काठमाडौं, २७ मङ्सिर/रासस

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलवारदेखि शुरू हुने नियमित हिउँदे अधिवेशन भएकोले त्यसको मुख्य एजेन्डा विधेयकमैं केन्द्रित रहने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारीको जानकारी लिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिए । सभामुख सापकोटाले भने–“सदन सहमतिका साथ अघि बढाउन म तटस्थ, स्वतन्त्र र निष्पक्षरूपमा संविधान र प्रतिनिधिसभाको नियमावली टेकेर काम गर्न प्रतिबद्ध छु । यस सम्बन्धमा जनतालाई प्रस्ट पार्दै लगेको छु, कहींकतै अस्पष्टता भएमा व्यवहार र कामबाटै प्रस्ट हुनेछ ।”

सदनमा दलहरूकै भूमिका निर्णायक हुने भएकोले खेलमा अम्पायरजस्तै सभामुखका हैसियतले सदन सञ्चालन भएपछि समन्वय र सहजीकरणको भूमिका देखिंदै जाने बताए । उनले भने– “संविधान, कानूनले निर्दिष्ट गरे अनुरूप समन्वय र सहजीकरण गर्दै सदन अघि बढ्छ । प्राप्त भूमिका अनुसार कार्यव्यवस्था र दलको बैठक डाकेर सदन सञ्चालन गर्न हरसम्भव पहल र प्रयत्न हुनेछ ।”

नेकपा (एमाले)का सांसद गणेश पहाडीले स्वाभाविकरूपमा हिउँदे अधिवेशनमा विधेयककैै विषयमा केन्द्रित रहेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिए । उनले भने–“हिउँदे भन्नेबित्तिकै विधेयक अधिवेशन हो, संसद्मा पहिलेदेखि नै धेरै विधेयक थुप्रेर बसेका छन् । ती विधेयकको टुङ्गो लगाउनुपर्नेछ, संसद्मा टेबल भएका अरू विधेयकमाथि छलफल गर्नुपर्नेछ ।” संसद् भोलिदेखि शुरू हुन लागे पनि कार्यव्यवस्था बैठक बसेर प्रमुख प्रतिपक्षसँग सदन सञ्चालन गर्ने र एजेन्डा तय गर्ने सन्दर्भमा कुनै सरसल्लाह र छलफल नभएको बताउँदै नेता पहाडीले यस हिसाबले सत्तापक्ष फेरि पनि एकपक्षीय ढङ्गले सदन चलाउन खोज्छ कि जस्तो भान भएको प्रतिक्रिया दिए ।

संसदीय व्यवस्था भएका मुलुकमा संसद् भनेको प्रतिपक्षको हो भन्ने पक्षलाई हेक्का राख्न जरूरी भएको बताउँदै उनले भने–“सल्लाह र छलफलविना अघि बढ्न खोज्यो भने स्वाभाविकरूपमा समस्या आउँछ, अघिल्लो अधिवेशन अवरुद्ध गरिरहेकै बेला स्थगित भएका हाम्रा एजेन्डा थाती नै छन् ।”

सांसद पहाडीले सदन कसरी नियमितरूपमा अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र सभामुखले सहमतिका आधारमा नियमित तुल्याउन मुख्यरूपमा पहल र अग्रसरता लिनुपर्ने कुरामा जोड दिए । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले समयमा कानून नबन्दा अनेकौं व्यवधान भएकाले संसद्को यो नियमित हिउँदे अधिवेशनलाई कानून निर्माणमैं केन्द्रित तुल्याउन आवश्यक रहेको बताए ।

उनले भने–“अदालतले जनप्रतिनिधिको थलो संसद् क्रियाशील हुनुपर्छ भन्ने मान्यताका साथ ब्युँत्याएकोले विधेयक पास गर्ने क्रममा सदन सक्रिय हुनुपर्छ, यसबीच जारी भएका अध्यादेश पारित गर्नुपर्छ ।” सदन सञ्चालन भएपनि मुलुकका जल्दाबल्दा विषय एमसिसी र न्यायालयसँग जोडिएर आएका विषय छलफलका लागि स्वाभाविकरूपमा प्रवेश पाउने बताउँदै राष्ट्रियसभा सदस्य बिडारीले संविधानको मर्म र भावना अनुरूप कानून निर्माणमैं सदनलाई केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले कोभिड–१९ को अहिले जोखिम कम देखिए पनि नयाँ भेरिएन्टका कारण उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिइने जानकारी दिए । उनले भने– “मङ्गलवारदेखि प्रारम्भ हुने सङ्घीय संसद्को दुवै सदनको प्राविधिक, स्वास्थ्य मापदण्ड र सिट व्यवस्थापनलगायत तयारीबारे सभामुखबाट अवलोकन भइसकेको छ । अधिवेशनका सबै तयारी पूरा भएको छ ।” राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा दुवै सदनको अधिवेशन मङ्गलवार दिनको २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गरेकी थिइन् ।

यस अघि संसद् भवन परिसरमा सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतले कोभिड–१९ एन्टिजेन परीक्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here