– शरद शर्मा
काठमाडौं, २८ पुस/रासस

कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट यस अघिको डेल्टा भेरिएन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरिएन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मकरूपमा फैलिने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरिएन्टको अन्य भेरिएन्टजस्तै मानिसमा लक्षण हुने गरेको बताए । “अहिले भइरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरिएन्ट बढ्दै गएको देखाएको छ, यो भेरिएन्टमा अरू भेरिएन्टको तुलनामा जटिलता कम भए पनि सङ्क्रामकधेरै हुने भएकोले जटिल हुने अनुपात बढेर जान्छ”–उनले भने ।

अन्य भेरिएन्टको तुलनामा यो भेरिएन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने बताइन् । “अन्य भेरिएन्टले तल्लो श्वास–प्रश्वास नली वा फोक्सोमा सङ्क्रमण हुने गर्दथ्यो”–उनले भनि।

ओमिक्रोनले पार्ने असरबारे थप अध्ययन अनुसन्धान भइरहेको उनले बताइन् । पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरिएन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमितमध्ये खोप नलगाएकालाई धेरै गा¥हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरा रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरिएन्टले मानिसको घाँटीमा सङ्क्रमण गराउने बताए ।

उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिने जानकारी दिए । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छिउँ आउने, हल्का ज्वरो आउने, धेरै रूघा लाग्ने लक्षण पनि देखिने गर्दछ ।

बच्ने उपाय

यसबाट जोगिन कोरोना भाइरस पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात् भीडभाड नगर्ने, साबुनपानीले पटकपटक हात धुने र सेनिटाइजरको प्रयोग गर्नुपर्दछ । सही तरीकाले मास्क प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ ।

यस्तै सङ्क्रमणबाट जोगिन सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्ध खोप एक वर्ष अघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

यस्तै कुल जनसङ्ख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि विद्यालय तथा भीडभाड हुने स्थान माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।

सङ्क्रमण दरको प्रवृत्ति बढ्दै

सङ्क्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । पुस १९ गते २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर पुस २७ गते १८.६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२.७ प्रतिशत, पुस २५ गते ९.२ प्रतिशत मात्र सङ्क्रमण दर थियो ।

पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत, पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत र पुस २४ गते ७.१ प्रतिशत कुल सङ्क्रमण दर रहेको थियो । पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा सङ्क्रमण देखिएको थियो । पुस २६ गते एक हजार ४४६ सङ्क्रमित र सात हजार ८५५ सक्रिय सङ्क्रमित तथा पुस २५ गते सङ्क्रमित एक हजार १६७ पुगेको र सक्रिय सङ्क्रमित छ हजार ७५५ देखिएका छन् ।

ओमिक्रोन रोकथाम गर्ने तयारी

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर सम्भावित तेस्रो लहरको जोखिम हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरिएन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको छ । उनका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडियु तीन हजार ८४६ रहेका छन् ।

यस्तै अक्सिजन सिलिन्डर १३ हजार ९३९ र अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन ट्याङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् । उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शøया, ३२४ एचडियु, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् ।

मन्त्रालयले समुदायमा ओमिक्रोन भेरिएन्ट पत्ता लगाउन बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ । “पोजेटिभ सङ्क्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ) गरिरहेका छौं”–मन्त्रालयका प्रवक्ता डा. मिश्राले भनिन् ।

केही दिन अघि एक हजार १४६ पोजेटिभ नमूनाको एस–जिन स्क्रिनिङ गर्दा २५० नमूनामा एस–जिन नेगेटिभ देखिएका तिनको अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ) २४ मा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको थियो । हालसम्म २७ ओमिक्रोन भेरिएन्ट भएको पत्ता लागेको छ ।

“एस–जिन नेगेटिभ बढ्नु भनेको ओमिक्रोन भेरिएन्ट बढ्नु हो”–उनले भनिन्–“एस–जिन नेगेटिभ पत्ता लागेका सबै सङ्क्रमितको कन्ट्याक्ट्र टे«सिङ गरिरहेका छौं ।” यस्तै सीमा नाकामा एक हजार क्षमताका नौवटा होल्डिङ सेन्टरसमेत बनाउन थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here