- सञ्जय मित्र
भारतको तमिलनाडु प्रान्तको एउटा शहर हो, कोयम्बतूर । गत कात्तिक (२०७८)को छठ पबनीको पारनकै दिन घरबाट कोयम्बतूरको लागि यात्रा गर्नुपर्ने थियो । जन्म गाउँ पुर्नी गेडही (गरुडा नगरपालिका–२)बाट बिहान छठको पारन गरी प्रसाद र खाना खाएर गरुडा आइपुग्दा बिहानको पौने नौ बजिसकेको थियो ।
गरुडाबाट भैरहवा पुगेर भोलिपल्ट गोरखपुरबाट हवाईयात्रा गर्नुपर्ने थियो । गरुडाबाट पौने दश बजे निस्केर सार्वजनिक बसले रूपन्देहीको तिलोत्तमा नपास्थित अग्रज साहित्यकार रमेश समर्थनकहाँ पुगेर राति बास बसी बिहान भैरहवा पुगियो र छोरीकी साथीकहाँ पुगेर गोरखपुरको लागि प्रस्थान गरियो । गोरखपुरबाट हवाईजहाजले हैदराबाद र हैदराबादबाट सोही दिन कोयम्बतूर साँझ करीब पौने आठ बजे पुगियो ।
कोयम्बतूरमा होटल खोजेर बास बस्न पुग्दासम्म करीब पौने दश बजेको थियो । राति खाना खाएर सुत्दा पौने एघार । हवाईजहाजबाट सन्ध्याको शहर दर्शन र ट्याक्सीबाट होटलसम्म करीब एक्काइस किलोमिटरसम्म डुल्दा शहरलाई केवल राति नै हेर्न पाएको र अनुभव गर्न पाएको हो । यतिमा त के बुझिन्थ्यो र ?
बिहान उठेर बजार पनि घुम्ने र अलिकति किनमेल पनि गरिने योजना बन्दछ । होटलको कोठामा ताल्चा लगाएर बाहिर निस्कन्छौं । कोयम्बतूरमा ट्याक्सीलाई क्याब भनिंदो रहेछ । क्याबलाई अनलाइनबाटै बोलाउनुपर्ने हुन्छ । अनलाइनबाट बोलाउने काम भाइ सुनील गुप्ताले गर्छन्् । म भाइ भन्छु तर उनी मलाई अङ्कल भन्छन् । अङ्कल यस अर्थमा कि मेरी छोरीकी साथी सुनीलकी बहिनी हुन् । छोरी र छोरीकी साथीलाई हामी पु¥याउन कोयम्बतूर आएका छौं । यहाँस्थित अमृता विश्वविद्यापीठम् अर्थात् अमृता विश्वविद्यालयमा दुवैजना बिएससी कृषिमा पढ्न आएका छन् ।
सुनीललाई तमिल भाषा आउँदैन तर यहाँको शैलीमा अङ्ग्रेजी बुझ्छन् र बोल्छन् पनि । मतलब तमिलनाडुको शैलीमा अङ्ग्रेजी बोलेर तथा बुझेर काम मज्जाले चलाउन सक्छन् । सुनीलले ट्याक्सी बोलाउँछन् र हामी ट्याक्सीमा चढेर बजार हेर्दै एउटा मार्टमा पुग्छौं र सामानहरू किन्छौं । कोयम्बतूरलाई टेक्सटाइलको शहर भनिन्छ । हामीकहाँको तुलनामा यहाँ कपडाका सामान अर्थात् तयारी पोशाक निकै सस्तो छ । त्यहाँ आवश्यक बुझिएजति किन्छौं । घर ल्याउनलाई जोगीलाई कुकुर भारी भनेजस्तै हुन्छ मलाई । म आफ्नोलागि केही पनि किन्दिनँ ।
नयाँ ठाउँमा पुगेपछि केही नयाँ खान मन लाग्छ तर यो यस्तो मेरोलागि नयाँ हो कि केही पनि बुझिंदैन । केही पनि बुझिंदैन भन्नुको अर्थ हो कि कसैले बोलेको केही पनि बुझिंदैन । यसलाई सजिलोको लागि यो भन्न सकिन्छ कि कसैले हामीलाई केही भन्दा जे बुझ्छौं, त्यो पहिलेदेखि नै हाम्रो मस्तिष्कमा रहेको छ । हामीले देखेको, सुनेको र भोगेको हुँदारहेछौं ।
होटलमा पुगेपछि के खाने ? होटलमा देखिएका खानेकुराहरू हामीकहाँको होटल वा घरमा पाइने जस्तो केही पनि छैनन्, कुनै पनि छैनन्, एउटै पनि देखिंदैनन् । यस्तो अवस्थामा के माग्ने र के भन्ने होला ? भन्ने हुन्छ तर सुनील भाइ त्यहाँबाट हवाईजहाजको करीब एक घण्टाको दूरीमा केरलाको एउटा प्रसिद्ध शहरमा रोजगारको क्रममा छन् । त्यहीं पढेर अहिले रोजगारमा छन् । उनलाई भने खानाको नाम धेरै हदसम्म थाहा छ र स्वाद पनि । कसरी माग्ने भन्ने पनि थाहा छ ।
होटलमा बसेपछि सबैभन्दा पहिले केराको पात दिन्छन् । बल्ल अरूको टेबुलतिर आँखा पुग्छ । कतै पनि थाल देखिंदैन । होटलको हरेक टेबुलमा केराको पात छन् । केराको पातमा अनेक परिकार खानालाई दिइएको छ । हामी पनि सुनील भाइले जे जे आदेश दिएका छन्, सोही खान्छौं । दुईटै छोरीलाई भने फिटिक्कै मन परेको छैन ।
होटलबाट बाहिर निस्केपछि बल्ल अब ख्याल गर्न थाल्छु, सडकमा फोहोर खासै छैन । धेरै सफा नै छ भन्ने होइन तर पनि जताततै फोहोर हुनुपर्ने भन्ने हाम्रो मानसिकता त्यहाँ छैन । मुश्किलले खोज्दा कतै प्लास्टिकको टुक्रो देखिन्थ्यो । शहरमा प्लास्टिकको प्रयोग भएको छ तर ज्यादै कम । अझ सडकको वरपर, घरको छेउछाउमा खासै प्लास्टिक देखिंदैन । बिहान मानिसको हात–हातमा पत्रिका देखिन्छ तर उही पत्रिकाको टुक्रो र कागजको टुक्रो सडकमा खासै देखिंदैन । एकाध किलोमिटर मात्र होइन, शहरमा जताततै र झन्डै पचासौं किलोमिटरमा यही अवस्था देखिन्छ ।
हामीले कतै खाना खायौं । कतै खाजा खायौं । खाना र खाजामा के के खायौं खायौं तर जहाँ–जहाँ खायौं सबैतिरको होटलमा केराको पातमा मात्र खान दिइयो । केराको पातबाहेक अरू केहीमा पनि खान पाइएन ।
हामी हाम्रो समाज र संस्कृतिका सबै कुरामा प्लास्टिकको उपयोग गरिरहेका छौं । प्लास्टिकमाथि पूरै जीवनशैलीलाई निर्भर बनाइरहेका छौं, जुन हाम्रो जल र जमीनका साथै स्वास्थ्यको लागि हानिकारक बन्दैछ । हाम्रो पर्यावरणमा यसले नकारात्मक असर पार्दैछ र हाम्रा औपचारिक निकायहरूले पनि प्लास्टिकलाई रोक्न कुनै खास योजना कार्यान्वयन गरेको देखिंदैन । अहिले सडकमा हामी के देख्छौं भने जहाँतहीं प्लास्टिक हुन्छ र जहाँ फोहोर फालिने ठाउँ हुन्छ वा जहाँ कसैले कहिल्यै सफा गर्दैनन्, त्यो ठाउँमा सबैभन्दा बढी प्लास्टिक हुन्छ । हामीले हाम्रो संस्कृतिमा रहेका केही कुरालाई निरन्तरता दियौं भने हाम्रो सडक सफा हुने र हाम्रो पर्यावरण, सुन्दरता तथा स्वास्थ्यमा पनि सकारात्मक असर पर्ने हुन्छ ।
कोयम्बतूरको सडकमा देखिएको एउटा सचेतनाले हामीलाई यही दिशा निर्देश गरेको मलाई महसूस भएको छ आज ।