- अनन्तकुमार लाल दास
निस्सन्देह नैतिकताविहीन राजनीतिमा उच्छृङ्खलता र अराजकता हुने सम्भावना बढी हुन्छ । नैतिकताको अभावमा विशुद्ध राजनीति सम्भव छैन । नैतिकता नै त्यो तŒव हो जसले राजनीतिलाई राम्रो स्वरूप प्रदान गर्दछ र यसलाई लोकप्रिय बनाउँछ । नैतिकताको विशिष्टता के हो भने राजनीतिमा समावेश भएपछि त्यो अन्यायी र दमनकारी हुनै सक्दैन । नैतिकताको साथ पाएर राजनीतिको स्वरूप कल्याणकारी र हितकारी भइहाल्छ । त्यसमा लोककल्याणको भावना प्रवाहित हुन थाल्छ र यस्तो राजनीतिमा एउटा स्वच्छ र निर्मल समाजको निर्माण पनि हुन्छ । हरेक क्रियाकलापमा पारदर्शिता परिलक्षित हुन्छ । नैतिकताको दृष्टिकोण राजनीतिमा हुनाले त्यो कलङ्कित र दूषित हुँदैन ।
प्राचीन नेपाली राजनीतिक चिन्तन नैतिकताले ओतप्रोत थियो । राजनीतिमा नैतिकतालाई बढावा दिनको लागि धर्मलाई राजनीतिसँग जोडिएको थियो । वास्तविकता त के हो भने धर्म नेपाली राजनीतिक चिन्तनको आधारभूत संकल्पना हो । धर्म वस्तुतः समाजको नैतिक मूल्यको समूह हो, जसमा मानिसको कर्तव्यको चर्चा गरिन्छ । सामाजिक जीवन सुव्यवस्थित ढङ्गले सञ्चालन गर्नको लागि यस्ता कर्तव्यको पालना गर्नु आवश्यक हुन्छ । यी कर्तव्यको पालन गरेर मानिसले जुन पुण्य आर्जित गर्छ त्यसले मानिसको आध्यात्मिक कल्याणलाई बढावा दिन्छ । यसै कुरोले प्राचीन नेपाली राजनीतिलाई नैतिकताको नजीक ल्यायो र उसलाई निरङ्कुश राणा शासनबाट जोगायो ।
महाभारतकालीन राजनीतिक चिन्तनमा नैतिकता र धर्मलाई प्रधानता दिइएको छ । महाभारतको युद्ध समाप्त भएपछि पितामह भीष्म शरशøयामा ढलेर प्राण त्याग्नको लागि शुभ मुहूर्तको प्रतीक्षा गरिरहेका थिए । सत्ता युधिष्ठिरले सँभाल्नुथियो । उनले यस विषम बेलामा भीष्म पितामहसँग राजनीतिको शिक्षा ग्रहण गरे । पितामहले पनि उनलाई उच्च राजनीतिक मूल्यबारे अवगत गराए । यसलाई ‘शान्तिपर्व’को नाम दिइएको छ । शान्तिपर्वमा राजधर्मानुशासन अध्याय राजनीतिमा नैतिकताको दृष्टिले अत्यन्त महŒवपूर्ण मानिन्छ ।
राजधर्ममा राजासँग के अपेक्षा गरिएको थियो भने ऊ स्वयं नैतिकतापूर्ण आचरण गरेर प्रजालाई पनि सोही बाटोमा हिंड्न प्रेरित गरोस् । राजाले प्रजाको रक्षा गर्नुपर्छ । प्रजालाई भयमुक्त राख्नुपर्छ । दुःख र अत्याचारबाट पीडित मानिसको सहायता गर्नुपर्छ । सबै प्राणीप्रति दयाभाव राख्नुपर्छ र धर्मको रक्षाको लागि रणभूमिमा प्राणसमेत त्याग्नुपर्छ । शान्तिपर्वमा राजधर्मलाई सबैभन्दा श्रेष्ठ धर्म भनिएको छ, किनभने यसले सबैलाई दुराचारको बाटोबाट हटाएर सदाचारको बाटोमा हिंड्न प्रेरित गर्दछ । यसबाट के प्रस्ट हुन्छ भने प्राचीन राजनीतिक चिन्तनमा नैतिक मूल्यहरूको कति प्रभाव थियो ।
नेपाली राजनीतिक दर्शन अन्तर्गत जहाँ नैतिक दर्शनमाथि विशेष जोड दिइएको छ, त्यहीं सत्यलाई पनि ठाउँ दिइएको छ । आचार्य मनुले ‘मनुस्मृति’मा भनेका छन्–“धर्मको रक्षा भएपछि राजा सबैको धर्मको छैंठौं भागमा र धर्मको रक्षा नभएपछि ऊ अधर्मको छैंठौं भागको उत्तराधिकारी हुन्छ ।” नेपालका आधुनिक राजनीतिक चिन्तकहरूले पनि राजनीतिमा नैतिकतामाथि विशेष जोड दिएका छन् । यसमा विपी कोइराला, मनमोहन अधिकारी आदि विशेषरूपले उल्लेखनीय छन् । भारतीय स्वतन्त्रता सङ्ग्राममा भाग लिएका नेपाली रानीतिज्ञहरू विशेषरूपले महात्मा गाँधीबाट बढी प्रभावित रहेको देखिएको छ ।
महात्मा गाँधी नैतिक दार्शनिक थिए । उनले राजनीति र नैतिकताबीच पुलको निर्माण गर्दै के तर्क दिए भने राजनीतिको क्षेत्रमा साधन र साध्य दुवै समानरूपले पवित्र हुनुपर्छ । उनका अनुसार यदि साधन अनैतिक छ भने साध्य नैतिकवान भए तापनि भ्रष्ट हुन पुग्छ किनभने गलत बाटो भएर कहिल्यै पनि सही ठाउँमा पुग्न सकिंदैन । महात्मा गाँधीको के विश्वास थियो भने आध्यात्मिक आधारबेगर राजनीति स्वच्छ हुन सक्दैन । यस कारण उनले नैतिकतासँग जोडिएका अहिंसा, सत्याग्रह, सविनय अवज्ञा र असहयोग जस्ता आन्दोलनमा जोड दिए र स्वयंले पनि त्यसैको थालनी गरे ।
राजनीति समाजको भलोको लागि गरिन्छ । यस कारण राजनीतिमा नैतिकता एउटा आवश्यक तŒव हो । यसर्थ के भन्न सकिन्छ भने नैतिकताविहीन राजनीतिले समाजको कल्याण गर्न सक्दैन । राजनीतिमा नैतिकता समाप्त हुनुको अर्थ व्यक्तिगत स्वार्थ हाबी हुनु हो । यहाँ ध्यान दिनुपर्ने कुरो के पनि हो भने राजनीतिमा नैतिकताको दृष्टिबाट दोषयुक्त वातावरणमा पूर्णताको आशा गर्नु सही हुँदैन र एकतर्फी हुन्छ त्यहीं अर्कोतिर के कुरो मान्नुपर्ने हुन्छ भने राजनीतिले जुन मानदण्ड स्थापित गर्दछ त्यसको असर शासनको अन्य अङ्गमा पनि पर्दछ । वर्तमान राजनीतिमा नैतिकतालाई कतिको महŒव दिइन्छ भन्ने कुरा आज हरेकलाई थाहा छ तर पनि पटक–पटक नैतिकताको प्रश्न उठिरहन्छ । अध्ययनले के देखाउँछ भने २००७ सालदेखि हालसम्म नैतिकतामा निरन्तर ¥हास नै भइरहेको छ ।
राजनीति र नैतिकताबीच बढ्दो दूरी दुर्भाग्यको कुरो हो । यस कारण विशुद्ध राजनीति गुलरको फुल बन्दै गइरहेको छ । मौजूदा राजनीतिक परिदृश्य नितान्त भायावह छ । आज मानिसहरूले राजनीतिको व्याख्या गलत ढङ्गले गरिरहेका छन् जसले गर्दा उचित–अनुचितबीच फर्क हराएको छ । सामाजिक उद्देश्यको आधारमा आज लोकतन्त्र कमजोर भएको छ । साधन अनैतिक हुनुको परिणाम वर्तमान राजनीतिमा प्रस्ट देखा परिरहेको छ । न राजनीतिमा नैतिकता देखापरिरहेको छ, न नेताहरूमा नैतिक साहस । जनप्रतिनिधिहरूप्रति आम जनमानसको घट्दो विश्वास र सम्मान यसकै परिणाम हो । वर्तमानमा सङ्घीय तन्त्रको विफलताको जुन स्थिति देखापरिरहेको छ त्यो पथभ्रष्ट राजनीतिको देन हो । यदि राजनीतिलाई हामीले नैतिकता र नीतिको साधनको रूपमा हेरेको र आत्मसात् गरेको भए यो स्थिति कहिल्यै पनि देखापर्ने थिएन ।
साधन राम्रो भएपछि मात्र मीठो फल प्राप्त हुन्छ । वर्तमानको धेरैजसो समस्याहरू जस्तै मँहगाई, भ्रष्टाचार, अराजकता, आर्थिक असमानता, गरीबी, बेरोजगारी आदि सबै नैतिकविहीन राजनीतिको देन हो । राजनीतिको अपराधीकरण, अपराधको राजनीतिकरण, सत्ता हासिल गर्नको लागि धनबल र बाहुबलको प्रयोग र कैयन प्रकारका आर्थिक हिनामिनाले गर्दा नैतिकता पटक–पटक लज्जित भएको छ । मानिसहरूको वरिपरि विवेकशून्यता र संवेदनहीनताको दायरा फराकिलो हुँदै गएको छ । विडम्बना के हो भने आज हाम्रैबीचबाट कोही जननायक वा महानायक निस्केर हाम्रोसामु उभिरहेको छैन । झूट, फरेब र मक्कारीलाई राजनीतिको पर्यायको रूपमा हेरिन थालेको छ । यसले गर्दा आम नागरिक परेशान छ ।
भ्रष्टाचारको लागि आजसम्म कसैले पनि स्वयंलाई दोषी ठानेको छैन । समातिएका मानिसहरू पनि स्वयंलाई षड्यन्त्रको शिकार भएको बताउँछन् । नेताहरूको बैङ्क बैलेन्स र शाही जीवन शैलीमा विकास भइरहेको छ तर आम नागरिक सफा खानेपानीको समस्या भोगिरहेको छ । आधुनिक शिक्षा र स्वास्थ्य सुविधाको जानकारी छैन । सुदूर गाउँमा सडकको अभाव छ । कहिलेकाहीं कुनै सांसदलाई स्मरण हुँदा पनि नैतिक जिम्मेवारी लिएर आँखा चिम्लिन्छन् । यस्ता नेताहरूको लागि नैतिकताको कुरा गर्नु सुरक्षा कवच मात्र हो । तीतो सत्य त के हो भने राजनीतिमा अरूलाई नैतिकताको स्मरण गराइन्छ तर स्वयं बिर्सेर पनि त्यसको स्मरण गर्दैनन् । आज राजनैतिक घाटा सहेर पनि राष्ट्रहितमा काम गर्ने प्रवृत्ति अन्त्य भइसकेको छ । आज शिक्षाबाट नैतिक शिक्षा गायब भएको छ अनि संस्कारको बीउ कसरी अंकुरित हुन्छ ?
आज हामीले सांस्कृतिक मूल्यहरूको रक्षाको दायित्व आधुनिकीकरणको नाउँमा विश्वका टेलिभिजन च्यानलहरूलाई सुम्पिदिएका छौं भने कसरी सुसंस्कृत युवा पीढीको उम्मीद गर्न सक्छौं ? आज सारा जीवन राजनीतिमा होमेका योग्य र इमानदार मानिसहरू चुनावमा यस कारणले टिकट पाउँदैनन्, किनभने उनीहरूले अनैतिक तरीकाले साधन जुटाएका हुँदैनन् । त्यहीं अर्कोतिर निर्वाचन आयोगद्वारा राजनीतिक दलहरूको आय–व्ययको लेखापरीक्षण गराउने चलन हाम्रो देशमा रहेको छैन । आजको इलेक्ट्रोनिक मिडिया पनि अर्थशास्त्रमाथि नै चल्दो रहेछ र उनीहरूको सरोकार नैतिकतासँग हुँदैन ।
यसरी नैतिकताबाट टाढिंदै गएको राजनीतिले गर्दा कैयन प्रकारका विसङ्गति र विकृतिहरू बढ्दै गएका छन् । यसलाई झेल्ने मानिसमा पीडा र निराशाबाट कहिलेकाहीं के लाग्दछ भने संवैधानिक सङ्कटको घडी आइसकेको छ । बिहान अखबार पढ्दा वा टेलिभिजनमा समाचार सुन्दा राजनीतिक अनैतिकता र भ्रष्ट व्यवहारका कैयन समाचार देखापर्छ । यस कुराले हाम्रो राष्ट्रिय चरित्रमाथि नराम्रो प्रभाव पारिरहेको छ । यो राम्रो सङ्केत होइन । जुन राजनीतिसँग हाम्रो अपेक्षा थियो कि अन्याय र अत्याचारबाट देशलाई मुक्ति दिएर भयमुक्त वातावरण उपलब्ध गराउँछ, त्यै नैतिकताबाट विमुख भएर स्वयं भय, अन्याय र अत्याचारको पोषक बनेको छ र यसको नकारात्मक अनुहारबाट आज लोकतन्त्रमा आस्था राख्ने मानिस डराउन थालेका छन् । राजनीतिक मानिस र संस्थाहरूमा कुन हदसम्म पतन भएको छ भन्ने कुरा बुझ्न एउटा शायरले के लेखेका छन् भने “मसहलत–आमेज होते हैं सियासत के कदम/तू न समझेगा इसे, तू अभी इंसान है ।”