (genetically modified seeds), आधुनिक सिंचाइ व्यवस्था, कृषि कार्यमा उच्च प्रविधिको प्रयोगजस्ता सुविधाहरूले गर्दा कम श्रम, भूमि र पूँजी प्रयोग गरेर ठूलो परिमाणमा अन्न, फलफूल, माछा–मासु आदि उत्पादन गर्न सम्भव भएको छ ।

यो उत्तर आधुनिक युगमा सर्वाधिक त पूँजी निर्माण एवं प्रवाहको क्षेत्रमा प्रगति भएको छ । कुनै एक देशले आफ्नो राष्ट्रका लागि कुशल व्यवस्थापनको माध्यमबाट संसारभरिबाट पूँजी प्राप्त गर्न सक्छ । अहिले पूँजी निर्यातक राष्ट्रहरू पनि देखिएका छन् । यो तथ्यको बलियो उदाहरणको रूपमा चीनले गर्ने पूँजी निर्यातलाई लिन सकिन्छ । चीनले अहिले एशिया र अफ्रिकाका गरीब देशहरूमा मात्र पूँजी निर्यात गरेको छैन, युरोपका धनी देशलगायत अमेरिकामा समेत पूँजी निर्यात गरेको छ । विकासको लागि कुनै गरीब देशले अहिले कम्मर कसेर पूँजीको माग गरेमा त्यस देशलाई विश्वभरिबाट पूँजी पाउन कठिन नहुने स्थिति छ ।

यो युगमा यातायातको क्षेत्रमा पनि ठूलो विकास भएको छ । हवाइ र जल यातायातको क्षेत्रमा भएको उल्लेखनीय विकासले अन्तर्राष्ट्रिय व्यापारलाई ज्यादै सजिलो पारिदिएको छ । अहिले गरीब राष्ट्रहरूले पनि अन्तर्राष्ट्रिय व्यापारबाट फाइदा उठाउन सकेका छन् । भारत, इन्डोनेशिया, मलेशिया, बङ्गलादेशजस्ता कुनै समयमा गरीब कहलिएका राष्ट्रले अहिले अन्तर्राष्ट्रिय व्यापारबाट राम्रो लाभ प्राप्त गर्न सकेका छन् ।

वर्तमान विश्व परिस्थिति आर्थिक विकासका लागि यति सरल र अति अनुकूल भए तापनि गरीब राष्ट्रहरूले द्रुततर गतिमा आर्थिक विकास किन गर्न सकिरहेका छैनन् ? नेपाललगायत अफ्रिकाका अनेक मुलुकहरूमा साधन र स्रोतको प्रचुरता हुँदाहुँदै पनि यी राष्ट्रहरू किन गरीबीमा पिल्सिनुपरेको छ ? यो प्रश्न अति महŒवपूर्ण छ । यसको उत्तर खोज्न आवश्यक छ ।

उत्तर आधुनिक युगमा पहिचानको सङ्कट, धर्म, साम्प्रदायिकता जातीयता, क्षेत्रीयता, गलत नेतृत्व, सहअस्तित्व एवं समन्वयको अभाव, अहम्, गर्व र घमण्ड जस्ता मानवजन्य समस्याले गरीब राष्ट्रलाई निकै सताउँछ । यी समस्याहरूले गरीब राष्ट्रहरूलाई आर्थिक समृद्धि हासिल गर्न दिंदैन । यी समस्याहरूले कसरी गरीब राष्ट्रहरूलाई गरीबीबाट मुक्ति पाउन दिंदैन वा कठिन पार्छ, आउनुहोस् त्यसबारे चर्चा गरौं ।

धर्मः उत्तर आधुनिक युगमा धर्म आर्थिक विकासको लागि ठूलो बाधाको रूपमा देखिएको छ । खासगरी अफ्रिकी मुलुकहरूमा धर्मका नाममा अपहरण, लुटपाट एवं अनेक हिंसा तथा हत्या भइरहेको छ । इस्लामिक स्टेट, अलकाइदा, अल सबाब, अबु सैयफजस्ता कट्टर धार्मिक सङ्गठनहरूले कुनै एक देश होइन, सम्पूर्ण अफ्रिकी महादेशलाई नै राजनीतिक र आर्थिकरूपमा सदा अस्थिर पार्न महŒवपूर्ण भूमिका खेलेको छ । अफगानिस्तानमा त कुनै समयमा अति कट्टर धार्मिक सङ्गठन कहलिएका तालिबान समूहका व्यक्तिहरू सरकार निर्माण गर्नसमेत पनि सफल भएका छन् ।

जनमतको आधारमा होइन, तालिबानी ती नेताहरू धर्मको आडमा सरकारमा पुग्न र देशमा शासन गर्न सफल भएका छन् । तालिबानीहरू धर्मप्रति अति कट्टर र उनीहरूले महिला शिक्षाको विरोध लगायत अन्य महिला–पुरुषको अनेक अधिकारमा बन्देज लगाएकाले विश्व जनमत अहिले तालिबानको विपक्ष मात्र छैन, अफगानिस्तानलाई प्राप्त हुने आर्थिक सहयोग पनि बन्द गरेका छन् । परिणाम, अफगानिस्तानमा अहिले गरीबी अकल्पनीय किसिमले बढेको छ । नेपालजस्तो गरीब राष्ट्रले समेत अफगानिस्तानलाई आर्थिक सहयोग गर्न सक्ने स्थिति उत्पन्न भएको छ । धर्मको नाममा हुने अनेक गृहयुद्धहरूले अफगानिसन्तानलाई गएको चालीस वर्षदेखि शान्त हुन दिएको छैन । उल्टो अफगानिस्तानमा गरीबी बढेर गएको छ ।

पहिचानको सङ्कटः गरीब राष्ट्रहरूका लागि पहिचानको सङ्कट आर्थिक विकासको पथमा ठूलो खाडल बन्ने गर्दछ । बनि पनि रहेको छ । पहिचानका लागि भनेर नै भारतमा नयाँनयाँ राज्यको स्थापना भएको ताजा उदाहरण हामीसँग छ । पहिचानका लागि भनेर नै एक सबल राष्ट्र सुडान टुक्रिएर अहिले दुई राष्ट्र (सुडान र दक्षिण सुडान) बनेको छ । नेपालमा पनि पहिचानको मुद्दाले उच्च प्राथमिकता पाएको छ । पहिचानकै लागि भनेर हालै दुई नम्बर प्रदेशको नाम ‘मधेस प्रदेश’ राखिएको छ । पहिचानको सङ्कटले गर्दा आर्थिक विकासका मूल मुद्दाहरूले महŒव पाएको छैन । व्यक्तिहरूले पहिचानलाई बढी महŒव दिने हुनाले आर्थिक विकासको सोचले कम महŒव पाएको छ ।

पहिचानको सङ्कटले गर्दा कुनै एक समूहको व्यक्ति एकै स्थानमा बस्ने थितिको विकास भएर, समाजमा विविधताको अभाव भई क्षेत्रीय आर्थिक विकासमा प्रतिकूल प्रभाव पर्दछ । त्यति मात्र होइन, पहिचानको सङ्कटले विकासशील राष्ट्रहरूमा अनेक किसिमका द्वन्द्व, सङ्घर्ष, गृहयुद्धसमेत गराउँछ, रवान्डमा जातीय युद्ध भएजस्तो । स्मरण रहोस्, रवान्डामा करीब १०० दिन जति मात्र मच्चिएको हुटु–टुटसी जातीय द्वन्द्वमा करीब ८ लाख टुटसी समूहका व्यक्ति मारिएका थिए भने ३ लाख हुटु समूहका व्यक्तिहरू मारिएका थिए । आधुनिक युगको यो घृणित जातीय हिंसालाई ‘रवान्डा जातीय नरसंहार’ (Rwanda Genocide) को नामले चिनिन्छ ।

जातीयताः विश्व मानव सभ्यताले उत्तर आधुनिक युगमा प्रवेश गरे तापनि जातीयताले भने मानव सभ्यतालाई पछ्याइ नै रहने छ । जातीतयताले बढी दुःख भने दक्षिण एशियालाई दिनेछ, दिइरहेको छ । दक्षिण एशियामा जातीयता आर्थिक विकासका लागि ठूलो बाधाको रूपमा प्रस्तुत हुनेछ । अहिले पनि भइ नै रहेको छ । उत्तर र दक्षिण अमेरिका, युरोप, अस्ट्रेलियामा जातीयता सदाको लागि समाप्त भए तापनि खास गरी दक्षिण एशियामा जातीयताको मुद्दा चर्को स्वरमा उठ्ने छ । साधन र स्रोत (भूमि, जल, वन आदि) माथि तथाकथित उच्च जातिको नियन्त्रण कायम नै रहने छ भने अर्कोतिर तथाकथित तल्लो जाति साधन र स्रोतबाट पर रहेन क्रम जारी रहने छ । यसैगरी जातिको आधारमा व्यक्तिहरू सङ्गठित हुने कार्यले तीव्रता पाउने छ । नेपालमा अति शिक्षित व्यक्तिहरू पनि वा कुनै समय वामपन्थी नेतासमेत रहिसकेका व्यक्तिहरू पनि, जातीयताको आधारमा सङ्गठित भएको हामीले देखेको, भोगेको कुरा हो ।

गलत नेतृत्वः साधन र स्रोतहरूले भरिपूर्ण भए तापनि गतल नेतृत्वको कारणले गर्दा यो उत्तर आधुनिक युगमा पनि विकासशील राष्ट्रहरूलाई आर्थिक विकास गर्न कठिन हुनेछ । उदारणको रूपमा नेपाल, जिम्बाब्वे, अफगानिस्तान आदि देशहरूलाई लिन सकिन्छ । जाति, धर्म, सिद्धान्त, क्षेत्र, समूहजस्ता नारा चर्काएर नेताहरू सत्तामा पुगे तापनि शिक्षा, अनुभव र इमानदारीको कमीको कारण उनीहरूले देशलाई राम्रो नेतृत्व दिन सक्ने छैनन् । यो स्थिति अहिले नेपालमा देखिएको छ । गलत नेतृत्व आर्थिक विकासका लागि विकासशील राष्ट्रहरूका लागि ठूलो समस्याको रूपमा प्रस्तुत हुनेछ ।

सह–अस्तित्वको अभावः अहम्, गर्व, घमण्डजस्ता तŒवहरूले उत्तर आधुनिक युगमा व्यक्तिहरूलाई निकै सताउने छ । गर्व, अहम्, घमण्ड आदिबाट गरीब देश मात्र होइन, धनी देशसमेत प्रभावित हुनेछन् । केही नेताहरूको गर्व, घमण्डले गर्दा विश्वका अनेक देश अस्थिरता उन्मुख हुनेछन्, युक्रेन भएजस्तै । भ्लादमिर पुटिनले राष्ट्रवाद जगाएर, आफ्ना नागरिकमा अहम् वृद्धि गराएर, शासन व्यवस्थमा आफ्नो पकड निरन्तर बलियो पारेझैं अन्य देशका नेताहरूले पनि पुटिनको यो रणनीति उपयोग गर्नेछन् ।

पुटिनको रणनीतिले भारतका प्रम मोदी, टर्कीका राष्ट्रपति रेसिप टैइप एर्डोगानजस्ता नेताहरूलाई पनि आकर्षित गर्नेछ । यसरी नेताहरूले आफ्ना समर्थकहरूमा अहम्, गर्व, घमण्डजस्ता तŒवको विकास गरिदिएर बहुसङ्ख्यक व्यक्तिमा सह–अस्तित्व भावको क्षय गराउने छन् । र यो कारणले गर्दा आर्थिक विकासका मुद्दाहरूले कम अहम्, गर्व, घमण्ड आदिले बढी महŒव पाउने छन् ।

माथि वर्णन गरिएका समस्याहरूले उत्तर आधुनिक युगमा पनि अनेक राष्ट्रहरूलाई आर्थिक विकासको पथमा दौडिन बाधा पु¥याउने छन् । गरीबी निवारणले प्राथमिकता पाउने छैन । यी समस्याहरूको समाधान के त ? यी समस्याहरूको समाधान भनेकै हामी वैचारिकरूपमा उदार हुनु हो । सह–अस्तित्वलाई सम्मान गर्नु हो । आआफ्नो धर्मको रक्षा र सम्मान गर्नु उचित हो, तर मान्छे धर्मको लागि होइन, धर्म मान्छेको लागि हो भन्ने तथ्यमा विश्वास गर्नु हो । आर्थिक विकासका कुराहरूमा आम सहमति कायम गर्नु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here