काठमाडौं, २४ मङ्सिर/रासस

नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको उद्घाटन गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उनले महाधिवेशनको उद्घाटन गरेका हुन् । समारोहको मुख्य मञ्चमा काङ्ग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आएका अतिथिहरू सहभागी छन् । कोभिड–१९ महामारीका कारण काठमाडौं उपत्यकाबाहिरबाट सहभागी नबोलाइएको भएपनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ थियो ।

उद्घाटनअघि पार्टीका संस्थापक र अग्रज नेताका तस्वीरमा माल्यार्पणका साथै मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञातअज्ञात शहीदको सम्मानमा मौनधारण गरिएको थियो । सहभागीलाई सजिलोका लागि मञ्चका गतिविधि बाहिर देखिने गरी भृकुटीमण्डपबाहिर पाँचवटा ठूला डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पार्टिङ गर्न मुख्य मञ्चको दाहिनेतिर छुट्टै स्टेज बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउन्ड सिस्टम राखिएको छ ।

यस महाधिवेशनमा ‘उत्साह, एकता र रूपान्तरण, सफल बनाऔं नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन’ नारा तय गरिएको छ । मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्शाभित्र पार्टीका संस्थापक एवं नेता बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर अङ्कित प्रचार लोगो राखिएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दलको महाउत्सवलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।

महाधिवेशनस्थल पार्टीका झन्डा र चुनाव चिह्न रूख अङ्कित झन्डाले सिङ्गारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । महाधिवेशनमा विभिन्न जातजाति भेषभूषा झल्कने नृत्यसहितका झाँकी प्रदर्शन गरिएको थियो । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारू, भोजुपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको थियो ।

यसैगरी, महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । महाधिवेशनमा भूपू सैनिक सङ्घका स्वयंसेवकले सहभागीको भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

महाधिवेशनस्थलमा उम्मेदवारले आफ्नो प्रचारका लागि भिजिटिङ कार्ड, पम्पलेट वितरण गर्नुका साथै मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न विभिन्न कार्यक्रम गरिरहेको देखिन्छ । नेता, कार्यकर्ताहरू हार्दिकता साटासाटा गरिरहेका देखिन्छन् । प्रवेशद्वारनजीकै स्वास्थ्य समिति र मिडिया सेन्टर स्थापना गरी आवश्यक सेवा प्रदान गरिएको छ ।

प्रदर्शनी क्षेत्र नेता तथा कार्यकर्ता र शुभचिन्तकको भीडले खचाखच भरिएको छ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताले नेपाली काङ्ग्रेस एक भएर अघि बढेको हेर्न चाहेको प्रतिक्रिया दिएका थिए। यसअघि समारोहमा काङ्ग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले महाधिवेशनमा आएका नेता तथा कार्यकर्ता र पाहुनालाई स्वागत अभिवादन गरेका थिए । उनले नेपाली काङ्ग्रेस जुन उद्देश्यले स्थापना भएको त्यो लक्ष्यप्राप्तिमा यस महाधिवेशनले शक्ति प्रदान गर्ने बताए ।

यसैबीच, महाधिवेशनको बन्दसत्र शनिवार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी, विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ –भारतीय नेताहरू

छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरूले नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक मात्र नभई मन र ह्दयबीच गहिरो सम्बन्ध रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आईका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गरे ।

उनले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पु¥याउने विश्वास दिलाए । नेपाली काङ्ग्रेस र भारतीय काङ्ग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेको उनको भनाइ थियो । उनले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुर्ई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताए । उनले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पु¥याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाइँमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गरे ।

नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमैं उदाहरणीय रहेको आफूले पाएको जनाउँदै यस्तो सम्बन्ध सधैं रहिरहोस् भन्ने कामना पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here