- सुदर्शनराज पाण्डे
राज्यको चौथो अङ्गको दर्जा पाएको पत्रकारिताको मुख्य धर्म नै राज्यको तीन अङ्गको काम–कारबाई खराब हुँदै गयो भने समाचारको माध्यमले सावधान १ खबरदार १ होशियार १ गर्ने हो । पत्रकारितालाई वाचडग भनिन्छ । पत्रकारिता क्षेत्रमा यतिखेर छरपस्ट देखिएको छ, आग्रह, पूर्वाग्रह, सङ्कीर्णता, अतिरञ्जना, खेदजनक सबै सञ्चारमाध्यममा प्रकट भएका छन् । पत्रकारिता केवल जीविका चलाउने माध्यम होइन, देश र जनताको मुक्तिका लागि आवश्यक जिम्मेवारी वहन गर्ने सशक्त साधन पनि हो । आवाजविहीनहरूको आवाज हो पत्रकारिता ।
तानाशाह, मूर्ख, दलाल, राष्ट्रघाती, जनघातीहरूको मुख्य दुश्मन हो, पत्रकारिता । एउटा पत्रकार सत्य र न्यायको पक्षमा हरबखत सजग रहनुपर्दछ । देश र जनतालाई आघात गर्ने काम कहीं, कतै, कोहीबाट भएको छ भने जस्ताको त्यस्तै सूचना, जानकारी, समाचार सार्वजनिक गर्ने काम पत्रकारले निरन्तर गरिरहेको हुन्छ ।
भ्रष्टाचारीले विज्ञापन दियो, आर्थिक सहयोग ग¥यो भनेर उसको ज्यादतिसँग सम्झौता गरेर समाचार लुकाएर आम जनतालाई गुमराहमा राख्नुहुँदैन । कुनै एक सञ्चार माध्यम (अखबार, रेडियो, टेलिभिजन, एफएम, अनलाइन)ले सार्वजनिक गरेको सत्य समाचार अर्काे माध्यमले नाजायज फाइदाका लागि खण्डन गर्दछ भने पत्रकारिताको धर्मविपरीत हो । समाचार प्रस्तुति फरक–फरक ढङ्गले हुन सक्छ तर सारवस्तु, समाचारको सत्यता एउटै हुन्छ । कुनै तर्क–कुतर्कले सत्यलाई जित्न सकिंदैन ।
हिजोआज नेपाली पत्रकारिता क्षेत्रमा शब्द र वाक्यको गलत प्रयोग भइरहेको छ । अहिले भाषा र पदको खिल्ली उडाएर भाषामा खेलवाड भइरहेको छ र हाम्रFे भाषाको मौलिकता मास्ने काम हुँदैछ । एकभन्दा धेरै मानिसहरूको समुदाय एवं मानवीय सम्बन्धहरूको जालो नै समाज हो । परिवर्तनको संवाहक मानिससँगै समाज निरन्तर परिवर्तनशील छ । यसको गति रोक्न असम्भवप्रायः छ । समाज परिवर्तनसँगै मानिसको विचार, आदर्श, व्यवहार, मनोभावना, धर्म, संस्कृति पनि परिवर्तन हुन्छ ।
परिवर्तनले समाजलाई उन्नत, प्रगतिशील अग्रगामी एवं विकासको दिशामा अग्रसर गराउँछ । पुरातनवादी समाज रूपान्तरित हुन अग्रगामी फडको आवश्यक हुन्छ । सामाजिक अवस्थालाई मध्यनजर गर्दा अभियान, आन्दोलन, सङ्घर्ष, जागरण, विद्रोह, क्रान्ति युद्धजस्ता कुराले समाजलाई परिवर्तन गर्न सक्छ, जसले समाजलाई सकारात्मक परिणाम दिन्छ । सकारात्मक परिवर्तनको दिशामा एउटा असल पत्रकारको जिम्मेवारी गहन हुन्छ । पत्रकार सदैव परिवर्तनको पक्षमा रहनु पर्दछ ।
पत्रकारितामा पनि पक्षधरता हुन्छ । वर्तमान विश्वमा दलाल पूँजीवादले फैलाएको विकृति–विसङ्गतिको हावालाई पन्छाएर समाजवादी हावा फैलाउने दायित्व जनपक्षीय पत्रकारिताले मात्र पूरा गर्न सक्दछ । दलाल, पूँजीवादी व्यवस्थाको भतुवा पत्रकारले समाजमा कुनै रचनात्मक र सिर्जनात्मक दायित्व निर्वाह गर्न सक्दैन । समज परिवर्तनको प्राथमिक टेको भनेको व्यक्तिको परिवर्तन हो । हिजोआज महŒवपूर्ण पक्षमा रहेका व्यक्तिहरूको भ्रष्टीकरण भएको छ । नैतिकता र अनुशासनमा ह्रास आएको छ ।
व्यक्तिको सामाजिक संस्कारलाई उसको पारिवारिक पृष्ठभूमि र समाजमा उपलब्ध एवं उसको पहुँचमा रहेका सामाजिक संस्थाहरूले निर्धारण गर्छन् । जनान्दोलनले खडा गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्था पूर्णरूपमा दलाल पूँजीवादी व्यवस्थामा रूपान्तरण भएको छ । जस्तो राजनीतिक व्यवस्था त्यस्तै पत्रकारिता देखिएको छ । खराब पात्र र प्रवृत्तिविरुद्ध ध्येयमूलक पत्रकारिता नै जनपक्षीय पत्रकारिता हो ।
पत्रकारिता जगत्ले खराब पात्र र प्रवृत्तिविरुद्ध आन्दोलित जनमत तयार गर्न सक्दछ । दलाल पत्रकारिताको भविष्य हुँदैन । देशमा अनुशासन र नैतिक मूल्य कायम गराउन पत्रकारिताले हस्तक्षेपकारी भूमिका खेल्न सक्दछ । सम्पूर्ण पत्रकार र सञ्चार माध्यम खराब व्यक्ति र व्यवस्थाविरुद्ध उत्रियो भने जनकारबाई सबल हुन्छ । अमेरिकी विकास अनुदान सम्झौता राष्ट्रघाती एमसिसीविरुद्ध कलम नचलाउने पत्रकार र समाचार सम्प्रेषण नगर्ने सञ्चार माध्यम जनपक्षीय र राष्ट्रवादी हुनै सक्दैनन् । राष्ट्रघाती कित्तामा उभिएका दलाल पूँजीवादी व्यवस्थाका हिमायती पत्रकारिताविरुद्ध निरन्तर सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादको लागि जनपत्रकारिता गर्ने पत्रकारहरू भोलिका भविष्य हुन्, संवाहक शक्ति हुन् ।