सबल अर्थतन्त्रका लागि दिगो बैंकिङ

0
  • शीतल महतो

दिगो विकास भन्नाले धान्न सकिने र टिकाउ विकास भन्ने बुझिन्छ । प्राकृतिक सम्पदाको अत्यधिक विनाशबाट उत्पन्न हुने वातावरणीय दुष्परिणाम र भविष्यका नागरिकको जिउने अधिकार हनन नहुनेगरी विकासको फल वर्तमान सन्ततिले उपयोग गर्नुपर्छ भन्ने मान्यता नै दिगो विकासको मान्यता हो । त्यसैले वातावरण र विकासबीच सन्तुलन नै दिगो विकास भनिएको हो । विकासको लाभ र गतिबाट प्राप्त प्रतिफललाई वर्तमान पुस्तामा मात्र सीमित नराखी भावी पीढीलाई समेत सुनिश्चितता प्रदान गरिने विकासको अवधारणा नै दिगो विकास हो।

यसले अन्तर्पुस्ता समता कायम रहनुपर्ने मान्यतालाई स्वीकार गर्दै आत्मसात् गर्न जोड दिएको छ । दिगो विकासले विकास र वातावरणबीच सन्तुलन र संयोजन गर्दै भावी सन्ततिको स्वच्छ वातावरण र सन्तुलित अर्थतन्त्रमा बाँच्ने मौलिक हक सुनिश्चितता गर्दै अहिलेको पुस्ताको गुणस्तरीय जीवन अभिवृद्धि गर्ने मान्यताको वकालत गर्दछ ।

विश्वमा दिगो विकासको अवधारणा सन् १९७० को दशकदेखि शुरू भएको पाइन्छ । सन् २०१६ मा दिगो विकासका लक्ष्य लागू भएपछि यसले व्यवस्थित र विशिष्ट रूप लिएको छ । अहिले विश्वभरि दिगो विकासले तय गरेका १७ वटा लक्ष्यलाई साझा एजेन्डा मानेर विश्वको विकास अघि बढेको पाइन्छ । विकासका महŒवपूर्ण हरेक हिस्सेदारलाई दिगो विकाससँग जोड्न थालिएको छ । विकासको शास्त्रीय अवधारणाले सामाजिक, आर्थिक र वातावरणीय पक्षबीच सन्तुलन ल्याउने विषयलाई महŒवबोध नगरी विकास र वातावरण अलग–अलग रूपमा लिने गरेको देखिन्छ ।

यसका अलावा दिगो विकासको अवधारणले यी सबै पक्षको आयामगत विश्लेषण गरी सन्तुलित एवं संयोजित रूपमा हेर्ने कुराको वकालत गर्दछ । शुरूशुरूमा वातावरणीय चिन्ताको कारणले दिगो विकासको पृष्ठभूमि तयार भए तापनि हाल मानवीय कल्याण र अन्तर्पुस्ता समता कायम गर्ने विषयको रूपमा स्थापित हुन पुगेको छ । अतः हाल दिगो विकासबारे विभिन्न आयाममा बहस र विश्लेषण हुँदै आएको छ । जसले वातावरणीय, सामाजिक, आर्थिक, मानवीय, प्राविधिक, संस्थागत र शासकीय आयामबीच सन्तुलन हुनुपर्ने कुरामा जोड दिन्छ ।

दिगो विकासको आर्थिक आयाम अन्तर्गत गरीबी निवारण उन्मुख आर्थिक वृद्धि र स्वास्थ्यको समष्टिगत व्यवस्थापन पर्दछ । यसमा आर्थिक स्थायित्व र मौलिक तथा वित्तीय सन्तुलन, दिगो कृषि उत्पादन अन्तर्गत जलाधार व्यवस्थापन, भूसंरक्षण र जैविक खेती र वनसंरक्षण पर्दछ । त्यस्तै वातावरणीय आयाम अन्तर्गत प्राकृतिक स्रोत साधनको दिगो उपयोग, वातावरण संरक्षण र यसको व्यवस्थापन, वातावरण–मैत्री विकास, प्राकृतिक पूँजी तथा सम्पत्तिको गुणस्तरवृद्धि तथा सञ्चय र जैविक विविधताको संरक्षणजस्ता पक्षलाई समेटेको हुन्छ ।

यसैगरी सामाजिक आयाम अन्तर्गत गरीब र सीमान्त वर्गको संरक्षण गर्दै समतामूलक वितरणमा जोड दिइन्छ । विकास प्रक्रियाको समग्र चरणमा सहभागितात्मक प्रणाली आत्मसात गरी सामाजिक सेवाको उपलब्धता सुनिश्चित गर्दछ । समाजमा सारभूत समानता हासिल गर्न सामाजिक सशक्तीकरण र लैङ्गिक समानता हुनुपर्ने मान्यता राख्दछ । त्यस्तै सांस्कृतिक आयाम अन्तर्गत सांस्कृतिक एकीकरणमा जोड दिंदै सांस्कृतिक मूल्य र मान्यताको संरक्षण र विविधता तथा सम्पदाको संरक्षण तथा सदुपयोग हुनुपर्ने मान्यता अगाडि सारेको पाइन्छ ।

यसैगरी मानवीय आयामले जनशक्तिबाट पूँजी सिर्जना गर्न रोजगारको अवसरमा वृद्धि गरी भविष्य सुनिश्चित गर्ने गर्दछ भने मानवीय मूल्य–मान्यता आयामले संस्कृति र सदाचारको प्रवद्र्धन गरी विकासलाई आत्मसात गर्ने, गरीबी र असहाय वर्गको सशक्तीकरण गरी मानवीय र संस्थागत क्षमता विकास गर्ने उद्देश्यलाई समेट्दछ । त्यस्तै प्राविधिक आयामले सूक्ष्म एवं उपयुक्त प्रविधिको विकास, स्रोतको मितव्ययी र न्यून क्ष्Fति हुने ढङ्गबाट उपयोग गर्न सकिने प्रविधि आत्मसात गर्ने र आर्थिक विकासका साथै मानवीय जीवन सुगम बनाउने र वातावरणीय हिसाबले संरक्षणमा टेवा पु¥याउने प्रविधि अवलम्बन गर्ने कुराको सिफारिश गर्दछ ।

यसै क्रममा दिगो विकासको अवधारणाको प्रभावकारी कार्यन्वयनका लागि पछिल्लो समयमा दिगो बैंकिड्ढो अवधारणासहित बैंकिङ क्षेत्र पनि जोडिएको छ । संयुक्त राष्ट्रसङ्घले नै केही आधारभूत सिद्धान्त तय गरी बैंकलाई स्वतःस्फूर्त यो अवधारणा अनुरूप काम गर्न आग्रह गरेको छ । यसै अनुसार विश्वका विभिन्न बैंकले दिगो बैंकिङ अभ्यास शुरू गरिसकेका छन् । यसको आधारभूत अवधारणा भनेको बैंकहरूले व्यवसाय गर्ने सिलसिलामा आम मानिसको आवश्यकतालाई सम्बोधन गर्ने र यस सिलसिलामा वातावरणीय संरक्षणमा ध्यान दिएर वित्तीय औजारहरू तयार गर्ने अनि सोहीबमोजिम सेवा प्रवाह गर्ने हो ।

दिगो बैंकिङले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि समावेश गर्छ भने यससँग बैंकिङ आचरण, पर्यावरणीय बैंकिङ र हरित बैंकिङ क्षेत्रहरू पनि जोडिन्छन् । सन् २००८ मा विश्वव्यापी आर्थिक मन्दीसँगै विश्वका ठूला बैंकहरूले पनि ठूलै सङ्कट भोग्नुप¥यो । यसले बैंकप्रतिको विश्वासमा समेत कमी आउन थालेपछि त्यति बेलादेखि नै परिष्कृत बैंकिड्ढो आवश्यकता महसुस गरिएको थियो । यिनै अनुभवलाई समेत ख्याल गरेर सन् २०१९ देखि राष्ट्रसङ्घले दिगो विकास लक्ष्य अनुरूप जिम्मेवार बैंकिङ अवधारणा अघि सारिएको पाइन्छ ।

यो अवधारणाले ६ वटा सिद्धान्तलाई समावेश गरेको छ । यस अन्तर्गत बैंकहरूको व्यावसायिक रणनीति दिगो विकास लक्ष्यसँग अनुकूल बनाउनुपर्ने, बैंकहरूले आफ्नो कारोबारीय गतिविधिबाट मानिस र वातावरणमा परेको प्रभावबारे बारम्बार अध्ययन गर्नुपर्ने, अहिलेको पुस्तासँगै भावी पुस्ताको आर्थिक गतिविधिलाई समेत सम्बोधन गर्ने गरी दिगो बैंकिङ अभ्यास अँगाल्नुपर्ने र समाजको लक्ष्य प्राप्तिका लागि विभिन्न सरोकारवाला पक्षहरूसँग साझेदारी र सहकार्य गर्नुपर्ने सिद्धान्त अघि सारिएका छन् । बाँकी दुइटा सिद्धान्त बैंकको संस्थागत सुशासन र पारदर्शितासँग सम्बन्धित छन् ।

राष्ट्रसङ्घले तय गरेको दिगो बैंकिङ अवधारणालाई शुरूमा विश्वका ३० वटा बैंकले अनुसरण गर्ने प्रतिबद्धता जनाएका थिए । हाल २ सयभन्दा बढी बैंकले यसमा हस्ताक्षर गरेका छन् । एशियामा जापान, चीन, बङ्गलादेश, भारतजस्ता मुलुकका बैंकहरू छन् । तर नेपालका बैंकहरूले अहिलेसम्म यसमा हस्ताक्षर गरेका छैनन् । नेपाल पनि दिगो विकास लक्ष्यमा हस्ताक्षर गर्ने विश्वका १ सय ९३ मुलुकमध्ये एक हो ।

१७ लक्ष्य, १ सय ६९ वटा सूचक र २ सय ३९ वटा सहायक सूचकहरू रहेको यो विश्वव्यापी दस्तावेजले आर्थिक, सामाजिक, वातावरणीय, समावेशीकरण र सुशासनजस्ता विकासका बहुआयामिक पक्षलाई समावेश गरेको छ । सन् २०३० सम्म हासिल गर्ने भनिएका दिगो विकासका धेरै मूलभूत कुराहरू दिगो बैंकिङले सम्बोधन गर्छ । यस अन्तर्गत उपरोक्त ६ वटा सिद्धान्त आत्मसात गर्न नेपालका बैंकहरूले संस्थागत अभ्यासको थालनी गर्नुपर्नेछ । नियमनकारी निकायले पनि यस्तो बैंकिङ प्रणाली प्रवद्र्धन गर्न नीतिगत कामहरू गर्नुपर्नेछ ।

नेपालमा ८० को दशकसम्म स्थानीय बैंकहरू मात्रै थिए । त्यसपछि ८४ बाट निजी बैंकहरू आए र वास्तविक अर्थमा बैंकिङ अभ्यास शुरू भयो । परम्परागतरूपमा चलिरहेको बैंकिङ प्रणालीमा निजी क्षेत्रको प्रवेशसँगै यो क्षेत्र पुनःपरिभाषित पनि हुँदै गयो । बैंक, सेवा दिने वित्तीय संस्था हो भन्ने अवधारणाले ठाउँ लिन थाल्यो । सन् २००० को दशकदेखि बैंक तथा वित्तीय संस्थाहरूको सङ्ख्या उच्च दरमा वृद्धि भएको पाइन्छ । बैंकले अर्थतन्त्र विस्तारका लागि धेरै ठूलो योगदान पु¥याइरहेको छ । अहिलेका व्यवसायको आकार निकै ठूलो हुनुमा बैंकको महŒवपूर्ण योगदान छ । नेपालका व्यवसायहरूमा बैंकले ७० देखि ८० प्रतिशत लगानी गरिरहेको तथ्याङ्क छ ।

बैंकले यो दरमा लगानी नगरेको भए मुलुकको अर्थतन्त्र र व्यवसायीहरूको व्यवसाय यो आकारमा आइपुग्ने थिएन होला । त्यसैले अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदानको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आजको आवश्यकता हो । हाम्रो लगानीले कस्तो अर्थतन्त्रको निर्माण भयो त ? व्यक्ति, समाज र मुलुकका लागि कस्तो योगदान ग¥यो भन्ने कुरा महŒवपूर्ण छ । वित्तीय सम्पत्तिका लागि गर्ने लगानी र वास्तविक अर्थतन्त्रका लागि गर्ने लगानीमा धेरै फरक छ । वास्तविक अर्थतन्त्रमा जब लगानी गरिन्छ, त्यसले वस्तु तथा सेवाको उत्पादन गर्छ । रोजगार सिर्जना र अर्थतन्त्रमा वृद्धि हुन्छ, बैंकले थप लगानीको लागि पूँजी पनि पाउँछ । राम्रो लगानीले बैंकको लगानी पनि सुनिश्चित हुन्छ ।

अन्त्यमा बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र, व्यवसायी र साना ऋणीहरूको वृद्धिमा योगदान दिंदादिंदै पनि बैंकहरू धेरै मुनाफामुखी भइरहेको पाइन्छ । मुनाफा गर्नु नराम्रो होइन, तर यसको असरमा पनि ध्यान दिनुपर्ने हुन्छ । संस्थागत सुशासनमा बैंकिङ क्षेत्र अलि चुकेकोजस्तो देखिन्छ । त्यसै कारणले बैंक तथा वित्तीय संस्था समस्याग्रस्त भएका छन् । केही मर्जरमा गएर सेफ ल्यान्डिङ भएका छन् । अझै पनि कतिपय बैंकहरू धेरै नाफा कमाउने र पहिलो बन्ने होडबाजीमा लागेका छन् । यसैका लागि दिगो बैंकिङ चाहिन्छ र यो नै अहिलेको आवश्यकता हो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here