• वैधनाथ ठाकुर

एउटा आम मान्यता के हो भने मानिसहरूले सत्यभन्दा झूटो छिटो स्वीकार्दो रहेछ अर्थात् प्रत्येक समाजमा झूटोमाथि विश्वास गर्नेहरूको सङ्ख्या सर्वाधिक भेटिन्छ । जबकि तिनै मानिसहरूले सत्यलाई झूटो भन्दै स्वीकार्दैनन् ।

उदाहरणको लागि दुईवटा कुरालाई लिऔं, पहिलो– सिद्धान्त कुनै पनि खराब हुँदैन । मानिसहरू नै असल र खराब हुन्छन् । दोस्रो– सिद्धान्त नै खराब वा असल हुन्छ । मानिसको त्यसमा त्यतिधेरै भूमिका हुँदैन । अब यी दुई कुरालाई वास्तविकताको कसीमा कसौं । कुन ठीक हो ? पहिला वा दोस्रो ?

पहिलो कुरा सिद्धान्त सबै राम्रा हुन्छन् । असल वा खराब मानिस मात्र हुने हो भन्ने कुराले वास्तवमा खराब कुराहरू असल हुन्छन् भनेर त्यसमाथि सत्यताको जलप लगाइएको छ । कुनै पनि सिद्धान्त मानव समाजको विकाससँग सम्बन्धित हुने गर्दछ । यदि सिद्धान्त नै खराब छ भने मानिसहरू जतिधेरै असल भएपनि अन्ततः उनीहरूबाट खराब कुराहरू नै समाजले पाउने गर्दछ । त्यसलाई अझ प्रस्टसँग बुझौं ।

एउटा पूँजीवादी व्यवस्थामा कायम रहेको आर्थिक व्यवस्थाले देशलाई धनी देशको रूपमा उभ्याउन सफल भए तापनि त्यहाँ बसोबास गर्ने धेरैजसो मजदूर पुस्तौंपुस्ता विकासको साझेदारीबाट टाढा नै रहनुपर्ने हुन्छ । मानिसद्वारा बनाइएका शोषणका विभिन्न औजारले केवल पूँजीपति वर्गलाई माथि उठाउने काम गर्छ ।

त्यस अवस्थामा शासकको रूपमा जुनसुकै मानिस आए पनि उसले मजदूर वर्गको जीवनमा आधारभूत रूपान्तरण ल्याउन सक्दैन । किनभने सत्ताको चरित्र नै पूँजीवादी छ । फलस्वरूप सत्ताबाट अत्यधिक लाभान्वित पूँजीपति वर्ग नै हुन्छ। यस्तो अवस्थामा शासक वर्ग अलिक उदारवादी स्वभावको छ भने आंशिकरूपमा मजदूर वर्ग पनि कतिपय सवालमा लाभान्वित होलान् तर अंश भनेको अंश नै हो, यसलाई पूर्ण मान्न सकिंदैन ।

यही कारण हो कि भारत वा नेपालमा राजनीतिक क्रान्ति पटक–पटक भए तर आधारभूतरूपमा भारत र नेपालका श्रमिक वर्गको जीवनस्तर माथि उठ्न सकेन । दिन प्रतिदिन गरीब र धनीबीचको खाडल गहिरो हुँदै गयो । दुई वर्षको फरकमा भारत र चीनले आफ्नो देशमा क्रान्ति सम्पन्न गरे तर दुवै देशको अर्थव्यवस्था तथा राजनीतिक व्यवस्थाबीचको फरकले गर्दा विकासको कुरा, जनताको सहभागिता र पहुँचको आधारमा तुलना नै गर्न नसक्ने अवस्थामा चिनियाँ सिद्धान्त र भारतीय सिद्धान्तबीच देखिन्छ ।

त्यसैले दोस्रो कुरा मानिसभन्दा पनि असल वा खराब सिद्धान्त नै हुने गर्छ भन्ने कुरा ठीक हो तर यसको पक्षमा धेरै मानिस उभिएको देखिंदैनन् । यहाँनिर विचारणीय कुरा के छ भने कुनै पनि मानिस असल हो वा खराब त्यसलाई छुट्याउने आधार के हो ? मानिसले गर्ने व्यवहारलाई नै हेरेर त्यो व्यक्ति असल वा खराब भन्ने गरिन्छ ।

अब यहाँ प्रश्न उठ्छ व्यवहार के हो ? व्यवहार भनेको उसले अँगालेको सिद्धान्तकै अभ्यास हो । यदि उसको सिद्धान्त ठग्ने, धोका दिने, लुट्ने, अनियमितता गर्ने रहेको छ भने उसको व्यवहार कदापि इमानदार, सहयोगी, विश्वासयोग्य हुँदैन । यदि उसले आफ्नो सिद्धान्तविपरीतको व्यवहार प्रदर्शन गरिरहेको छ भने निस्सन्देह त्यहाँ पनि ठगी प्रकरणकै कुनै जाल लुकेको छ, जुन निकट भविष्यमा देखिनेछ ।

एक छिन अब हामी हाम्रो आफ्नै देशको कुरा गरौं । जङ्गबहादुर राणाले जारी गरेको मुलुकी ऐनदेखि लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा हेर्दा प्रत्येकचोटिको कदमलाई प्रायः अग्रगमन नै भनियो । देश र जनताको हित उन्मुख राजनीतिक व्यवस्था नै भनियो । तर कहिले पनि आजसम्म नेपालका भूमिहीन, गरीब, मध्यम किसान तथा मजदूरको जीवन निर्वाहमा सकारात्मक परिवर्तन ल्याउने काम गरिएन ।

लामो समयसम्म समाजका धनाढ्य सामन्तहरूले आफ्नो हातमा सत्ता लिएर आफूअनुकूल राजनीति गरेर दिन बिताए भने पछिल्लो चरणमा जनताको प्रतिनिधिको नाममा गएका जनप्रतिनिधिहरूले पनि सत्ताद्वारा आफ्नो वर्ग परिवर्तन गरी नवधनाढ्य बन्न राज्यद्वारा नै भ्रष्टाचारलाई संस्थागत गर्ने कार्य गरे ।

फलस्वरूप जनताले सामन्तविरोधीको रूपमा पहिचान बनाएको काङ्ग्रेस होस् वा कम्युनिस्ट दुवैलाई पालैपालो सत्तारूढ गराउँदा पनि आत्मनिर्भरताभन्दा बेरोजगारी बढाउने, जनशक्ति विदेश पठाउने र विदेशी परनिर्भरता बढाउँदै लग्ने कार्यले मात्र तीव्रता पायो । यस्तोमा यतिबेला मानिसहरू फेरि उही पुरानो उखान भन्न बाध्य भएका छन्– जुन जोगी आए पनि कानै चिरेका।

भन्नलाई लोकतन्त्रलाई जनताको मतदान वा जनताले चुनेर पठाउने व्यवस्था भएको राजनीतिक शासन प्रणाली भनियो । तर व्यवहारमा मतलाई जातले, भातले, पैसाले, बाहुबलले आदि अलोकतान्त्रिक कार्यशैलीले सधैं प्रभावित गर्दै आएको अब कोहीबाट पनि लुकेको छैन । पहाडीहरूले मधेसीहरूलाई शोषण ग¥यो भनेर मधेसी पार्टी खुले, ठूलो आन्दोलन भयो तर परिणाम के भयो ? हिजो जुन काम पहाडी शासकले गरिरहेको थियो, आज त्यही काम मधेसी शासकले मधेसीको नाममा गर्दैछ ।

गठबन्धन जुन पार्टीको होस्, सत्तामा जुनसुकै पार्टी पुगेको होस् तर अहिलेसम्मको सबै सत्ताधारीको गतिविधि हेर्दा लोकतन्त्र नाममा मात्र सीमित रहेको छ । यथार्थको धरातलमा लोकतन्त्रले सत्तालाई देशमा झन् सजिलो वातावरण बनाइदिएको छ । राष्ट्रको सम्पत्ति लुट्नको लागि लोकतन्त्र साँच्चिकै लुटतन्त्र नै हो कि जस्तो भान हुनु स्वाभाविक हुन्छ । आफ्नै पार्टीको छँदाखाँदाको सरकार लुट्न नपाउँदा विपक्षीसँग मिलेर विपक्षीको सरकार बनाउन सहयोग गर्नु जस्तो अलोकतान्त्रिक काम के होला ? देश र जनताको विकास होइन धनी बन्न लुट्ने अवसर सबैलाई चाहिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here