स्वार्थको राजनीति, कोरोनाको कहर र तीज

1
111
  • वैधनाथ ठाकुर

२०७८ सालको भाद्र १८ गतेसम्म आइपुग्दा कोरोना अर्थात् कोभिड–१९ को पहिलो र दोस्रो भेरिएन्ट नेपाली जनताले झेीलसकेको छ । यसबीच कोरोना बाट दश हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । तर यति बेला कोरोनाको अवस्थामा निकै सुधार देखिएको छ । निषेधाज्ञा हटिसकेको छ ।

करीब चालीस प्रतिशत नेपालीले भ्याक्सिन लगाइसकेका छन् । बजार पूर्णरूपमा खुलिसकेको छ। विद्यालयहरू पनि क्रमशः खुल्दैछन् । दुई तिहाई नेपालीको शरीरमा भ्याक्सिन नलगाए पनि इम्युनिटी (प्राकृतिकरूपमा रोग प्रतिरोधक क्षमता ) बनिसकेको कुरा सरोकारवाला निकायको एक सर्वेक्षणबाट उजागर भएको छ । पोहोर सालको भन्दा यति बेला अवस्थामा निकै सुधार देखिएको भए तापनि अझै सामाजिक दूरी, मास्क तथा सेनेटाइजर प्रयोग गर्ने सवालमा पूर्ण सतर्कता आवश्यक छ भन्ने कुरा विज्ञहरूले बताएका छन् । यसतर्फ जति गम्भीर हुनुपर्ने हो त्यति गम्भीरता नलिएको जनसमुदायको व्यवहारले देखाएको छन् ।

कोरोनाजस्तै नेपालको राजनीतिमा पनि निकै डरलाग्दो अध्यायको पहिलो चरण समाप्त भएको छ । दुई–तिहाई बहुमतको वामपन्थी सरकार सत्तारूढ पार्टीकै नेताहरूको व्यक्तिगत तुच्छ स्वार्थले गर्दा ढलेको छ । सरकारको अवसानले एउटा कुरा प्रमाणित गरेको छ कि माधव नेपाल, प्रचण्ड वा ओली लगायत सबै संसद्वादी नेताहरू बुर्जुवा नेता मात्रै हुन् । यिनीहरू कोही पनि कम्युनिस्ट त के वामपन्थी पनि होइनन् ।

अहिले काङ्ग्रेसको नेतृत्वमा सरकार गठन भएको छ जसले अझसम्म पूर्णता पाउन सकेको छैन । एमसिसी विवाद तथा चीनसँग सीमा विवाद उठान गरेर यो सरकार आफैं अनिश्चिततातिर बढेको प्रस्टै छ । नेपाली राजनीतिमा जति परिवर्तन भएको भनिए पनि नेताहरूको पुरानो पद/पैसामुखी प्रवृत्तिमा परिवर्तन हुन नसक्दा मुलुक अझै सम्पूर्णरूपमा पछाडि परेको छ ।

जेहोस् कोरोनाको तेस्रो भेरिएन्ट युरोपमा आइसकेको हुनाले त्यो ढिलोचाँडो भारत हुँदै नेपाल पनि आउने कुरा पक्का छ । यस्तोमा एकातिर नेपाल सरकारले २५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा भेला नहुने भनिरहेको छ भने अर्कोतर्फ निकै भीडभाड गरी मनाइने महिलाहरूको चाड ‘तीज’ आजको ५ दिनपछि आउँदै छ । पोहोरको तीज कोरोनाले गर्दा साह्रै खल्लो बनायो भनेर दुःख जाहेर गर्ने महिलाहरूको कमी छैन ।

यस पालिको तीज पनि आआफ्नो घरमा मनाउँदा बुद्धिमानी हुने धारणा सार्वजनिक भइरहेको बेला भदौको पहिलो हप्तादेखि नै तीजको रमझमले महिलाहरूलाई छोइसकेको छ । आउनुस् तीज पर्वबारे केही छलफल गरौ–

मानव समाजमा खासगरी नारी सत्ताच्युत भएपछि पुरुषले आफ्नो हैकम कायम गरेपछि तिथिमिति भन्न नसकिए तापनि प्राचीनकालदेखि मनाइँदै आएको अनेकौं पर्वहरूमध्ये तीज पनि एक हो । यो पर्व जति धेरै धार्मिक छ, त्यसभन्दा बढी नारीहरूले पुरुषको दासत्व स्विकारेको अवस्थाको द्योतक पनि हो । भनिन्छ यो त्यस्तो पर्व हो जसले नारीहरूको सन्ताप हरण गर्छ, यद्यपि सत्यताको कसीमा यो गलत साबित भएको छ ।

त्यसो त सनातन हिन्दू परम्परामा नारीको स्थान अस्पष्ट र विरोधाभासपूर्ण छ । एकातिर नारी शक्तिलाई नै आदि–शक्ति र मातृशक्ति भन्दै पूजा–अर्चना गरिन्छ । ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ । अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू विचरण गर्छन् भनिन्छ । अर्कोतिर तीजजस्तो पर्वमा पतिलाई भगवान् मानेर पुज्ने र उसैको चरण पखालेर जल आचमन गर्ने परम्परा देखिन्छ । यस्तो हुनुको मुख्य कारण पतिलाई देव मान्ने अर्थात् पतिदेव हो भन्ने बुझाइले हो ।

संस्कृतिलाई मानव निर्मित प्रकृति मान्ने हो भने परम्परागत पर्वबाट एकाएक विमुख हुन न ठूलो समूह राजी हुन्छ, न आम जनताको नजरमा सान्दर्भिक देखिन्छ । परन्तु हाम्रा पर्वहरूबारे अनेक धार्मिक कहानी र कहावत जोडेर यसको महŒव र आवश्यकता तथा यसबाट हुने फाइदा बारे कपोलकल्पित, अन्धविश्वासी व्याख्या, विश्लेषण जति धेरै गरिएको छ त्यस अनुपातमा यसमा गर्नुपर्ने परिमार्जनबारे यथोचित बहस गरिएको देखिन्न ।

वास्तवमा परिवर्तित सन्दर्भ र समय सापेक्ष बहसको उठान भए मात्र यस्ता पर्व मनाउनुको उपयुक्तता, सहजता, उपादेयता र आवश्यकता वा औचित्य पुष्टि हुन सक्छ र समयानुकूल परिमार्जनबारे पनि जनमानसलाई एकमत गर्न सकिन्छ । औचित्यको बहस नहुनु भनेको वा बहसको निषेध गर्नु भनेको समयक्रममा पर्वलाई अलोकप्रिय बनाउनु हो । समयमैं ध्यान पुगेन भने तीजपनि पहिले महिलाहरू मनाउँथे भन्ने कुरा मात्रै बाँकी रहने छ ।

अन्धविश्वासी सांस्कृतिक परम्परा ः

त्यसो त कुनै पनि संस्कृतिको जरा समाजको नसानसामा फैलिएको हुन्छ, समाज विकासका अनेक चरण पार गर्दै निर्माण भएको हुन्छ । संस्कृति, जसलाई परित्याग गर्न जनमानस हतपत तयार हुँदैन । विकल्प भएमा सहजता हुन सक्छ भन्ने मत राख्नेहरूदेखि एउटा नभत्काई अर्को निर्माण हुनै सक्दैन भन्नेहरूबीच मतैक्य छैन ।

सर्वसाधारणले मानिरहेको पर्व ‘जुद्धको बेला बुद्धको पुराण’ प्रतीत भए भने विकल्पसहित तयार हुन्छन् भन्ने धारणा पनि उत्तिकै बलशाली छ । फेरि एउटा चरणमा पर्वहरूले निकै सकारात्मक योगदान गरेको र परोक्षतः अहिले पनि तिनको औचित्य धेरथोर देख्नेहरू पनि यहीं छन् ।

तीजकै दृष्टान्त दिने हो भने पनि समाज परिवर्तनमा तीजमा गाइएका गीतले उल्लेख्य जनजागरण ल्याएको र पुरातन समाज रूपान्तरणमा किञ्चित भूमिका निर्वाह गरेको कुरा नकार्न सकिन्न । जहाँसम्म तीजको परम्पराको धार्मिक पाटो छ, यो भने महिलाहरूलाई चरणकी दासी बनाउने खालको छ ।

वास्तवमा महादेवलाई पति पाउनका निम्ति पार्वतीले खेपेका दर्जनौं हण्डर, गरेका स्तुति र प्रार्थना तथा निराहार उपवास बसेका वृत्तान्तको समष्टिरूप नै हो– तीज । अनगिन्ती बुहार्तन झेलेर पतिको सुस्वास्थ्य, दीर्घायु तथा प्रगति, समृद्धिको कामना गर्ने चाड हो यो । यसको जरासम्म पुग्ने हो भने महिला दासी र पुरुष मालिक हो भन्ने पुरातन मान्यतालाई स्थापित गराइराख्नु र मलजलसमेत गर्नुमैं छ तीजको मूल ध्येय । तीजमा गाइने अधिकांश गीतहरूले पनि सासू, नन्द, भाउजू आदिले दिएका सासना मात्र अभिव्यक्त हुन्छन्, परन्तु पुरुष उत्पीडनबारे ती मौन देखिन्छन् ।

यस्तो भान हुन्छ– ‘नारीको शत्रु नारी’ पुरुष चाहिं पानीमाथिको ओभानो । संरचनागतरूपमा नै यस्तो मनोविज्ञान तयार गरियो कि पुरुष संरक्षक र विघ्नहर्ता हो । पूँजीवादले निमोठेको गला– सामन्तवादको पतनसँगै त्यसले गर्ने गरेका कुकृत्यको सोलोडोलो जिम्मा विकृत पूँजीवादले लिएको छ । हिजो दास बनाइएका चेलीहरू घरायसी चौघेराबाट बाहिर त आएका छन् परन्तु उनीहरूलाई विज्ञानपनको माध्यम र क्रयविक्रयको साधन बनाइएको छ, जसलाई ठूलो महिला जनमतले मनन गर्न सकेको छैन ।

द्रव्यभन्दा माथि दया छैन भन्ने मान्यता समाजमा प्रतिस्थापित गर्नु र हरेक वस्तुलाई सौदा वा द्रव्यमा परिणत गर्नु पूँजीवादको मूल ध्येय हो । भावना, माया, मानवता, सम्बन्ध, आफ्नो–विरानो भन्ने कुरा पैसामा लगेर जोडिदिने काम गरेको छ, पूँजीवादले हाँस्न, रुन वा आत्महत्या गरी इहलीला समाप्त गर्न स्वतन्त्रता दिएको छ ।

यतिबेला हाम्रो समाजमा छोराछोरी, पतिपत्नी, आमाबुवा, साथीभाइ लगायत सबै नाताहरू समेत बलियो र प्रगाढ बन्ने कि कमजोर भई औपचारिकतामा सीमित रहने भन्ने कुरा पनि पैसाले नै तय गर्न थालेको छ । पैसा दिनुस् सबै खुशी, होइन भने अनावश्यक मनमुटाव बढ्दै गएको देखिन्छ ।

तीज पूँजीवादको नग्न प्रदर्शनका रूपमा अघि आएको छ । एकातिर महिलाहरूले आफ्ना गहना–गुरिया प्रदर्शन गरेर गौरवशाली महसूस गर्ने र तिनका पति वा परिवारका सदस्यहरू त्यसैमा गर्व गर्ने परम्पराले मलजल प्राप्त गर्दै आएको छ भने सञ्चार माध्यमहरू तिनैका तस्वीर तथा भिडियो कैद गर्न र प्रचार गर्न व्यस्त छन् ।

नागपञ्चमीदेखि नै पार्टी प्यालेस र रेस्टुरामा मदिराका प्यालासँग झुम्ने महिलाहरूद्वारा अपहरित तीजले नारीको पीडा, वेदना, रोदन र क्रन्दनलाई गीतद्वारा अभिव्यक्त गर्ने प्रचलन क्रमशः भड्किला परिधानमा नृत्य गर्ने छाडा गीतमा रूपान्तरित भएको छ । दशैं पन्द्र दिन मनाइन्छ, तिहार पाँच दिन तर तीज कति दिन मनाइन्छ भन्नेसम्मका सवालहरूले समाजिक सञ्जालका भित्ता पोतिएका छन् ।

कसैकसैको त पैसा उठाएर पार्टी आयोजना गर्ने धन्दा नै चलेको छ । भ्रष्टाचार, ठगी, छलछाम गर्नका निम्ति यसले अभिप्रेरित गरेको छ भने तिनैको शानशौकत बढाउने र कालोधनलाई उजिल्याउने काम पनि भएको छ, तिजलाई बैसाखी बनाएर । पूँजीवादले आफ्नो बजार विस्तार गर्ने एउटा उत्तम अवसर बनाएको छ, तीजलाई ।

शहरभरि दर्जनौं कार्यक्रम गरिन्छ तर ती सबैमा केही सम्भ्रान्त महिलाको अनुहार उपस्थित देखिन्छ । शिव–पार्वतीको किम्बदन्ति कथासँग जोडिएको यो अन्धविश्वासी परम्परा यतिकै हाम्रो समाजबाट बिदा हुनेवाला छैन । बरु हिजोआज के सम्म भन्न थालिएको छ भने पुरुषहरूले पनि तीज गर्दा हुन्छ ।

कसरी अगाडि बढ्ने ?

भनिन्छ, चोर साधु भएपनि चोरी गर्न छोड्दैन । अर्थात् एकाएक जजसलाई तीजले सार्वजनिक सञ्चार माध्यममा बढी महŒव दिएको छ, कालोधन एकाएक सेतोमा परिणत गराइदिएको छ, शान र मान बढाएको छ, तिनले यो परम्परा अक्षुण्ण राख्न हरसम्भव प्रयास गर्ने नै भए । तीजको पक्षमा तर्क भन्दा कुतर्क नै बढी दिएर भएपनि यसलाई मनाउने नै भए । परन्तु जसले एक दशकभन्दा बढी सामाजिक विकृति र विसङ्गति विरुद्ध निर्मम सङ्घर्ष गरे, माक्र्सवादका मोटा मोटा ठेलीहरू पढे तिनीहरू समेत यही भुलभुलैयामा परिराखेका छन् र सामन्तवादले तयार गरेको दलदलमा फसिरहेछन् ।

जुन मूल्य, मान्यताका विरुद्ध हजारौंले जीवन उत्सर्ग गरे, तिनकै बलिदानपूर्ण इतिहास निर्मातालाई तिनका गुरुहरूले अपमान गरिरहेछन् र तिनले देखाएको बाटोको खिसिट्यूरी गरिरहेछन् बाँचेका सहयात्री कामरेडहरू । यो एउटा रूपान्तरणको अभियानविरुद्ध भद्दा मजाक हो। हामीबीच देखिएको विभेदको गुढ रहस्य पत्ता लागिसकेपछि त्यसको निराकरणका निम्ति पाइला चाल्न नसक्नु नै अहिलेको मूल समस्या हो । उदारवादी हुने नाउँमा भुइँको टिप्न खोज्दा पोल्टामा भएको गुमेको हेक्का नभएका कामरेडहरूले आफैं आफ्नो तेजोबध कति गर्ने हो, पैसा र पदको पछाडि भागेर ?

आफ्नै पार्टीको दुईतिहाईको सरकार ढाल्ने र जे जस्तो भएपनि सत्ता नछाड्ने अस्वस्थ प्रतिस्पर्धामा लागेर जन–विश्वास समाप्त पार्नुभन्दा समाजवाद उन्मुख आर्थिक, राजनैतिक, संस्कृति र पर्व निर्माणमा जुटेको भए अहिले काङ्ग्रेसको खुट्टामुनि छिर्नुपर्ने अवस्था आउने थिएन । जनताले चुनावमार्फत जाहेर गरेको मत एमाले तथा माओवादी नेताहरूले जोगाउन नसक्दा आज परिस्थिति ठीक उल्टो हुन पुगेको मात्रै होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै उपहास हुन पुगेको छ ।

त्यसैले समय रहँदै यदि नेताहरूले यसतर्फ ध्यान पु¥याउन सकेनन् भने तराईमा जुडशितल अर्थात् हिलो छ्याप्ने, गणेश चौथीमा चकचना माग्ने, फागुमा मृदङ्ग बजाई सम्मत उडाउने, दशैंमा झिझिया, अल्हारूदल, सोरठी–बृजभार, सुरमा सहलेस, सामा–चकवालगायत सबै संस्कृति लोपोन्मुख भएजस्तै तीज पनि भोलिको दिनमा लोपोन्मुख अवस्थामा पुग्नेछ ।

चाडपर्वको नाममा बढ्दो तडकभडक, फजुल खर्च तथा देखासिकीले हाम्रा चाडबाड, परम्परा र संस्कृति धान्ने भन्दा विकृति, विसङ्गति र अपराध उन्मुख भइरहेका बेला हाम्रो चाडबाडमा समयानुसार सुधार तथा परिमार्जन गर्ने आवश्यकता मात्रै होइन, साह्रै ढिलो पनि भइसकेको छ। त्यसैले तीजमा परिमार्जन गर्न जरूरी छ, अनि मात्र तीज आम महिलाको पहुँचभित्र रही हर्ष र उल्लासमय ढङ्गले मनाउने संस्कृतिका रूपमा चिरकालसम्म सामाजिक धरोहर हुनेछ ।

यसलाई भेटघाट, नाचगान र कमभन्दा कम खर्चिलो चाडको रूपमा विकास गर्न चौतर्फी प्रयास गरिनुपर्छ । यसका लागि आफूलाई वामपन्थी भन्न रुचाउने महिला कामरेडहरूले तीजको लहलहैमा तडकभडकमा लाग्दै महीनौं दर खाएर दिन बिताउने कि समाजवादमुखी तीज बनाउन ध्यान दिने त्यो आगामी दिनले नै बताउला ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here