ओमप्रकाश चौधरी, सेढवा, २ मङ्सिर/

धानपछि दोस्रो मुख्य बाली गहुँखेतीको बेलामा पनि पर्सेली किसानहरूले मलको अभाव झेल्नुपरेको छ । पर्सा जिल्लामा मल पर्याप्तरूपमा नपाउँदा यहाँका किसानहरू मलको लागि छिमेकी भारतको सीमावर्ती क्षेत्रका बजारहरूमा धाउनुपरेको छ । किसानहरूले गहुँबालीका लागि आवश्यक पर्ने मल अहिले भारतको इनर्वा, भङ्गाहा, मैनाटाड, सिकटालगायतका बजारहरूबाट ल्याउन शुरू गरेका छन् ।

जीराभवानी गाउँपालिका–२ सेढवाका किसान प्रदीपदास थारूले गहुँ रोप्ने बेलामा पनि मलको अभाव झेल्नुपरेको बताए । उनले गहुँको बीउ छरेको र सो प्रयोजनको लागि आवश्यक मल अहिले भारतीय बजार इनर्वाबाट ल्याएको बताए ।

अहिले भारतीय बजारमा पाउने मलको गुणस्तरीयता नेपाली मलभन्दा कम भएको र मूल्य पनि बढी हुने गरेको उनले बताए । एक बोरा डिएपी मल २ हजार ४५० रुपैयाँ तिरेर खरीद गरेको उनले बताए ।

गहुँ रोपाइँ भएपछि तेस्रो सातासम्म डिएपी, युरिया, पोटास मल आवश्यक हुन्छ । गहुँखेतीमा मुख्यतया मङ्सिर १ देखि १५ गतेसम्म बीउ छर्ने कार्य हुन्छ । पटेर्वासुगौली गाउँपालिका–२ मकवानीटोलका किसान बिगा महरा चमारले नेपाली बजारमा मल नपाएपछि भारतको सीमावर्ती क्षेत्रका व्यापारीहरूले मल बिक्रीका लागि ल्याउन शुरू गरेको बताए ।

उनले भारतबाट चोरबाटोबाट ल्याइएको मल नेपाली बजारमा झनै महँगोमा खरीद गर्नुपर्ने बाध्यकारी अवस्था आएको बताए । रङ्गपुरमा पचास किलोको एक बोरा डिएपी मल रु ३ हजारमा बिक्री भइरहेको उनले बताए । त्यसमा पनि कतिपय बोरामा तौल अनुसारको मल नभएर ५ किलो कम हुने गरेको चमारले दुःखेसो पोखे ।

जीराभवानी गाउँपालिका–३ सेढवास्थित जय मारुतीनन्दन कृषि सहकारी संस्थाका सञ्चालक सत्यनारायण साहले बुधवारदेखि मल किसानलाई उपलब्ध गराएको बताए । उनले सय बोरा मल कृषि सामग्री कम्पनीले उपलब्ध गराएको र एक घण्टामैं सकिएको बताए ।

सातामा एक सय बोरा मल कम्पनीले उपलब्ध गराउन थालेको तर किसानहरूको माग भने सोभन्दा अत्यधिक रहेको उनको भनाइ छ । उनको वडामा दुईवटा सहकारी भएकाले अहिले कम्पनीले ८०/८० बोरा मात्र मल दिने गरेको बताए । डिएपी मल मात्र पाएको, युरिया र पोटास भने अभाव नै रहेको उनले बताए ।

अहिले सहकारीमार्फत युरिया मल प्रतिबोरा रु ७७५ पर्छ । डिएपी प्रतिबोरा २ हजार ३२५ र पोटास १ हजार ७५० मूल्य जीराभवानी गापामा तोकिएको छ ।

महानगरद्वारा सहुलियतमा गहुँको बीउ वितरण शुरू
प्रस, वीरगंज/

वीरगंज महानगरपालिकाले महानगरभित्रका किसानहरूलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ ।

महानगरका किसानहरूलाई लक्षित गरेर ४० टनभन्दा बढी बीउ वितरण गर्ने लक्ष्य रहेको नगरप्रमुख विजयकुमार सरावगीले बताए । उनले बिहीवारदेखि महानगरका किसानहरूलाई उन्नत जातको गहुँको बीउ पचास प्रतिशत अनुदानमा उपलब्ध गराउन शुरू गरिएको जानकारी गराए ।

महानगरले पहिलो चरणमा एनएल ९७१ जातको गहुँ वितरण गरेको र यसपछि पछुवा र विजय जातको बीउ उपलब्ध गराउने योजना रहेको महानगरपालिकाका कृषि शाखा प्रमुख उर्मिला श्रेष्ठले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here