माधव तिमल्सिना, ठोरी, २९ पुस/
पुस मसान्त आउनै लाग्दा पर्साको ठोरी गाउँँपालिकाका किसानहरूले तोरी उखेल्न शुरू गरेका छन् । नगदेबालीका रूपमा ठोरीका सबै पाँचवटै वडामा खेती हुने तोरी पाक्न शुरू भएपछि किसानहरू तोरी उखेल्न व्यस्त हुन थालेका छन् ।
ठोरीका अन्य वडाको तुलनामा वडा नं. ४ मा सबैभन्दा धेरै क्षेत्रफलमा तोरी खेती हुन्छ । तोरी पाकेपछी यतिबेला अधिकांश तोरी बाली लगाइएको खेतमा भारतीय कामदारहरू तोरी उखेल्न व्यस्त छन् । बर्सेनि सीमापारीका भारतीय गाउँँबाट आउने भारतीय कामदारकै भरमा यहाँ तोरी खेती हुने गरेको छ । धान बालीमा जस्तो सोझै मेशीनले काट्न नमिल्ने भएकोले तोरी उखेल्न धेरै जनशक्तिको आवश्यकता पर्छ ।
नेपाली कामदारहरू लगाउँँदा ज्याला महँगो पर्ने भएकोले भारतीय कामदारकै भरमा तोरी खेती गर्ने गरेको स्थानीयहरू बताउँछन् । नेपाली कामदार दैनिक ५ सयभन्दा घटीमा काम नगर्ने भएकाले भारतीय कामदार नै लगाउने गरेको ठोरी –४ का कृषक धनबहादुर पाख्रीनले बताए । उनले करीब १५ कठ्ठा जग्गाको तोरी भारतीय कामदार लगाएर नै उखेलेको बताए ।
अन्य बालीमा जस्तो गोडमेल गर्न नपर्ने र ट्याक्टरले जोतेर छरेपछि एकैपटक उखेल्न मात्र पर्ने भएकोले तोरीखेती सहज छ । तोरी उखेल्ने बेलामा समेत सीमावर्ती रामपुर, भङ्गाहा, जसौली, मानपुर, थुकाहालगायत गाउँँबाट दैनिक सयौं भारतीय कामदार ठोरी भित्रिने गर्छन् । बिहानदेखि बेलुका ५ बजेसम्म दैनिक ज्यालादारीमा तोरी उखेल्न लगाउँदा एकजना कामदारलाई नेपाली २ सय तिर्नुपर्छ ।
अघिल्लो वर्षसम्म भारतीय रुपियाँँ एक सयमा पाइने कामदारको ज्याला यो वर्ष अलि बढेको ठोरी –४ कै अर्का किसान ठूले तामाङले बताए । अझ कतिपय भारतीय कामदारले एकमुस्ट ठेक्का लिएर पनि तोरी उखेल्ने गरेका छन् । यसो गर्दा मोलमोलाइ गर्न सकिए अझै सस्तो पर्ने किसानहरूको भनाइ छ । तोरी उखेल्नकै लागि सीमापारीबाट स्कूले बालबालिका तथा महिलाहरूसमेत दिनहुँ ठोरीको विजयबस्ती, गोपीबस्ती, आठघरे, निर्मलबस्ती, स्याउलीबस्ती, सुन्दरटोललगायत विभिन्न ठाउँमा आउने गर्छन् । अन्य बालीमा जस्तो परिश्रम नपर्ने भएकोले भारतका स्कूले बालबालिकासमेत स्कूल छोडेर नेपालमा पैसा कमाउन आउने गरेका हुन् ।
कोभिडको डर
नेपालमा कोभिड सङ्क्रमण फैलन नदिन सरकारले आगामी माघ १५ सम्म विद्यालय बन्द गरेको छ । तर सीमावर्ती भारतीय क्षेत्रबाट निर्बाध नेपाल प्रवेश गर्ने कामदारको कारण सङ्क्रमण फैलने जोखिम बढेको छ । भारतमा बढ्दै गएको ओमिक्रोनको सङ्क्रमणको प्रभाव भारतीयमा पर्नु स्वाभाविक भएको जानकारहरूको भनाइ छ ।
सिमाना कुनै स्वास्थ्य चेकजाँच नगरी प्रवेश गरेका भारतीय कामदारको सीधा सम्पर्क प्रत्येक ठोरीवासी किसानसँग हुँदा यसले सङ्क्रमणको खतरा बढेको स्थानीयको चिन्ता छ । अझ नेपाल आएका भारतीय कामदार होउन् वा नेपाली नै कसैले पनि मास्क लगाउने गरेका छैनन् ।