• अनन्तकुमार लाल दास

जन्म प्राप्त हुन्छ, जीवन होइन । जीवन पाइँदैन, जीवन हासिल गर्नुपर्छ । जन्मलाई मानवीयरूप प्रदान गर्नको लागि शिक्षाको आवश्यकता हुन्छ । शिक्षाले जिउने कला सिकाउँछ । यो कला विचारबाट पैदा हुन्छ किनभने विचारले जीवनको विसङ्गति र सङ्गतिको पहिचान गर्दछ । विचारबाट नै सन्तोष र असन्तोषको उत्पत्ति हुन्छ ।

विचार, असन्तोष र शङ्का जीवनका कला हुन् । विश्वासलाई केन्द्रमा राखेर पनि जिउन सकिन्छ । तर यसले जीवनलाई स्थिर बनाइदिन्छ । यसले जीवनलाई तलाउ बनाइदिन्छ । जीवनको लक्ष्य तलाउ होइन, नदी बन्नु हो । नदी विचारको खोज हो र जे छैन त्यसलाई पाउने चेष्टा हो । यही शिक्षाको उद्देश्य हुनुपर्ने हो ।

शिक्षाले छनोट गर्ने कला सिकाउँछ । परम्परागत जीवनको अवसरलाई शिक्षाले विवेकसङ्गत बनाउने काम गर्दछ । हाम्रो विवेक जागृत गर्ने शिक्षा नै सार्थक र मूल्यवान हुन सक्छ । हाम्रो शिक्षा व्यवस्था बासी जवाफमा निर्भर छ, प्रश्नमा होइन । यस व्यवस्थाले जवाफलाई मूल्यको रूपमा स्थापित गर्दछ तर शिक्षाको प्रारम्भिक चुनौती प्रश्न जन्माउनु हो । प्रश्न गर्नाले चेतनाको विकास हुन्छ र व्यक्तित्वको रूपान्तरण हुन्छ र जवाफले चेतनामा सन्तोष पैदा गर्छ । यस्तो शिक्षा व्यवस्थामा डिग्रीधारी मानिसहरूको उत्पादन हुन्छ, चैतन्य मानिसको होइन ।

शिक्षा बोधगम्य हुनुपर्ने हो तर हाम्रो शिक्षा व्यवस्थाको एउटा कमजोरी के हो भने यो घोकन्ते कलामा आधारित छ । स्मृति अतीतसँग सम्बन्धित हुन्छ तर बोध भविष्यसँग । स्मृति सूचनाहरूको सङ्ग्रह हो जो जीवनको पूर्व निर्धारित निर्णय र निष्कर्षमाथि आधारित रहन्छ । बोधगम्य शिक्षा त्यस चेतनासँग सम्बन्धित छ जो अपरिचित र अज्ञात छ । वर्तमान शिक्षा व्यवस्थाले पण्डित बनाउन सक्छ, ज्ञानी होइन । ज्ञान अस्तित्वको केन्द्रबाट प्रस्फुटित हुन्छ । अज्ञान र त्यसलाई प्रकट गर्नको लागि आत्म–सङ्घर्षबाट ज्ञानको उदय हुन्छ । शिक्षामा सूचनाहरूको निषेध हुँदैन । हुनुपर्ने के हो भने सूचनालाई विचारमा परिवर्तित गरिदिनुपर्छ । यसमा विद्यार्थीहरूको अनुभव, उनीहरूको सानो–सानो जिज्ञासा र उनीहरूको कल्पनालाई पनि सामेल गरिदिनुपर्छ ।

शिक्षामा परिर्तनको खाँचो यस कारण पनि छ कि देशमा दिन प्रतिदिन विद्यालयहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ, शिक्षक उत्पादन र तालीममा लाखौं खर्च भइरहेको छ तर पनि हालसम्म चाहिएको जस्तो शिक्षा र सबैको लागि शिक्षाको उद्देश्य हासिल हुन सकेको छैन । “पढोगे लिखोगे बनोगे नवाब…..” जस्ता उक्तिले विद्यार्थीमा लोभ उत्पन्न गर्छ । यो विद्यार्थीहरूको लागि एक प्रकारको प्रलोभन हो । विद्यार्थीहरूलाई भन्नुपर्ने कुरो के हो भने–“यदि तिमी पढ्छौ भने तिम्रो विकास हुन्छ, तिमीभित्र विवेक जागृत हुन्छ, जसले तिमीलाई सफलताको बाटोमा हिंड्न सदैव प्रेरित गरिरहन्छ । शिक्षा व्यवस्थालाई सफलताको सुनौलो सपनाबाट निकालेर सफल बनाउने आवश्यकता छ ।

आधुनिक शिक्षा व्यवस्थामा ‘शिक्षक’को अवधारणा छ किनभने शिक्षकभन्दा पहिले ‘गुरु’ थिए । ‘गुरु गोविन्द दोऊ खडे…’ अर्थात् गुरुको शिक्षा व्यवसाय थिएन । गुरु हुनुको अर्थ र आनन्द थियो । आजको शिक्षक व्यवसायी बनेको छ । आज उसको भूमिका विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मको परीक्षार्थीहरूको मास प्रोडक्शन र मध्यस्थकर्ता बन्नुमा सीमित छ । शिक्षकहरूले आज पहिलेदेखि स्थापित सूचनाहरूलाई विद्यार्थीहरूमा सङ्क्रमित गरिदिन्छ । यसै कारण सबैखाले पुराना सामाजिक बीमारी, सबैखाले पाखण्ड र अन्धविश्वास एकअर्कामा सर्दै आइरहेको छ । यस व्यवस्थामा विद्यार्थीभन्दा पहिले शिक्षक नै विवेकहीन भएको छ ।

जसरी विभिन्न धर्ममा अधार्मिक मानिसहरूको वृद्धि हुँदै गएको छ, त्यसैगरी शिक्षामा पनि गैरशिक्षक भर्ती भइरहेका छन् । आज शिक्षकहरूले शिक्षणइतर काम बढी गर्न थालेका छन् । शिक्षक कस्तो हुनुपर्छ भन्ने विषयमा गाँधीले भनेका छन्–“जुन शिक्षकले पाठ्यपुस्तकबाट सिक्छ, उसले विद्यार्थीलाई मौलिक काम गर्ने शक्ति प्रदान गर्दैन । पुस्तक जति थोरै हुन्छ त्यतिकै शिक्षक र विद्यार्थी दुवै लाभान्वित हुन्छन् ।” यस व्यवस्थामा शिक्षकको भूमिका व्यवस्था रक्षकको रूपमा मात्र रहेको छ । शिक्षकले प्रबुद्ध वर्गद्वारा निर्मित पाठ्यक्रमको ज्ञानलाई बाँड्ने काम गर्दछ, जसले उनीहरूको हितको रक्षा मात्र गर्दछ । कुनै पनि मानिस त्यति बेला मात्र सही अर्थमा शिक्षक हुन सक्छ जब उसमा विचार, विद्रोह र चिन्तनको आगो होस् । अन्यथा ऊ मात्र एउटा व्यवसायी हो ।

वर्तमानको सबैभन्दा ठूलो सरोकारको विषय भनेको शिक्षाको निजीकरण हो । नेपालमा अप्रत्यक्षरूपले भए पनि अन्य मुलुकको हितलाई ध्यानमा राखी निजी विद्यालयहरूको स्थापना गरिएको छ । त्यहाँ आज पनि नेपाली संस्कार र संस्कृति गौण छ । यसको ज्वलन्त उदाहरण पुस १५ गते गृह मन्त्रालयले तमु ल्होसारको सार्वजनिक बिदा दिएको थियो, जसलाई महानगरको शैक्षिक प्रशासन महाशाखाले पनि सहमति जनाएको थियो तर प्याब्सन अन्तर्गतका विद्यालयहरूले केही विद्यालयमा परीक्षाको कारण देखाई सम्पूर्ण विद्यालय खुला राखेको थियो । यस काममा केही निजी क्याम्पसले पनि सघाएका थिए तर सम्पूर्ण सार्वजनिक संस्थाहरू बन्द रहेका थिए । भन्न के खोजिएको हो भने आज जुन मानवीय संवेदना लुप्त भइरहेको छ, त्यसमा कहीं न कहीं निजी विद्यालयहरूको पनि योगदान छ, किनभने हामीले हाम्रो संस्कृति र परम्परालाई सम्मान गर्न सिकाइरहेका छैनौं ।

शिक्षाको निजीकरणले सत्ता र शक्तिमा साधारण मानिसको भागीदारी असम्भव बनाउने काम गर्दछ । शिक्षालाई यदि समाजले होइन, कुनै वर्गले बनाउँछ भने त्यो अनर्थकारी हुन्छ । यसले शिक्षाको जरो हल्लाउने काम गर्छ । यसले दुईखाले नैतिकतालाई जन्माउँछ । ध्यान दिनुपर्ने कुरो के हो भने सामुदायिक विद्यालयमा विभिन्न पृष्ठभूमिबाट आउने विद्यार्थीहरूसँग सम्बन्ध गाँस्ने अवसर प्राप्त हुन्छ । यस्तो अवसरले जीवनमा विविधताको बोध उत्पन्न गर्छ । ठीक विपरीत निजी विद्यालयमा बढी शुल्क र तथFकथित योग्यताको गुणगान गर्ने संस्थागत विद्यालयहरूले केटाकेटीहरूलाई गरीबी, बेरोजगारजस्ता समस्या मात्र किताबमा पढाउँछन् ।

यथार्थमा उनीहरू यस्ता समस्याहरूप्रति आँखा चिम्लिन र निजी सुखबाट सन्तुष्ट हुने कुरा सिकाउँछन् । यस कारण शिक्षाको निजीकरणले शिक्षा व्यवस्थालाई अमानवीय र आक्रामक बनाइरहेको छ । यसको प्रत्यक्ष प्रमाण हिजोआज सामुदायिक विद्यालयमा पनि देखा परिरहेको छ जहाँ नेपाली माध्यमका विद्यार्थीहरूले विषयगत शिक्षकहरूको अभाव भोगिरहेका छन् भने त्यहीं अङ्ग्रेजी माध्यमका विद्यार्थीहरूले सम्पूर्ण विषयका शिक्षकबाट ज्ञान हासिल गरिरहेका छन् । एउटै विद्यालयमा यो कस्तो शिक्षा हो ?

साक्षरता आधुनिक अवधारणा हो जसको सम्बन्ध प्रचारित ज्ञानसँग हुन्छ । नेपालमा सरकारी–तन्त्रको माध्यमले साक्षरता अभियान सञ्चालित छन् तर यसबाट शिक्षाको प्रसार भइरहेको छैन । साक्षर मानिसले शब्दको ज्ञान त हासिल गर्छ तर त्यसको भाव र बोध प्राप्त गर्न सक्दैन। यसले सामाजिक चेतनासँग जोड्नुको सट्टा अपरिचित बनाउने काम गर्दछ । साक्षरतालाई शिक्षामा परिवर्तन गर्ने चुनौतीलाई बुद्धिजीवीहरूले बुझ्नुपर्छ । सँगसँगै शिक्षाको सम्बन्धमा कुनै पनि चर्चा–परिचर्चा राजनीतिबाट टाढा बसेर गर्न सकिंदैन किनभने कुनै पनि देशको राजनीतिक चरित्रले नै शिक्षा व्यवस्थाको स्वास्थ्य निर्धारण गर्दछ । नेपालको शिक्षा व्यवस्थामा तर्क र विवेकको भाषालाई जानेर दबाइएको छ । वर्तमान शिक्षा व्यवस्थाबाट विद्यार्थी, समाज र पर्यावरणसँग जोडिनुको साटो टाढा हुँदै गएको छ । यसको कारण हाम्रो राजनीतिक संरचनामा लुकेको छ ।

हुनत शिक्षा राजनीतिक व्यवस्थाको नै एक भाग हो र यसो हुनु पनि पर्छ तर आधुनिक नेपालमा शिक्षालाई निरन्तर गैरराजनीतिक बनाउने पहल भएको छ । यस कारण भविष्यको वैकल्पिक शिक्षा के हो ? कस्तो हुनुपर्छ ? यसमाथि गम्भीरतापूर्वक विमर्श गर्नुपर्ने खाँचो रहेको छ । शिक्षामा परिवर्तनको लागि के पनि आवश्यक छ भने अभिभावकले आफ्नो सन्तानको शैक्षिक जीवनमा रुचि लिनुपर्छ । सन्तानलाई शिक्षित गर्नु मात्र विद्यालयको जिम्मेवारी नभई परिवारको पनि जिम्मेवारी हो । यस प्रक्रियामा स्वयंलाई पनि शिक्षित गर्नु जरूरी हुन्छ । शिक्षित मानिसले एउटा नयाँ सोच उत्पन्न गर्नुपर्ने हुन्छ, जसमा मानिस हुनुको अर्थ जानकार हुनु नभई, स्वयंको अस्तित्व र आफ्नो सक्रियतालाई सम्भव बनाउनु पनि हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here