कुनै बेला नारायणी अस्पतालको नाम राजधानीबाहिरका अस्पतालमा प्रसिद्ध थियो । तत्कालीन अवस्थामा नारायणी अञ्चलका पाँचवटै जिल्ला र जनकपुर अञ्चलको तराई–मधेस क्षेत्रका बासिन्दाहरूका लागि रोग निदानको एक मात्रै सहारा नारायणी अस्पताल थियो । सीमावर्ती भारतीय क्षेत्रका सेवाग्राहीहरू ठूलो सङ्ख्यामा यहाँ आउँथे । भौतिक पूर्वाधार र स्रोत साधन अहिलेको जति सम्पन्न नभए पनि अस्पतालको सेवा साथै व्यवस्थापन पक्ष मजबूत थियो । त्यसैको प्रभावले होला अझै पनि पर्सा, बारा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय क्षेत्रबाट सर्वसाधारण बिरामी अझै पनि नारायणीमा आउने गर्छन् । चितवन, मकवानपुरलगायत धनुषा पूर्वका बिरामीहरूले हाल अन्यत्रै उपचार स्थलको विकल्प पाएका छन् । पछि जन्मिएका स्वास्थ्य संस्थाहरूले उल्लेखनीय प्रगति गर्दा नारायणीले भने स्तरमा प्रगति भएपनि गुणस्तरमा प्रगति गर्न सकेन । त्यो क्रम पछिल्लोपटक आएर केही सुधारोन्मुख छ ।
नारायणी अस्पतालको गुणस्तर खस्कनुमा मुख्य एउटा मात्रै कारण छ, त्यो राजनीतिक हस्तक्षेप हो । व्यवस्थापन समिति गठनमा राजनीतीकरण, अस्पतालको तर्फबाट हुने कर्मचारी एवं स्वास्थ्यकर्मी नियुक्तिमा राजनीतीकरण, मेसुको नियुक्ति प्रक्रियामा नै राजनीतीकरण । यसो भएपछि यहाँ गाईले पुच्छर हल्लाउनेभन्दा पनि पुच्छरले गाई हल्लाउने क्रम शुरू भयो । राजनीतिक दलका नेताहरूलाई अस्पतालको कर्मचारी बनाएपछि त्यो स्वाभाविक नै हो । ‘गुणस्तरीय सेवा हुनुपर्छ’ भन्ने भन्दा पनि ‘मेरो मान्छे जसरी पनि हुनुपर्छ’ भन्ने ध्येयमा राजनीतिक दलका ठूला नेताहरू पनि लागिपरे । फलस्वरूप अस्पतालमा चेन अफ कमान्ड रहेन र अराजकताले जरा गाड्यो । अस्पतालको स्टोरमा रहेका सामान चोरी हुने, चिकित्सक तथा कर्मचारीबीच अस्पताल परिसरमा नै कुटाकुट हुने, फार्मेसीमा औषधि हुँदाहुँदै पनि बिक्री नगरिने, अस्पतालमा रहेको एक्स–रे मेशिनलगायतका उपकरणहरू सञ्चालन नगरेर मुसाको गुँड बनाउने, अस्पतालमा आएका रोगीलाई अस्पतालमा नै कार्यरत व्यक्तिहरूले दलाली गरेर निजी अस्पतालमा पु¥याएर ठगी गर्ने जस्ता कैयन विकृतिहरू नारायणी अस्पतालमा देखिए ।
केही समययता अस्पताल सुधारका प्रयासहरू शुरू भएको छ । कोरोनाको पहिलो र दोस्रो लहरताका नारायणीको सेवालाई धेरै खोट लगाउने ठाउँ छैन । त्यसपछि पनि चौतर्फी सुधारका निम्ति अस्पतालको नेतृत्व तहले तीनै तहका सरकार र दाताहरूसँग समन्वय गरेर प्रयास गरिरहेका छन् । हालै अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन भयो । आवश्यक वार्डहरूमा सहज तरीकाले पु¥याउन सकिने र अस्पतालका लागि पर्याप्त अक्सिजन पुग्नेगरी प्लान्ट जडान गरिएको छ । यो एउटा महŒवपूर्ण उपलब्धि हो । जुनसुकै प्रकृतिका बिरामीको पनि जटिल अवस्थामा श्वासप्रश्वास क्षमता ह्रास हुने हुँदा कोरोना वा फोक्सोका बिरामीका लागि मात्र नभएर सबै खाले बिरामीका लागि अक्सिजन आवश्यक पर्न सक्छ । त्यही अक्सिजनको अभावमा कोरोना सङ्क्रमित धेरैजनाले ज्यान गुमाए । तर स्रोत–साधनको उपलब्धताले मात्रै हुँदैन, त्यसको सदुपयोग महŒवपूर्ण पक्ष हो । यो प्लान्ट पनि भोलिको दिनमा फार्मेसी र एक्स–रे मेशिन जस्तो नहोस् । त्यसको लागि अस्पतालको नेतृत्वको निरन्तर प्रयास र दलीय नेतृत्वको प्रतिबद्धता जरुरी छ ।