तुलसीदास ः अद्भुत सङ्घर्षशील–प्रतिभाशाली व्यक्तित्व

0
88
  • सञ्जय मित्र

जीवनमा सङ्घर्ष गर्ने व्यक्तित्वलाई नै दुनियाँले पछिसम्म चिनिरहने हुन्छ । हो, सङ्घर्षको तीन उद्देश्य हुन सक्छ ः निजी प्रयोजन, पारिवारिक प्रयोजन र सामाजिक प्रयोजन । निजी प्रयोजनको लागि सङ्घर्ष भनेको नितान्त वैयक्तिक सङ्घर्ष भयो । घरपरिवार वा समाज कसैको मतलब नराखी आफ्नो इच्छा वा चाहनालाई पूरा गर्न जे गर्नुपर्ने वा जे गर्न सक्ने हो, ती सबै गर्नु निजी प्रयोजनको उद्देश्यले गरिएको सङ्घर्ष हो ।

पारिवारिक प्रयोजन भनेको घरपरिवारका सदस्यसमेतको हितलाई ध्यानमा राखेर गरिने सङ्घर्ष हो, जसमा व्यक्तिको स्वार्थ निहित त हुन्छ तर व्यक्तिभन्दा परिवारको सामूहिक स्वार्थलाई बढी महŒव दिइएको हुन्छ । यसमा जुन व्यक्तिको सङ्घर्ष हुन्छ, उसको त्यागको मात्रा अधिक हुन्छ अर्थात् निजी स्वार्थलाई उतिसारो महŒव नदिएर सामूहिक स्वार्थलाई प्रधानता दिइएको हुन्छ । सामाजिक स्वार्थको अर्थ यो हो कि व्यक्तिले वैयक्तिक तथा पारिवारिक स्वार्थभन्दा माथि उठेर समाज वा राष्ट्रको लागि मूर्त वा अमूर्त काम गर्दछ ।

त्यस्तो सङ्घर्ष जसमा व्यक्तिलाई भन्दा बढी समाजलाई फाइदा पुग्ने हुन्छ र समाजको सामूहिक हित लक्षित हुन्छ, त्यो सामाजिक प्रयोजनको उद्देश्य भएको सङ्घर्ष कहलाउँछ । यस्तै, सामाजिक प्रयोजनको लागि जीवनभर सङ्घर्ष गर्ने अत्यन्त दुर्लभ प्रतिभाशाली व्यक्तित्व हुन्– तुलसीदास ।

तुलसीदासको जन्म कहाँ भएको हो भन्ने विषयमा मतैक्य छैन । यिनको जन्म भारतको उत्तर प्रदेशमा भएको हो भन्नेमा सबै तथ्यले बताएको छ तर गाउँको विषयमा भने विवाद छ । कतिपयले सोरो, कतिपयले कासगंज, कतिपयले बाँदा (चित्रकुट) तथा कपितयले राजापुरमा भएको दाबी गरेका छन् । तुलसीदासको रामायणमा दिइएको जीवनचरित्रमा भने अलिक फरक किसिमले जन्मस्थल किटान गरिएको छ । यमुनाको किनारमा दुबेपुरबा गाउँ जुन अहिले बाँदा जिल्लाको रामपुर नगर हो, त्यही नै तुलसीदासको जन्म भएको बताइएको छ ।

नगरका राजगुरु आत्माराम दुबे तथा हुलसी (माता)बाट तुलसीदासको जन्म सन् १५५४ मा भएको थियो । तुलसीदासको जन्म साउन महीनाको शुक्ल पक्षको सप्तमी तिथिमा भएको मानिन्छ । जन्मस्थलको विषयमा मतैक्य सामान्यतया स्वाभाविक किन हो भने बालकको जन्म आफ्नो घर, मामाघर वा आफन्तकहाँ पनि हुन सक्ने हुन्छ । अहिले पनि आफ्नो घर, नोकरी वा व्यवसाय रहेको ठाउँ, मामाघर वा अलिक टाढाको अस्पताल आदि ठाउँमा हुन सक्छ, जुन स्थायी बसोबास भनेर कागजी प्रक्रियामा उल्लेख गरिनेभन्दा पृथक हुन सक्छ ।

ब्राह्मण परिवारमा जन्मेका तुलसीदासको बाल्यकालको नाम रामबोला थियो । रामबोलाको बाल्यकालमा नै यिनको मातापिताको देहावसान भएपछि सुकरक्षेत्रकै एक साधु नृसिंहदास (नरसिंहदास)कहाँ रहन थाले । त्यहीं लालनपालन भयो । साधुको शिष्य भएर बस्दा रामभक्तिमा मन बसेको हो । रामबोलाको यज्ञोपवीत संस्कार सन् १५६१ को माघ सुदी पञ्चमीका दिन नरसिंहदासले सरयू नदीको किनारमा अवस्थित अयोध्यामा गराउँदा जब आचार्यले गायत्री मन्त्रको उच्चारण गराए, तब तुलसीदासले गरेको उच्चारणको शुद्धता हेरेर हर्षविभोर एवं आश्चर्यचकित भएका थिए ।

यज्ञोपवीतादि संस्कारपछि गुरु र शिष्य काशी (बनारस) पुगे । त्यहाँ आचार्य शेष सनातनको सम्पर्कमा पुगेपछि आचार्यले नै तुलसीदासलाई आफ्नो शिष्य बनाउनको लागि नरसिंहदाससित आग्रह गरे । आचार्यको आग्रहलाई नरसिंहदासले स्वीकार गरेपछि तुलसीदास त्यहीं बस्न थाले । पन्ध्र वर्षसम्म काशीमा रहेर तुलसीदासले शिक्षार्जन गरे । आचार्यको देहावसानपछि अन्तिम संस्कार गरेर आचार्यऋणबाट मुक्त भई जन्मस्थल फर्केका तुलसीदासको विवाह सन् १५८३ को जेठ सुदी त्रयोदशीका दिन यमुनापारिको गाउँमा रत्नावली नामकी कन्यासित भएको थियो ।

भनिन्छ, तुलसीदासको जीवनमा यिनको पत्नीले बोलेको वचनले गम्भीर मोड ल्याएको थियो । यिनको बिहे त भएको थियो तर गौना भने भएको थिएन । एक रात यिनलाई पत्नीको निकै धेरै याद आयो । यिनी राति नै यमुना पार गरेर पत्नीलाई भेट्न पुगे । यमुनामा ठूलो बाढी आएको थियो । के पनि भनिन्छ भने यिनी यमुना पार गर्ने बेलामा पानीमा बगिरहेको एउटा सर्पको सहारा लिएका थिए ।

यमुना पार गरेर जब पत्नीको नजीक पुगे, तब पत्नीले भनिन् ः

लाल न लागत आपको, दौरे आयो साथ ।
धिक–धिक ऐसे प्रेमको, कहा कहहुँ मै नाथ ।।
अस्थि–चर्ममय देह मम, तामें जैसी प्रीति ।
तैसी जो श्रीराम महँ, होत न तव भवभीति ।।

पत्नी रत्नावलीको वचन कुनै बाणभन्दा बढी तीखो लाग्यो, तुलसीदासको मुटुमा । यिनी त्यहाँबाट सोझै घर फर्के र विरक्त भई काशी पुगे । अयोध्या, काशी, प्रयाग र चित्रकुटको भ्रमण गरिरहे । जहाँ पनि रामकै स्मृति हुन्थ्यो । काशीमा रहँदा सदैव गङ्गा पार गरेर नित्यकर्म गर्न जान्थे । उताबाट फर्किंदा जहिले पनि लोहोटामा अलिकति जल लिएर आउँथे र बबुलको रूखमा हालिदिन्थे । के भनिन्छ भने त्यस बबुलको रूखमा एक प्रेतको बास थियो । एक दिन त्यो प्रेतले तुलसीदासलाई भनेछन्– तिमीले गरेको सेवाले म प्रसन्न छु, माग के माग्छौ मसित ?
तुलसीदासले भनेछन्– मलाई श्रीरामको दर्शन गराऊ ।

प्रेतले आफूमा त्यत्ति ठूलो शक्ति नरहेको तर उपाय बताउने बताए । प्रेतले बताए कि फलानो मन्दिरमा हरेक साँझ रामकथा हुन्छ । त्यहाँ कथा सुन्न हरेक दिन सबैभन्दा पहिले आएर सबैभन्दा पछि फर्किने जो फोहोरी मानिस हुन्छन्, उनी हनुमान हुन् । हनुमानले नै तिमीलाई श्रीरामको दर्शन गराउनेछन् ।

तुलसीदास उक्त मन्दिरमा नियमित साँझ जान थाले र प्रेतले बताएको मानिसलाई पहिचान गर्न थाले । उनले चिने पनि । एक दिन सोही मानिसको खुट्टा समाती श्रीरामको दर्शनको अभ्यर्चना गरे । यिनको अभ्यर्चनालाई स्वीकार गरी हनुमानले चित्रकुटमा श्रीरामको दर्शन हुने बताएपछि यिनी चित्रकुट गए ।

चित्रकुटको वनमा एक दिन दुई युवक हरिणलाई लखेट्दै अगाडि बढे । पछाडिबाट हनुमानले आएर सोधे– श्रीराम र लक्ष्मणजीको दर्शन ग¥यौ ? तुलसीदासले आफूले देखेको तर त्यस रूपमा नचिनेको भनी पछुतो सुनाए । हनुमानले धेरै पछुतो नमान्न र श्रीरामको ध्यान गरिराख्ने हो भने भोलि बिहान पनि दर्शन हुने आश्वासन दिए । भोलिपल्ट बिहान नित्य कर्म सिध्याएर तुलसीदास पूजाको लागि चन्दन तयार पारिरहेका थिए । त्यहीं समय एक बालक आएर तुलसीदाससित अलिकति चन्दन माग्छन् । चन्दन माग्ने बालक नै श्रीराम हुनुपर्छ भन्ने भाव मनमा भएर यिनी ती बालकतिर हेरेको हे¥यै हुन्छन् ।

तुलसीदास आफ्नो सुधबुध सबै बिर्सेर बालकतिर हेरिरहेको समय एउटा सुगाले यो श्लोक बोलेको भनिन्छ ः

चित्रकूट के घाट पर, भइ सन्तन की भीर ।
तुलसिदास चन्दन घिसत तिलक देत रघुबीर ।।

तुलसीदासको निधारमा बालकले तिलक लगाइदिए । जब तुलसीदासको सुधबुध आउँछ, तबसम्म बालक हराइसकेका थिए । यिनलाई लाग्यो मैले भगवान्को दर्शन पाएँ । साक्ष्य थियो निधारको चन्दन ।

यस घटनापछि तुलसीदास अयोध्या पुगे र यहीं बसोबास गर्न थाले । जतिखेर पनि मनमा राम नै हुन्थ्यो । भनिन्छ, उनले रामलाई लङ्कामा युद्ध गरेको, रावणलाई मारेको, विभीषणलाई राजा बनाएको, सीता–लक्ष्मण–हनुमानसहित अयोध्या फर्केको र रामलाई राजतिलक गरेको आदि सबै घटनामा आफू नै संलग्न रहेको अनुभूति भएको थियो रे । बाल्यकालदेखि नै रामकथामा रुचि भएको तथा मनमस्तिष्कमा राम नै राम भएपछि तुलसीदासलाई यस प्रकारको अनुभूति भएको हुनुपर्छ ।

सन् १६३१ को रामनवमीको दिनदेखि तुलसीदासले रामायण लेख्न शुरू गरे । दुई वर्ष सात महीना छब्बीस दिन लगाएर लेखेको रामायण सन् १६६३ को विवाह पञ्चमीको दिन पूरा भयो । यिनले लेखेको रामायणको नाम श्रीरामचरितमानस राखे ।

आफूले सिर्जना गरेको श्रीरामचरितमानसलाई आगन्तुक तथा स्थानीयलाई सुनाउन थाले । मुख्यतः काशीमा सुन्नेले प्रशंसा गर्न थाले तर त्यहाँका परम्परागत व्याख्याता, पण्डित तथा अन्यलाई भने त्यो पचेन । कतिपय ब्राह्मणलाई नै तुलसीकृत रामायण ढोङ हो भन्ने लागेको थियो । कतिपयले यस रामायणको विषयमा दुष्प्रचार पनि गरे । कतिपयले त्यसलाई चोर्ने तथा नष्ट गर्ने दुष्प्रयास पनि गरेका थिए ।

तुलसीदासले विभिन्न रचना र मुख्य गरी रामसँग सम्बन्धित रचनाका कारण प्रख्याति कमाउन थालेपछि यिनलाई अनेक किसिमले कष्ट पु¥याउने काम पनि भएको थियो । अयोध्यामा कलहकै कारण बस्न नसकेका तुलसीदास काशीमा पनि अनेक कष्ट झेले । यिनी बस्ने घरमा कहिले चोरी हुन्थ्यो, कहिले धम्की आउँथ्यो, कहिले यिनलाई ठग्थे, कोही बेइमानी गरिदिन्थ्यो, कहिलेकाहीं त यिनीसित मारपिट पनि हुन्थ्यो । यसै कारण काशीमा पनि यिनी एक ठाउँमा बसिरह्न सकेनन् । कहिले अस्सीघाट (अहिले तुलसीघाट जसलाई भनिन्छ), कहिले गोपाल मन्दिर, कहिले प्रह्लादघाट त कहिले सङ्कटमोचन मन्दिरमा यिनी बसेर सिर्जन तथा भजनमा लीन रहे । जीवनको अन्तिम सास यिनीले अस्सीघाटमा नै छोडेका हुन् ।

तुलसीदासलाई अमर बनाउने कृति नै श्रीरामचरितमानस हो । यिनले धेरै कृतिको सिर्जना गरेका छन् । यिनलाई भक्तिसाहित्यको नायक पनि भन्न सकिन्छ । यिनले रामचरितमानस, रामललानहछू, वैराग्य–सन्दीपनी, बरवै रामायण, पार्वती–मङ्गल, जानकी मङ्गल, रामाज्ञाप्रश्न, दोहावली, कवितावली, गीतावली, श्रीकृष्ण गीतावली, विनय पत्रिका, सतसई, छन्दावली रामायण, कुण्डलिया रामायण, रामशलाका, सङ्कटमोचन, करखारामायण, रोला रामायण, झुलना, छप्पय रामायण, कवित्त रामायण, कलिधर्माधर्म निरुपण, हनुमान चालीसा आदि कीर्तिको सिर्जन गरेको मानिन्छ ।

अद्भुत प्रतिभाशाली तथा कल्पनाशीलताका विभूति तुलसीदासको विषयमा के पनि भनिन्छ भने जहाँ रामायण लेखनमा कुनै बाधा वा समस्या आउँथ्यो, त्यहाँ हनुमान स्वयं उपस्थित भई ती बाधा वा समस्यालाई समाधान गर्दथे । सपना वा विपनामा विभिन्न देवदेवीले तुलसीदासलाई स्वयं दर्शन दिने गर्दथे । उत्तर भारतीय साहित्य तथा लोकजीवनमा रामचरितमानस अत्यन्तै लोकप्रिय भएपछि कतिपयले तुलसीदासलाई वाल्मीकिको दोस्रो अवतारको संज्ञा पनि दिएका छन् ।

संस्कृत तथा हिन्दी साहित्यका विज्ञसमेत मानिएका तुलसीदासलाई क्रोधहीन, सहनशील, सन्तोषी तथा शान्तिप्रिय सर्जक व्यक्तित्वको रूपमा पनि चिनाइन्छ । अत्यन्त सुन्दर अक्षर लेख्ने तुलसीदासको जीवनचरित्र अत्यन्त उतारचढावपूर्ण रहेको छ । उनले अनेक किसिमले सङ्घर्ष गर्नुपरेको यथार्थ हो । सङ्घर्षले गर्दा नै तुलसीदासको प्रतिभाको विद्याको केन्द्र काशीमा प्रतिष्ठा प्राप्त हुन सकेको थियो ।

सङ्घर्ष, सङ्घर्ष र निरन्तर सङ्घर्षले आफूलाई तत्कालमा नै प्रतिष्ठित बनाएका तुलसीदासको जीवन र रचनाको विषयमा अनेक किंवदन्ती तथा मिथकहरू प्रचलनमा आइसकेका छन् । आफ्नो जीवनको बारेमा कुनै रचनामा प्रकाश नपारेका तुलसीदासको देहान्त एक सय छब्बीस वर्षको उमेरमा सन् १६८० मा साउन महीनाको कृष्ण तृतीयाको दिन काशीकै अस्सीघाटमा भएको थियो । उनी आफ्ना सिर्जनाका कारणले देवताजस्तै पूज्य बन्न पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here