– सञ्जय मित्र
आजको दिन बालबालिकाको लागि विशेष रमाइलोको दिन मानिन्थ्यो पहिले। अहिले त जमाना धेरै बदलिसकेको छ तर पहिले माघे सङ्क्रान्तिको दिनको प्रतीक्षा दुई किसिमले बालबालिकाले गर्दथे। पहिलो त माघको जाडोमा सबैले नुहाउने दिनमध्ये एक यो पनि हो। अर्को नुहाउने दिन सरस्वती पूजा हुन्थ्यो। यी दुई दिन बालबालिकामा नुहाउनैपर्छ भन्ने सोच रहन्थ्यो।
म त्यो जमानाको कुरा गर्दैछु, जतिखेर चापाकलसमेतको सुविधा थिएन। अहिले त घरघरै पुगेको छ र अब बिस्तारै खानेपानीको धाराले विस्थापित हुन थालेको छ। त्यत्ति बेला नुहाउने भनेको इनारमा गएर हो। इनारको पानी तातो हुन्छ भनिन्थ्यो र नुहाउने बेला जीउमा हालेपछि जीउबाट जुन बाफ निस्कन्थ्यो, त्यही देखेर बालबालिकाले तातोको अनुभूति गर्नुपर्दथ्यो वा तातो हुनुको भ्रममा नुहाउनु पर्दथ्यो।
बालबालिकामा एउटा कुरा धेरै प्रचलित थियो – नुहाउनुभन्दा पहिले जाडो हुन्छ, नुहाएपछि जाडो भाग्छ, र इनारको ताजा पानी तातो हुन्छ। यसको अर्थ यो बुझ्न सकिन्छ कि इनारको पानी तातो हुन्छ भन्नु र नुहाएपछि जाडो भाग्छ भन्नु बालबालिकालाई मनोवैज्ञानिक रूपमा नुहाउन प्रोत्साहन गर्नुथियो। नुहाउनै पर्ने बाध्यतामा बालबालिकालाई किन पारिन्थ्यो भने नुहाएर पूजा गर्नुपर्छ र पूजा गरेपछि देउतालाई चढाएको तिलको लड्डु खान पाइन्छ। ननुहाउनेले तिलको लड्डु खान पाउँदैनथ्यो। मुखमा हालेपछि चुरुमचुरुम गर्ने, गुलियो र भुटेको तिलको गज्जबको सुगन्ध नै आकर्षक हुने, त्यस्तो स्वाद जब मुखमा पर्दैन तब छटपटिएर कस्तो हालत हुन्छ ? यस्तै लोभले बालबालिका नुहाउँथे।
प्रतीक्षाको अर्को कारण हुन्थ्यो – मामाघरको सनेस। आजको दिन मामा आउनुहुन्छ। मामाले अरू केके ल्याउनु हुन्छ, त्यो त थाहा छैन तर सनेस भने अवश्य ल्याउनुहुन्छ। सनेसमा तिलको लड्डुको साथै अन्य धेरै प्रकारको लड्डु ल्याउनुहुन्छ। मामाको अगाडि ननुहाई कसरी जानु ? ननुहाई सफा लुगा कसरी लगाउनु ? आफूलाई सफासुग्घर र राम्रो पनि देखाउनु छ र मामाघरबाट आएको सबैभन्दा ठूलो लड्डु पनि खानु छ। आमाको पहिलै सुझाव आइसकेको हुन्थ्यो – जो पहिले नुहाउँछ, उसैले सबैभन्दा ठूलो लड्डु खान पाउँछ।
अधिकांश बालबालिकाको घरमा यही हुन्थ्यो। अहिले पनि मामाघरबाट सनेस आउने चलन हराएको छैन। युग जतिसुकै आधुनिक होस्, र हरेक दिन विभिन्न सञ्जाल तथा माध्यमबाट कुराकानी भइरहेको होस् तर आजको दिन मामाघरबाट कोही आउँछ र केही सनेस ल्याउँछ भन्ने सबैलाई परिरहन्छ। यति मात्र होइन, समय अनुसार सनेसको प्रकृति बदलिएको अवश्य छ, तर थोरै भए पनि तिलको लड्डु मामाघरबाट आउने चलन हराइसकेको छैन। आजको दिन बालबालिकाले नुहाउनै पर्ने संस्कृति पनि हराइसकेको छैन। आज पनि मामाघरबाट कोही आउँदैछ भन्ने थाहा पाएर बालसुलभ, तयारी हुने र सफा, राम्रो देखिने र आएको कोसेलीमध्ये सबैभन्दा ठूलो वा सबैभन्दा राम्रो आफूले खान पाउने मानसिकता छँदैछ।
हो, शारीरिक तथा व्यक्तिगत सरसफाइको महत्व परम्परादेखि नै रहेको कुरो स्पष्ट छ। बालबालिकाको लागि उत्साह, प्रतीक्षा र उमङ्गको दिन आज पनि रहिआएको छ। यसबाट यो कुरो पनि स्पष्ट छ कि मामासित भान्जाभान्जीको सबैभन्दा प्रेमको दिवस आजै हो। मामालाई भान्जाले सनेससँगै सम्झिने विशेष दिन पनि आजै हो।
आफ्नो घरमा जतिसुकै मीठो खानेकुरा पाकेको होस् तर त्यही खानेकुरा यदि मामाका साथमा बसेर खाइन्छ भने त्यसको स्वाद नै बेग्लै हुन्छ। सन्तुष्टि नै फरक हुन्छ र अझ महत्वपूर्ण कुरो गर्व नै बेग्लै हुन्छ।
मामाको प्रतीक्षा भान्जाभान्जीको हृदयमा हुनु स्वाभाविक हो तर दिदीबहिनीले पनि यस दिनको प्रतीक्षा नइहर (माइती) को कोसेलीको रूपमा गरेका हुन्छन्। जतिसुकै दुःख होस् वा जतिसुकै सुख होस्, आजको दिन माइतीबाट कोही आउँछ कि ? आशा नभएको वा सम्भावना नहुँदा पनि माइतीघरबाट कोही आइहाल्ला कि भन्ने आशा दिदीबहिनीको हृदयमा हुनु संस्कार र संस्कृतिको देन हो। हाम्रो परम्पराका वार र महीनामध्ये माघको शुरूआत अर्थात् माघे सङ्क्रान्ति नै यस्तो दिन हो जुन दिन दिदीबहिनीलाई माइतीघरको याद आउँछ। आजको दिन मोबाइल वा फोनमा जब घन्टी बज्दछ, दिदीबहिनीलाई लाग्दछ कि माइतीघरबाट कसैको केही संवाद आएको छ। हरेक दिन कुराकानी किन होेस्, तर आजको दिनको संवादमा विशेष स्वाद भरिएको हुन्छ जुन इतिहासदेखि, परम्परादेखि, संस्कृतिदेखि र वास्तवमा अन्तर्हृदयदेखि आइरहेको हुन्छ।
सनेस ठूलो कुरो होइन तर धेरै ठूलो अर्थ राख्दछ। जसको मामाघरबाट सनेस आउँदैन, ती बालबालिकालाई आजको दिन केके नपुगेजस्तो हुन्छ, चाड नै खल्लो भएको हुन्छ। जसको माइतीघरबाट भेट्न कोही आउँदैन, उसलाई आजको दिन रमाइलो लाग्दैन। त्यसैले यो दिन तिलको लड्डुको साथमा मामाघरबाट आउने सनेसले मिठास र अभ्यन्तरको स्नेह पनि बोकेर ल्याएको हुन्छ। कसैको कैयौं दिनदेखिको प्रतीक्षाको पूर्णाहुति बोकेको हुन्छ र सुमधुर यादको शृङ्खलाको नवीन कडी थप्न पुगेको हुन्छ जुन संस्कृतिले दिएको हुन्छ। अर्थात् एउटा संस्कृतिलाई बोकेर पुगेको हुन्छ।
माघे सङ्क्रान्तिको सनेस तराई मधेसका मुस्लिम समुदायबाहेक बाँकी करीब सबै जातजातिमा रहेको छ। अझ थारू समुदायमा यसको विशिष्ट महत्व छ। थारू समुदायको मुख्य पर्वको रूपमा यो स्थापित भएको छ। थारू समुदायमा होलीको दिनभन्दा यसलाई विशाल पर्वको रूपमा लिइन्छ, मनाइन्छ। यसैगरी नेपालका अन्य समुदाय तथा सम्प्रदायले पनि यस पर्वलाई आफ्नै किसिमले मनाइन्छ। पहाडको परम्परा र संस्कृति धेरै भिन्न छ, यस मामिलामा। यद्यपि यो विशिष्टता हो, विशेषता हो। एकै दिन उही पर्वलाई फरकफरक तरीकाले मान्नुलाई हामीले अन्यथा लिनुहुँदैन। यसबाट हामीबीच विविधतामा एकता छ भन्ने सन्देश पनि ग्रहण गर्नु स्वाभाविक हुन्छ। हाम्रो प्रकृति र संस्कृतिले यसलाई स्वीकार गरेको छ। हामी संस्कृतिमा यस अर्थमा पनि धनी छौं।
तराई–मधेसमा सङ्क्रान्तिको दिन मनाइने तीन पर्व छन्। वैशाखमा सतुआन, असोजमा विश्वकर्मा पूजा र माघमा तिलासक्रात। पहिलो त करीब लोप भइसकेको छ, दोस्रोलाई उद्योगीहरूको पर्वको रूपमा मनाइन्छ भने तेस्रो अर्थात् आजको दिनलाई सम्पूर्ण सर्वसाधारणले मनाउने गर्छन्।
सबै कुरा आफ्नो ठाउँमा छँदैछ। अहिले युग जतिसुकै आधुनिक भए पनि र परम्परामा अधुनातन आइसके पनि हामीले आजको दिनको संस्कृति बिर्सिसकेका छैनौं। आज पनि भान्जा–भान्जीहरू मामाको र दिदीबहिनीहरू दाजुभाइको प्रतीक्षा उत्तिकै श्रद्धाका साथ गर्दछन्। मामा वा दाजुभाइ जतिसुकै गरीब किन नहोऊन्, कोही आउँछ र केही ल्याउँछ भन्ने लागिरहन्छ। विशिष्ट प्रतीक्षा रहन्छ। हो, आजको दिनमा सनेसको प्रतीक्षा हुनुलाई पनि सनेस नै मान्नुपर्दछ। आजको सनेसले आफ्नो महत्व कायम राखेको छ।