- विश्वराज अधिकारी
जनता र शासक कुनै पनि राष्ट्रको आर्थिक विकासका दुई सर्वाधिक महŒवपूर्ण कारक पक्ष हो । गरीब वा धनी, कुनै पनि देशको आर्थिक विकासमा यी दुई पक्षको ठूलो योगदान रहेको हुन्छ । जनता शिक्षित छ, उदार छ, विकासको लागि स्वयं अग्रसर छ भने विकासको कार्य सहज हुन पुग्छ । तर यसविपरीत यदि जनता अशिक्षित छ, अनुदार छ, विकासको लागि आफू होइन, सरकार वा अर्को पक्षलाई जिम्मेवार देख्छ, शान्ति होइन सङ्घर्षमा विश्वास गर्छ भने त्यस्तो स्थितिमा विकास कार्य कठिन हुन पुग्छ ।
यस तथ्यको उदाहरणको रूपमा अफगानिस्तान, नाइजेरिया, सुडान, इथियोपिया, लिबिया, यमन, लेबनान, नेपालजस्ता राष्ट्रहरूलाई लिन सकिन्छ । अफगानिस्तान वर्षौदेखि अशान्त छ। अफगानिस्तानमा कहिले शान्ति आउन सकेको छैन । अफगानीहरू युद्ध विभीषिकामा बाँचेको तीसौं–चालीसौं वर्ष भइसक्यो । हालमा अमेरिकाले आफ्नो सेनाले अफगानिस्तान छाड्ने घोषणा गरेदेखि तालिबानी विद्रोहीहरूले अफगानिस्तान सरकारमाथि हमला अति तीव्र पारेका छन् । आफ्नै देशवासीलाई मार्न तालिबानी लडाकूहरू अहिले मस्त र व्यस्त छन् । तालिबानी लडाकू हुन् वा अन्य विद्रोही अफगानी नेता, यिनीहरूले शान्तिपूर्वक बस्न चाहने सोझा अफगानलाई कहिले शान्तिपूर्वक बस्न दिएका छैनन् ।
अफगानिस्तानका विद्रोही नेताहरूले कहिले रूससँग त कहिले अमेरिकासँग मिलेर शान्तिप्रेमी जनतालाई दुःख दिने काम बन्द गरेका छैनन् । घतलाग्दो तथ्य त के हो भने अफगानिस्तानका विद्रोही नेताहरूलाई अफगानी जनताले नै जन्माएको हो । अफगानी नेताहरू कुनै अर्को देशबाट आएका होइनन् । अफगानी माटो (जनता) का उपज हुन् । अफगानिस्तान आफ्नो जनता (धर्मान्ध) र नेताहरूबाट आर्थिक रूपमा बर्बाद हुन पुगेको छ ।
यमनको हालत पनि यस्तै छ । यमनले अहिले अरूको लगि युद्ध (proxy war) लड्दै छ । युद्धमा यमनीहरू संलग्न भए तापनि उनीहरूले युद्ध भने इरान र साउदी अरबियाका लागि लडिरहेका छन् । अफ्रिका तथा अरब जगत्मा आफ्नो शक्ति देखाउन इरान तथा साउदी अरेबियाले यमन र यसका नागरिक प्रयोग गरिरहेका छन् । पाँच वर्षदेखि जारी यमनको गृहयुद्धमा १ लाखभन्दा बढी यमनीको ज्यान गइसकेको छ ।
विज्ञहरूले यमन–सङ्कटको समाधान समयमैं नखोज्ने हो भने लाखौ यमनी भोखमरीको शिकार हुने चेतावनी दिएका छन् । यदि यमनीहरू हामीले यो युद्ध इरान र साउदी अरेबियाको लागि लडेको हो, आप्mनो लगि होइन, हाम्रो विकास, शान्तिपूर्वक बस्नु छ, युद्ध गर्नुमा छैन भन्ने तथ्य बुझिदिए यमन आर्थिक विकासको पथमा दौडिने थियो । यमन साधन र स्रोतले भरिएको देश हो । तर आम यमनीहरूको चेतनाको स्तरले शान्तिको महŒव बुझ्न सकिरहेको छैन । उल्टो युद्धमा संलग्न हुनुलाई महŒव दिइरहेको छ । अनि कसरी हुन्छ, यमनको आर्थिक विकास ?
अर्कोतिर युरोपको जनता सुशिक्षित छ, उदार छ, विकासको संवाहक सरकार होइन, आपूmलाई ठान्छ । यो कारणले गर्दा युरोपको उल्लेखनीय आर्थिक विकास भएको छ । फ्रान्स, इटाली, जर्मनी, ग्रेट ब्रिटेन आदिले ‘प्रोक्सी’ युद्ध लडेको सुनिएको छैन । युरोपेलीहरूको चेतनाको स्तर धेरै माथि भएको हुनाले नै युरोपमा दीर्घकालीन शान्ति छ । यसविपरीत एशिया र अफ्रिकाका बासिन्दाको चेतनाको स्तर तुलनात्मकरूपमा कमजोर भएको हुनाले यी क्षेत्रमा युद्ध जीवनको एउटा आवश्यक पक्ष हुन पुगेको छ । युद्धप्रिय भएको हुनाले नै हामी नेपालीहरू पनि दश वर्ष युद्ध गरेर खुब रमायौं । हामी नेपालीलाई पनि युद्ध र सङ्घर्ष मन पर्छ । हरेक समस्याको समाधान त्यसकारण, हामी युद्ध, द्वन्द्व, सङ्घर्ष र कलहमा देख्छौं ।
शासक वा नेताहरूले पनि देशलाई आर्थिकरूपमा बर्बाद पार्न सक्छन् । यस तथ्यको उदाहरणको रूपमा उत्तर कोरिया, भेनेजुएला, बर्मा, क्युबाजस्ता देशको आर्थिक अवस्थालाई लिन सकिन्छ । उत्तर कोरियाका शासक किम जोङ–उनले आफ्नो तानाशाही चलाएर उत्तर कोरियालाई आर्थिकरूपमा बर्बाद नै पारेका छन् ।
एउटै समयमा विभाजित दुई कोरियाहरू– दक्षिण कोरियाले कति आर्थिक प्रगति गरेको छ र उत्तर कोरियाले कति आर्थिक प्रगति गरेको छ, हाम्रो अगाडि प्रस्ट छ । केवल आफू सत्तामा रहनका लागि उनले उत्तर कोरियालाई बर्बाद नै पारेका छन् । तर उनभन्दा पनि बर्बाद पार्नमा ठूलो हात भने उनको आसेपासे (parasite) हरूको छ । यी आसेपासेहरूले आफ्नो लाभ (शक्ति र पैसा) को लागि उनजस्ता सनकी तानाशाहलाई उत्तर कोरियाको सदाकालीन शासक बनाएका छन् ।
बर्माको स्थिति पनि यस्तै छ । बर्माका सैनिक शासकहरूले सत्तामा रहिरहन बर्मालाई आर्थिकरूपमा बर्बाद पारेका छन् । हालै सैनिक विद्रोह गरेर सत्ता आफ्नो हातमा लिएका बर्माका सेना प्रमुख मिन आङ हलाङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका छन् । चीनको सहयोग पाएर सत्ताको सुख भोगिरहेका बर्माको सेनाले देशको आर्थिक स्थितिलाई अति कमजोर पारेको छ । अहिले धेरै बर्मेलीहरूको ज्यान कोरोनाको भ्याक्सिन समयमा नपाएर गइरहेको छ । कुनै बेला जापानको हाराहरीमा बर्माको आर्थिक अवस्था रहने गर्दथ्यो । भारत, नेपाल लगायत एशियाका अन्य मुलुकहरूबाट मानिस रोजगारका लागि बर्मा जान्थे । दक्षिण एशिया आउने क्रममा बर्माको आर्थिक वैभव देखेर अङ्ग्रेजहरू पहिले बर्मा झरेका थिए । त्यसपछि मात्र भारततिर लागेका थिए ।
एशियाको अति समृद्ध मुलुक बर्मालाई त्यहाँका स्वार्थी शासकहरूले अति गरीब तुल्याएका छन्। बन्दूकको भरमा शासकहरूले, केवल आफूहरू सत्तामा रहन, आफ्नो देशलाई कतिसम्म दरिद्र पार्न सक्छन् भन्ने तथ्यको उदाहरणको रूपमा उत्तर कोरिया, बर्मा, जिम्बाब्वेजस्ता राष्ट्रहरूलाई लिन सकिन्छ । करीब ४० वर्षसम्म सत्तामा रहिरहन जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबीले जिम्बाब्वेलाई कङ्गाल नै पारेर गए । तानाशाहहरूले बन्दूकको भरमा शासन गरेर देशलाई आर्थिकरूपमा बर्बाद पारेको धेरै उदाहरण छ ।
देशलाई आर्थिक प्रगति गर्न नदिने दुई पक्ष– जनता र शासक दुवैको पहिचान र चर्चा हुनैपर्छ । यी दुई पक्ष असल छैन भने स्रोत र साधन पर्याप्त भए तापनि मुलुकले आर्थिक प्रगति गर्न गा¥हो हुन्छ । आर्थिक प्रगतिका लागि जनताको भूमिका पनि महŒवपूर्ण हुन्छ । कुनै पनि देशको सरकार केवल एक माध्यम मात्र हो वास्तविक विकास जनताले नै गर्ने हो । यो तथ्य बोध गरेको हुनाले नै युरोपेलीहरूले चमत्कारी किसिमले विकास गरेका हुन् । हामी एशियाली र अफ्रिकीहरूले यो तथ्य बोध नगरेको र गर्न पनि नचाहेकोले हामीले आर्थिक प्रगति गर्न नसकेको हो ।
नेपालीहरूले सुशासन र आर्थिक प्रगति देख्न नपाउनुमा दोष हामी जनताको पनि छ । हामी नेपाली विकासको लागि आपूmलाई जिम्मेवार मान्दैनौं । विकासको लागि जिम्मेवार केवल सरकारलाई ठान्छौं । हामी कलह, द्वन्द्व, सङ्घर्ष, युद्धमा बढी विश्वास गर्छौं । शान्तिपूर्ण तरीकाले कुनै पनि समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरामा हामीलाई विश्वास छैन । हामीले विकाससम्बन्धी अनेक भ्रम पालेका छौं ।
गरीबीबाट मुक्ति पाउने तरीकाप्रति हामीमा धेरै भ्रम छ । त्यसमध्ये एउटा भ्रम, नेपालमा कम्युनिस्टहरूबाट देशको आर्थिक विकास हुन्छ, गरीबी निवारण हुन्छ, मुलुकमा सम्पन्नता आउँछ भन्ने पनि हो । नेपालका बहुसङ्ख्यक कम्युनिस्ट नेताहरूले नेपालीको गरीबीलाई सत्तामा पुग्ने भ¥याङ मात्र बनाएका छन् । गरीबहरूको मनोविज्ञानको गलत प्रयोग गरेर सत्तामा पुगेका छन् ।
हामी तथाकथित नेपाली कम्युनिस्टहरूलाई गरीबहरूको मुक्तिदाता एवं कल्याणकर्ता मान्छौं । कम्युनिस्ट नेताहरूबाट देशको आर्थिक विकास हुन्छ भन्ने बलियो विश्वास राख्छौं । चुनावमा उनीहरूलाई मत दिएर विजयी बनाउँछौं । उनीहरूले गर्ने आन्दोलन एवं सङ्घर्षमा उनीहरूलाई साथ दिने मात्र होइन, उनीहरूको लागि ज्यान पनि दिन्छौं ।
तर अधिकांश कम्युनिस्ट नेताहरू स्वार्थी एवं आत्मकेन्द्रित भएको तथ्य हामी बिर्सन्छौं । नेपालको राजनीतिलाई वर्षौंदेखि कम्युनिस्टहरूले नै बढी अस्थिर पारेको तथ्यपट्टि ध्यान दिंदैनौं । असल नेता निर्वाचित गर्दैनौं अनि प्रत्येक वर्ष तिनै स्वार्थी एव पदलोलुप नेताहरूलाई देशको नेतृत्व गर्न रोज्छौं ।
कुनै पनि देशको आर्थिक विकासका लागि दुई महŒवपूर्ण पक्ष– जनता र शासक (नेता) हरूको चेतनाको स्तर माथि उठ्न आवश्यक छ । यी दुवै पक्षमा विकासको भोक जाग्न आवश्यक छ । धनी एवं विकसित राष्ट्रहरूको आर्थिक विकासको इतिहासले यही कुरा भन्छ । यस सत्यलाई हामीले हृदयङ्गम नगरेसम्म आर्थिक विकास हाम्रो लागि ‘आकाशको फल आँखा तरी मर’ मात्र हुन्छ । हाम्रो लागि मात्र होइन, अन्य राष्ट्रका लागि पनि यही हुन्छ ।