जलेश्वर, ३१ साउन/रासस
भदौको तृतीयादेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक देखिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरूपमा बर्सेनि मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको सुरुआत भएसँगै सम्पूर्ण मिथिलाञ्चलमा रौनक देखिन शुरू भएको मटिहानीका स्थानीय बासिन्दा शङ्कर मण्डलले बताए ।
आउँदो पूर्णिमासम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिने गरिन्छ । महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र बिहारका विभिन्न मठमन्दिरमा झुला पर्व धूमधामका साथ मनाइने परम्परा छ ।
झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्ननाथ दास वैष्णवले बताए। भगवान् रामसीता साउन महीनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ ।
सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिएको छ । मेला हेर्न र भगवान् रामसीताको झुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुको भीड लाग्ने गर्दछ । सांस्कृतिक परम्पराका रूपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायणलगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ ।
मिथिला क्षेत्रमा रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनक शुरू हुन्छ । प्रत्येक मठमन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँँघरका र वरपरका श्रद्धालु जम्मा हुने, भजनकीर्तन गर्ने, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।
झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्न्यासीले आफ्ना आराध्य खेलाइ झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रूपमा मनाइन्छ । मटिहानीमा झुला पर्वको आकर्षणका लागि यसपालि त्यहाँ सर्वसाधारण बालबालिकालाई पनि झुलाको आनन्द लिन मेशिनमा चल्ने झुलाका साथै ठूलो मेलाको आयोजना गरिएको छ ।
महोत्तरीको मटिहानीसहित तराई–मधेसका अधिकांश जिल्लामा झुलनोत्सव पर्व मनाइने चलन छ भने भारत बिहारको सीतामढी, मधुबनी, मुजफ्फरपुर, दरभङ्गा र पटनासम्म यस पर्वको रौनक छाएको छ ।