राधेश्याम पटेल, वीरगंज, ६ पुस/

नेपाल हाउजिङ एशोसिएशनका अध्यक्ष तथा सिमरास्थित होटल इच्छाका सञ्चालक इच्छाबहादुर बाग्लेले बाराको अमलेखगंजमा मिनी सौराहा बनाउने परिकल्पना अघि सारेका
छन् । दुर्ई वर्ष भित्र सौरहाजस्तै होटल तथा पर्यटन व्यवसाय प्रवद्र्धन गर्न उनले यस्तो योजना अघि बढाएको बताए ।

नेपालको पर्यटन प्रवद्र्धनमा प्रदेश २ र मध्य तराईका जिल्लालाई काठमाडौंसँग सम्पर्क जोड्न विभिन्न सुविधा थपिन लागेको हो । सिमरा–पथलैया–अमलेखगंज र निजगढ क्षेत्रमा लगानीको प्रचुर सम्भावना छ । त्यसमा पनि पर्सा राष्ट्रिय निकुञ्जकै काखमा पर्ने अमलेखगंजमा निकुञ्जकै हात्तीसार तथा जङ्गल सफारीको सुविधा समेत रहेकोले अमलेखगंज क्षेत्रमा होटल व्यवसायमा लगानी गरी भौतिक पूर्वाधार विकसित गर्ने उनको लक्ष्य छ । सिमरा, पथलैया, अमलेखगंज, निजगढमा सबै साना–ठूला होटल, रेस्टुरालगायतमा करीब १२ अर्ब लगानी भइसकेको र अबको दुर्ई वर्षमा अमलेखगंजमा मात्रै ५ अर्बको लगानी थप्ने किसिमले योजना अघि बढेको उनको भनाइ छ ।

“अमलेखगंजमैं हात्तीसार नजीकै करीब ५ बिघा क्षेत्रफलमा ३ सय कोठासहितको सुविधा सम्पन्न होटलहरू निर्माण गर्ने लक्ष्य छ”–उनले भने–“जसमा ३० कोठासहितको मैले पनि एक बिघामा २५ करोडको लगानीमा गार्डेन सफारी रिसोर्ट स्थापना गरिरहेको छु । दुर्ई वर्षदेखि निर्माण कार्य शुरू भएको रिसोर्ट अगामी वर्ष सञ्चालन गर्ने लक्ष्य छ ।” त्यसैगरी वरपरका किसानहरूलाई होटल व्यवसायको लागि जग्गा भाडामा वा बिक्री गर्न पनि सम्झौता भइसकेको छ । उनले करीब ५ बिघा जग्गाका जग्गाधनीसँग सो क्षेत्रलाई मिनी सौराहाको अवधारणामा जग्गा बेचेर वा भाडामा लगाएर पूर्वाधार निर्माणको लागि कन्भिन्स गरिसकेको जानकारी दिए । “मैले थप ३०० कोठासहितको होटल तथा अन्य सुविधाहरू थप्न २० जनाभन्दा बढी लगानीकर्ताहरूसँग छलफल गरिरहेको छु”–उनले भने–“वीरगंज, बारा, जनकपुर, काठमाडौं, पोखरा, चितवनसमेतका व्यवसायीहरू उत्साहित हुनुहुन्छ, उहाँहरूले चाँडै लगानी गरी होटल खोल्ने भन्नुभएको छ ।”

अमलेखगंजमा अहिले ७० देखि ८० लाख प्रतिकठ्ठामा जग्गा पाइरहेको छ । अर्थात् धुरको साढे ३ लाखदेखि ४ लाख सम्म । अमलेखगंज क्षेत्रमा ३०० कोठाको होटलमा सामूहिक लगानीमा स्वीमिङ पुल, लन्ड्री, रेस्टुरालगायत अन्य सुविधा निर्माण हुने र सञ्चालनमा आएपछि सामूहिक सुविधाबापतको नाफा सबै लगानीकर्ताले समेत पाउने नीति लिइएको छ ।

व्यवसायी बाग्लेले आफ्नो स्वामित्वमा अघि बढाएको होटलमा स्वीमिङ पुल, बङ्क्वेट हल, जिम, पार्किङ, रेस्टुरालगायत चार तारे होटलको मापदण्डमा निर्माण कार्यलाई तीव्रता दिइएको जानकारी गराए । पर्सा राष्ट्रिय निकुञ्ज, फास्ट ट्र्याक तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सिमरा–अमलेखगंज–निजगढ क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने भएकोले १० वर्ष अघिदेखि यस क्षेत्रमा पूर्वाधार विकासमा लागेको र यस्तो अवसरलाई जसले बुझ्न सक्छ, उसले नै भविष्यमा माल कमाउन सक्ने सम्भावना पनि रहेको उनको तर्क छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा अहिले हात्ती सफारी र जङ्गल सफारीमार्फत हात्ती, पाटे बाघ, चित्तल, जरायो, नीलगाई, बँदेल, चितुवा तथा विभिन्न प्रजातिका चराचुरुङ्गीलगायत जनावर तथा पशुपक्षी सहजै अवलोकन गर्न सकिन्छ । जङ्गलभन्दा नजीकैको बस्तीमा होटल तथा रिसोर्ट निर्माण तथा अमलेखगंज क्षेत्रको सौन्दर्यले प्रदेश २ लाई पर्यटकीय गन्तव्य बनाउन मदत मिल्ने भएकोले पनि उनले यस्तो परिकल्पनालाई व्यवहारमा उतार्न खोजेका छन् ।

सिमरामा पाँच तारे होटल इच्छा, क्लासिक इन, सिमरा इन, होटल सगुन, होटल समयक, श्रेष्ठ होलट, लामा, झापाली, निजगढमा तारा इन, होटल हेभेन, होटल राजमार्ग, पथलैयामा करीब एक दर्जन साना होटल र अमलेखगंजमा एलिफेन्ट भिलेज रिसोर्ट, कामिनी रिसोर्ट, होटल प्याराडाइज, होटल क्वीक ट्वेन्टी, रेस्टुरामा होटल जर्घा र जर्घाको छेउमा एउटा रेस्टुरा भर्खरै सञ्चालनमा आएको छ । ती दुर्ईवटा रेस्टुरा अर्थात् खाजाघरले पनि अमलेखगंज–हेटौंडा आवतजावत गर्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सुविधा थपेको छ । प्रायः शुक्रवार, शनिवार तथा बिदा र चाडपर्वमा तीनै रेस्टुरामा भारतीयहरूको लर्काे लाग्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here