–कृष्ण दर्नाल
पाल्पा, ३१ असोज/रासस

पाल्पाली पहिचान बोकेका करूवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएको छ । सीप र पूँजीको अभावमा बिस्तारै लोप हुने अवस्थामा पुगेको पाल्पाली करूवाको उत्पादनमा पछिल्लो समय युवा पुस्ता आकर्षित हुँदै गएको हो ।

पाल्पाली करूवा उद्योगको सीप नयाँ पुस्तामा हस्तान्तरण हुन थालेपछि यसको उत्पादनसमेत बढ्न थालेको छ । करूवा बनाउने आवश्यक तालीम र यसको उद्योग सञ्चालनका लागि बीउ पूँजीलगायत सहयोग पाएपछि यहाँका युवा करूवा उत्पादनमा लागिपरेका छन् । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र ग्रामीण आर्थिक विकास सङ्घ (रेडा)द्वारा सञ्चालित तालीम पाएपछि चारजना युवा मिलेर करूवा उद्योग स्थापना गरेका छन् ।

तानसेनका नगरप्रमुख अशोककुमार शाहीले पाल्पाको पहिचान बोकेको करूवा लोप हुनबाट जोगाउन सीप, बीउ–पूँजी लगायत सहयोग गरिएको बताए । तानसेन नगरपालिकाले बेरोजगारी युवा छनोट गरी तालिम, बीउ–पूँजीलगायत कार्यक्रमपछि युवा पुस्ता अहिले करूवाको उत्पादनमा सक्रिय भएको छ । आवश्यक पूँजीको अभावमा करूवा व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थामा नगरपालिकाले यो व्यवसाय गर्न चाहने युवालाई बंैकबाट सहुलियत दरमा ऋण प्रदान गरी साना उद्योग स्थापनामा सहजीकरण गरेको नगरप्रमुख शाहीको भनाइ छ ।

बगनासकाली गाउँँपालिका–६ यम्घाका खिमबहादुर विश्वकर्मासहित चारजना साथी मिलेर तानसेन नगरपालिका–१ गैरागाउँँमा करूवा उत्पादन गर्ने उद्योग स्थापना गरेका छन् । अहिले ती युवाद्वारा स्थापित उद्योगबाट काँचका करूवा, थाल, गिलासलगायत वस्तु प्रशस्त उत्पादन हुँदै आएको उनले बताए । १२ वर्ष विदेश बसेर फर्केका विश्वकर्मा स्वदेशमा केही काम गर्न पाउँदा उत्साहित भएका छन् । सीप, बीउ पूँजीलगायत सहयोग पाएपछि उद्योग स्थापना गरी काम गर्न थालेको उनले बताए ।

कोरोना सङ्क्रमणको उच्च जोखिमले उत्पादन र उत्पादित सामग्री बिक्रीमा केही समस्या आए पनि अब यसको बजार विस्तार हुने आशामा रहेको जनाइएको छ । तानसेनका पुराना करूवा व्यवसायी केशवमान बज्रचार्यले पाल्पाको पहिचान बोकेको करूवा चिनो रूपमा लैजाने चलन रहेको बताए । सीप, प्रोत्साहन तथा कच्चा पदार्थको अभावमा पाल्पाली करूवा उद्योग सङ्कटमा परेको थियो ।

तानसेनको टक्सार टोलमा पहिले २५ भन्दा बढी करूवा उद्योग सञ्चालनमा रहेपनि पछिल्ला वर्षमा तीनवटामा सीमित भएको थियो । उद्योग कम हुँदा माग अनुसार करूवाको आपूर्ति हुन सकेको थिएन । करूवा बनाउने सीप सिक्न र उद्योग सञ्चालन गर्न इच्छुक व्यक्ति छनोट गरी तीन महीना तालीम दिइएको थियो । तालिमपछि कोही व्यक्तिगत र कोही सामूहिकरूपमा करूवा उत्पादन गरिरहेका छन् । पाल्पाली हस्तकलाबाट निर्मित करूवाको अभाव अहिले हटेको ग्रामीण आर्थिक विकास सङ्घ (रेडा)का कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

पाल्पाको तानसेनमा नेवार, विश्वकर्मा जातिमा मात्र करूवा उत्पादन गर्ने सीप छ । करूवा उत्पादन गर्ने सीप अन्य जाति तथा समुदायमा हस्तान्तरण हुन सकेको छैन । सामाजिक र सांस्कृतिक समस्याका कारण अन्य जातिमा यो सीप पुस्तान्तरण हुन सकेको छैन । पाल्पाली करूवाको आठ दशकदेखिको इतिहास छ । कार्यकारी निर्देशक कार्कीका अनुसार सीप हस्तान्तरण हुन नसक्दा देश–विदेशमा प्रख्याति कमाएको पाल्पाली करूवा अहिले सङ्कटमा छ । कच्चा पदार्थ र कामदार नपाउनु उद्योगको अर्काे समस्या भएको उनको भनाइ छ । “अन्यत्र मेशिनले बनाउँछन्”–उनले भने–“यहाँका उद्योगमा हातैले बनाइन्छ र कुँदिन्छ ।”

उद्योगी उत्तमकुमार बज्राचार्यका अनुसार करूवा उत्पादनका लागि आवश्यक पर्ने कच्चा धातुको अभाव छ । काम गर्ने कामदार पाइँदैन । “सबै विदेश जान चाहन्छन्”–उनले भने–“यहाँ काम गर्न कोही खोज्दैन ।” पाल्पाली ब्रान्डेड करूवा बनाउन कोइला, काँच, तामा र मैन आवश्यक पर्छ। जिल्लामा कच्चा सामग्री नै पाइँदैन । कोइला वनमा पोल्न समस्या छ । भारतबाट समेत कच्चा पदार्थ आउन नसक्दा करूवा उद्योग सङ्कटमा परेको गुनासो उद्योगीको छ ।

साढे दुर्ई सय वर्ष अघि भक्तपुरबाट बसाइँ सरेर तानसेनको टक्सारटोलमा आई धातुका मुद्रा बनाउन शुरू भएको इतिहास पाइन्छ । पछि गएर करूवा र अन्य सामान तयार हुँदै आएका छन् । यहाँ उत्पादित करूवा जापान, अमेरिका, बेलायत, थाइल्यान्डलगायत देश पुग्छ । बाह्य पर्यटक मात्र होइन, आन्तरिक पर्यटकका लागि पनि करूवाले आकर्षण थपेको छ । जोकोही एकपटक पाल्पाली करूवा उत्पादन गर्ने उद्योग पुग्ने गर्छ । यहाँका शाक्य, बज्राचार्यहरू करूवा उत्पादन गर्छन् । पछिल्लो समय ३ हजार ५ सयदेखि १० लाख ५० हजार मूल्य पर्ने करूवा बनिरहेका छन्। युवा पुस्तालाई करूवा उद्योगमा टिकाइ राख्न सके यो उद्योगको संरक्षणमा टेवा पुग्ने विश्वास स्थानीय व्यवसायीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here