• सञ्जय मित्र

आजको दिन पर्यटकीयस्थल तथा यसो मानिसहरूले फोटो खिचेर फेसबूकमा हाल्न मिल्ने ठाउँमा मानिस अटाई–नअटाई हुन्छ । आजको दिन हाम्रो संस्कृतिको नयाँ वर्ष होइन । एक हिसाबले नयाँ पुस्ताको हो ।

नयाँ पुस्ता हाम्रो परम्परागत संस्कृतिबाट विमुख भइरहेर हो कि वा हाम्रो परम्परागत संस्कृतिमा कुनै आकर्षण नभएर हो कि वा हरेक संस्कृतिको राम्रो पक्षलाई मान्नुपर्दछ भनेर हो कि आजको दिन रमाइलो गर्न पाइन्छ भनेर, सबैतिर नयाँ वर्षको शुभकामना मनाउनेहरूको व्यापक भीड हुने गरेको छ । यसलाई नकारात्मकरूपमा लिन खोजिएको होइन, यसलाई सम्मान गरिनुपर्दछ भन्ने पक्षमा म पनि छु । हेर्दाहेर्दै यस नयाँ वर्षले धेरै नै विस्तार पाइसकेको छ ।

अहिले वनभोज जाने र रमाइलो गर्ने प्रवृत्ति सामान्य बन्दै गएको छ । यसका दुई कारण छन् । पहिलो त जुनसुकै दिन वा जहिले पनि रमाइलो गर्दा हुन्छ र जोसित खर्च गर्न लायक पैसा छ भने अलिकति रमाइलो गर्न, साथीभाइमा जमघट गर्न र लगातारको काम गराइबाट हुने मनोवैज्ञानिक ¥हासबाट आफूलाई तरोताजा बनाउन वनभोज जाने प्रवृत्ति बढेको छ ।

नवधनाढ्य वर्गको उदय अर्थात् मध्यम वर्गको सङ्ख्यात्मक र गुणात्मक वृद्धिले हातमा खर्च गर्ने पैसा भएको छ र खर्च गर्ने घरायसी प्रयोजनका साधनहरूमा खर्च गरिनुका साथै अलिकति रमाइलो गर्नमा खर्च गर्ने प्रवृत्ति विकास भएको छ । यसले गर्दा रमाइलो गर्ने दिनहरू पहिलेको तुलनामा निकै बढेको तथा रमाइलो गर्न पाउने अवसरहरूमा स्वाभाविकरूपमा रमाइलो गर्नेहरूको सङ्ख्यामा धेरै विस्तार भएको छ ।

पहिले हरेकजसो गाउँमा धेरै पर्ती जमीन हुन्थ्यो । ऐलानी जमीन धेरै हुन्थ्यो तर बिस्तारै हराउँदै गए । ऐलानी जमीनको संरक्षण हुन सकेन । यसले गर्दा खुला ठाउँको अभाव हुन थाल्यो र अहिले पछिल्लो दशकदेखि ठूला खुला ठाउँलाई व्यवस्थित खेल मैदान तथा पर्यटकीय संरचनाको बनाउन शुरू गर्ने समयमा त्यस्ता ठाउँको अभाव झन् बढ्यो । पछिल्लो दशकदेखि नै रमाइलो गर्न सकिने दिनहरूमा मानिसहरू घरबाट बाहिर निस्केर रमाइलो गर्नेहरूको सङ्ख्या र प्रवृत्ति दुवैमा हजारौं गुणा विकास भएको छ र यो एउटा संस्कृतिको रूपमा नै विकास हुन थालेको छ ।

अहिले साना बालबालिकाहरू पनि आजको दिन र कम्तीमा वैशाख सङ्क्रान्तिको दिन आफ्ना मिल्ने साथीहरूको समूह मिलेर गाउँभन्दा बाहिरको नजीकका बगैंचामा वा शहरका बालबालिकाहरू कोही साथीको छतमा गएर मिलेर बसेर खाजा खान थालेका छन् । अनि ह्याप्पी न्यू इयर भन्न थालेका छन् ।

प्रौढ पुस्तालाई खासै मतलब हुँदैन तर बिस्तारै सबै शिक्षित पुरुष र अझ सबै किसिमको नोकरीमा रहेका मानिसले कुनै न कुनै रूपमा आजको दिनलाई नयाँ वर्षको रूपमा मनाउन थालेका छन् नै । मान्न थालेका छन् नै । यदि सामाजिक सञ्जाललाई हेर्ने हो भने शिक्षित समुदायले यस नयाँ वर्षलाई पनि निकै धेरै प्राथमिकता दिइरहेका छन् ।

लोकतन्त्रको गहना उदारता पनि हो । हामी त झन् बढी उदार छौं । यस अर्थमा बढी सांस्कृतिक उदारवादलाई अपनाएका छौं । अहिलेको अवस्थामा हाम्रो संस्कृति सबैभन्दा बढी लोपोन्मुख हुनुमा उदारवाद पनि एउटा कारण हो । हामीमाथि कसैले ठाडो हस्तक्षेप गरेको छ भनेको होइन, हामीले अरूका संस्कृति मानेका छौं भन्ने पनि होइन तर हाम्रो मौलिक संस्कृतिमा निरन्तर ¥हास भइरहनुमा हामी शिक्षित समुदायले नै हाम्रो मौलिक संस्कृतिलाई मौलिकरूपमा मान्न धेरै समय दिन नसक्नु पनि हो । र आगन्तुक संस्कृतिलाई हार्दिकतापूर्वक आफूमा स्वीकार गर्नु पनि हो । अहिलेको वनभोज संस्कृति विदेशी संस्कार र संस्कृति मात्र हो वा आगन्तुक संस्कृति मात्र हो भन्न खोजेको होइन ।

यसलाई अस्वीकार गर्न खोजेको पनि होइन । हामीले देखेका छौं, चाडपर्व मान्न घरभन्दा बाहिर रहेका मानिस एक ठाउँमा जम्मा हुने चलन आदि परम्परा पनि हो । यदि हरेक दिन एकै ठाउँमा बसिरहेका छौं वा काम गरिरहेको छौं भने यस्ता अवसरमा घर वा काम गर्ने थलोभन्दा केही टाढा गएर खानपिन गरी रमाइलो गर्नु धरातलमा स्वाभाविक हो ।

समाजमा सामान्यतया चार पुस्ता रहेको मानिन्छ । माथिल्लो तहबाट वर्गीकरण गर्ने हो भने चौथो पुस्ता भनेका ज्येष्ठ नागरिकहरू हुन् । तेस्रो पुस्ता प्रौढ, दोस्रो पुस्ता नवयुवा र प्रथम पुस्ता बालबालिकाहरू हुन् । ज्येष्ठ नागरिकलाई सामान्यतया अहिलेको नयाँ वर्षको बारेमा खासै थाहा छैन तर द्वितीय र तृतीय पुस्ताले रमाइरहेको देखेर भने चौथो पुस्ताले स्वीकार गरिसकेको छ ।

प्रथम पुस्ताले यसलाई आफ्नो संस्कृतिसरह नै अनुकरण गर्ने अवसर प्राप्त गरिरहेको छ । नवयुवा अर्थात् दोस्रो पुस्ताका सामाजिक सदस्यको लागि यो अभ्यस्त संस्कृतिको निर्माण भइसकेको छ । आफ्नै संस्कृतिको रूपमा स्वीकार गरिसकेका छन् । तृतीय पुस्ताले बढी दोधारमा यसलाई मानिरहेको छ, मनाइरहेको छ । तृतीय पुस्ताका मानिस जसको निकटता चौथो पुस्तासित छ, उसलाई यस नयाँ वर्षसित खासै सरोकार हुँदैन र यसै पुस्ताका जो नवयुवा पुस्ताको निकटमा बढी समय व्यतीत गर्छन्, लाई यो नयाँ वर्ष पनि रमाइलको रूपमा हुने गरेको छ र यसलाई साँच्चै नयाँ वर्षको रूपमा मान्ने संस्कृतिमा आफूलाई तुल्याइसकेका छन् । यसले गर्दा यो स्पष्ट हुन आउँछ कि वर्तमानले अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आजको दिनलाई नवीन संस्कृतिको स्वीकृति दिएको छ ।

हाम्रो समाज र समुदायमा रहेका धेरै संस्कृति लोपोन्मुख अवस्थामा छन् । कतिपय संस्कृतिलाई अन्धविश्वासको बाक्लो कुहिरोले छोपेको छ र त्यसभित्रको विज्ञान पूरै लोप भइसकेको छ । केवल विश्वास बाँकी रहेको अवस्थामा नवीन पुस्ताले खोज्ने त वैज्ञानिकता हो, वैज्ञानिक आधार हो । हो, हाम्रो संस्कृतिका वैज्ञानिक आधार खोजिन बाँकी छ वा वैज्ञानिक आधारमा हाम्रो संस्कृतिको मूल्याङ्कन गरिनु आवश्यक छ तर विश्वमा देखिएका तथा विश्वले मानिरहेका संस्कृतिहरूसित पनि परिचित हुनु छ ।

विश्वका प्रमुख संस्कृतिहरूमा आफूलाई भिजाउनु पनि छ । आफूलाई ती संस्कृतिहरूको जानकार बनाउनु छ, भोग्नु छ र व्यवहारमा त्यस संस्कृतिसित परिचित हुनु छ, जसले हाम्रो समाज, समुदाय र संस्कृतिलाई नकारात्मक असर पारेको छैन ।

यस नयाँ अङ्ग्रेजी वर्षले हाम्रो संस्कृतिलाई नकारात्मक प्रभाव नपार्ने हदसम्म हाम्रो समाजले आफ्नो संस्कृतिसरह मान्दा कुनै पनि कुनाबाट दुःखी हुनुपर्ने आवश्यकता छैन । आजको परिवेशमा विश्वलाई बिस्तारै मानिसले चिन्दै गएको छ र हामीले पनि चिन्दै जानु आवश्यक छ। यद्यपि कसैको अन्धानुकरण गर्नुहुँदैन भन्ने मात्र हो । हरेक असल संस्कृतिलाई हामीले आफ्नो परिवेशमा असल हुने गरी मान्नुलाई राम्रो मान्नुपर्दछ ।

विगतमा पनि कतिपय संस्कृति यसै गरी स्थापित भएको होला भन्ने प्रमाणको द्योतक हो, वर्तमान । कुनै पनि संस्कृतिको विस्तार कसरी भएको होला भन्ने कुराको प्रमाण पनि हो, वर्तमान । वर्तमान त साँघु पनि हो, दुई संस्कृतिको । नवीन र परम्परागत संस्कृतिको दर्शक हो, वर्तमान । संस्कृतिको सङ्क्रमणको साक्ष्य त वर्तमान हुने भइ नै हाल्यो । सारमा एउटै कुरो भन्न सकिन्छ, वर्तमान सदैव युवा र तरोताजा भइरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here