- विश्वराज अधिकारी
हाम्रो पूर्वीय सभ्यता एवं संस्कृतिले हामीलाई बाल्यकालदेखि नै बचत गर्न सिकाउँछ । यस कारणले गर्दा हामी दक्षिण एशियाली बचत गर्न जोड दिन्छौं । बचतलाई भोलिको बलियो र भरपर्दो सुरक्षाको माध्यमको रूपमा हेर्छौं । राम्रो आम्दानी हुने स्थितिमा रहेकाहरूले पनि खर्च गर्दनौं, उल्टो विभिन्न किसिमका आवश्यकता मिचेर राख्छौं । अर्थात् हामीसँग पैसा भएर पनि खर्च गर्दैनौं । बचत गर्नमा जोड दिन्छौं । तर बचत गर्नु सबल अर्थतन्त्रका लागि फाइदाजनक होइन ।
जसरी सवारीका साधनहरूलाई गति दिन इन्धनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, त्यसैगरी राष्ट्रिय अर्थतन्त्रलाई गति दिन खर्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । अर्थात् खर्चले गर्दा नै राष्ट्रिय अर्थतन्त्र गतिशील हुन्छ । कसैले खर्च गरेपछि मात्र वस्तु वा सेवा बिक्री हुने स्थिति सृजना हुन्छ । वस्तु वा सेवा बिक्री भए मात्र ती कुराका उत्पाकहरूले वस्तु वा सेवा उत्पादन गर्छन् ।
उत्पादकहरूले उत्पादन गरे मात्र रोजगार सृजना हुन्छ । रोजगार सृजना भए मात्र अनेक व्यक्तिले रोजगार पाउँछन् । उनीहरूको हातमा खर्च गर्नका लागि कोष (आम्दानी) हुन्छ । र उनीहरूले खर्च गरेमा बजारमा वस्तु वा सेवा बिक्री हुने स्थिति सृजना हुन्छ । वस्तुहरू बिक्री भएमा तिनको उत्पादन हुन्छ । यसरी हामीले गर्ने अनेक किसिमका खर्चहरूले अर्थतन्त्रलाई गतिशील तुल्याउने कार्य गर्दछ । खर्चले गर्दा नै अर्थतन्त्रको पाङ्ग्रा निरन्तर घुमिरहने स्थितिमा रहन्छ ।
खर्चको प्रकृति दुई किसिमको हुन्छ, यसलाई दुई किसिमबाट वर्गीकरण गर्न सकिन्छ । क) उपभोग्य वस्तु वा सेवामा गरिने खर्च, ख) लगानीमा गरिने खर्च ।
वस्तु वा सेवा तीन किसिमको हुन्छ– १) आवश्यक आवश्यकताका वस्तु वा सेवाहरू, २) अर्ध–विलासी वस्तु वा सेवाहरू, ३) विलासी वस्तु वा सेवाहरू ।
आवश्यक आवश्यकताका वस्तु एवं सेवाहरू
खाद्य पदार्थ, शिक्षा, औषधी, स्वास्थ्य सुविधा, कपडा, आवास आदि आवश्यक आवश्यकताका वस्तु हुन् । जीवन निर्वाहका लागि यी वस्तु उपभोग गर्नु अनिवार्य हुन्छ । यी वस्तुहरूको उपभोग नगरी बाँच्न कठिन हुन्छ । खाद्य पदार्थको उपभोग गर्न नपाए त बाँच्न पनि सक्तैनौं ।
दक्षिण एशियामा व्यक्ति वा परिवारले आफ्नो आम्दानीको ठूलो भाग आवश्यक आवश्यकताका वस्तु वा सेवा खरीद गर्न खर्च गर्छ । यी वस्तु वा सेवा खरीद गरेर बाँकी रहेको रकम बचत गर्छ। बाँकी रकम अर्ध–विलासी वा विलासी वस्तु वा सेवा खरीद गर्न खर्च गर्दैन ।
राम्रो आम्दानी गर्ने अधिकांश मानिसले पनि आवश्यक आवश्यकताका वस्तु खरीद गरेर बाँकी पैसा अर्ध–विलासी वस्तु वा सेवा खरीद गर्न खर्च गर्दैन । त्यो बाँकी रहेको आम्दानी वा बचत कुनै उत्पादक कार्यमा लगानी पनि गर्दैन । हामीसँग रहेको बचत कुनै उत्पादक कार्यमा खर्च गर्ने साहस, प्रवृत्ति वा परम्पराको हाम्रो समाजमा सर्वथा अभाव छ ।
हामी लगानी गर्न डराउँछौं । कुनै व्यापार सञ्चालन गर्न डराउँछौं । व्यापार केवल व्यापारी (जसले खानदानीरूपमा व्यापार गर्दै आएको छ वा व्यापारी घराना) हरूले गर्ने कार्य हो भनेर पन्छिन खोज्छौं । व्यापार खास जाति (बनिया वा वणिक्, हलुवाई, कोइरी, बजाज आदि) ले गर्ने हो भनेर व्यापार सञ्चालन तर्फ आकर्षित हुँदैनौं । हाम्रो यस्तो प्रवृत्ति पनि हाम्रो क्षेत्रमा व्यापारको समुचित विकास नहुनुको प्रमुख कारण बन्न पुगेको छ । अर्थात् हामी व्यापार कुनै खास जाति वा वर्गले गर्ने हो भन्ने मान्यतामा विश्वास गर्छौं ।
अर्ध विलासी वस्तु एवं सेवाहरू
फेसन अनुसारको कपडा, स्मार्ट फोन, भ्रमण–यात्रा, रेस्टुरामा भोजन, सडक–खाना, आरामदायी वस्तु (खास किसिमको जुत्ता, रङ्गीन चश्मा, विशेष किसिमको खाट आदि), रिसोर्टको बसाइ, तीर्थाटन, पार्टीको आयोजना, सिनेमा आदि अर्ध–विलासी वस्तु वा सेवा हुन् । बाँच्नका लागि यी वस्तु उपभोग गर्नु आवश्यक छैन तर यी वस्तु एवं सेवाहरूको उपभोगले हाम्रो जीवनयापन सरल हुन पुग्छ ।
हाम्रो समाजमा ज्यादै धनीहरूले मात्र अर्ध–विलासी वस्तु एवं सेवाहरू खरीद गर्ने चलन छ । तर राम्रो आम्दानी वा बचत हुनेले पनि यस किसिमका वस्तु एवं सेवाहरू खरीद गर्न सक्छ, तर गर्दैन ।
राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न राम्रो आम्दानी वा बचत हुन सक्ने स्थितिमा रहेकाहरूले अर्ध–विलासी वस्तु वा सेवा खरीद गर्न आवश्यक छ । धनी देशहरूमा ठूलो परिमाणमा अर्ध–विलासी वस्तु एवं सेवा उत्पादन एवं बिक्री हुन्छ ।
मानिसहरू आफ्नो जन्मदिन मनाउने क्रममा एक सयको हाराहारीमा केवल जन्मदिनसँग सम्बन्धित वस्तु वा सेवा, जुन अर्ध विलासी हुन्छ, खरीद गर्छन् । अर्थात् धनी देशहरूमा केवल जन्मदिनसँग मात्र सम्बन्धित एक सयभन्दा बढी अर्ध विलासी प्रकृतिका वस्तुहरू देख्न सकिन्छ।
विलासी वस्तु एवं सेवाहरू
विलासी वस्तु एवं सेवाहरूको उपभोग ज्यादै धनाढ्य व्यक्तिहरूले गर्ने भए तापनि यी वस्तुहरू उत्पादन गर्ने कार्यमा गरीब कामदारहरू संलग्न हुने हुँदा कुनै पनि अर्थ व्यवस्थामा ठूलो परिमाणमा विलासी वस्तु एवं सेवा उत्पादन हुनु आवश्यक छ । रोजगारको स्तरमा वृद्धि गरेर धेरै व्यक्तिलाई रोजगार दिन विलासी वस्तु एवं सेवाको उत्पादन ठूलो परिमाणमा हुन आवश्यक छ ।
अति फेसन अनुसारको गहना, तारे वा महँगो होटलको वास, रुचि अनुसारको भोजन, कार, हेलिकप्टर (निजी), सुन जडित महँगो घडी, खास किसिमको अति महँगा फर्निचर, सुनचाँदी जडित वा विशेष किसिमले तयार पारिएको कपडा, ज्यादै खर्चिलो भोज वा खानपिन, विशेष सजावटसहित खास डिजाइन वा संरचना भएको घर, खर्चिलो भ्रमण आदि विलासी वस्तु एवं सेवाका उदाहरणहरू हुन् ।
यस किसिमका वस्तु एवं सेवाहरूको उत्पादन एवं बिक्री हुन आवश्यक छ । तर हाम्रो समाजमा विलासी वस्तु खरीद गर्ने प्रवृत्ति र तत्परता दुवै देखिंदैन । ज्यादै धनीहरूले पनि यस किसिमका वस्तु खरीद गर्दैनन बरु आफूसँग रहेको पैैसा आफूसँगै राख्छन्, अर्थात् बचत गर्छन् । ज्यादै कम मानिसले विलासी वस्तु खरीद गरेको पाइन्छ ।
लगानीमा खर्च
हाम्रो समाज लगानी–मैत्री होइन । हाम्रो समाजले लगानी गर्ने (आफ्ना परिवारका सदस्य एवं साथीहरू) लाई लगानी गर्न प्रेरित गर्दैन । उल्टो अनेक किसिमको डर, त्रास, अनिश्चितता देखाएर लगानी (व्यापार सञ्चालन) गर्न दुरूत्साहित गर्छ । हाम्रो समाजमा उद्यमशीलता (entrepreneurship) को अति अभाव छ ।
उद्यमशीलता भन्नाले लगानी गरेर घाटा हुन सक्छ भन्ने अनिश्चितता लिएर पनि मुनाफाका लागि जोखिम वहन गर्ने प्रवृत्ति भन्ने बुझिन्छ । हाम्रो समाजमा यो प्रवृत्तिको अभाव छ र त्यो कारणले गर्दा पनि नयाँ पीढीका युवा आफैंले नयाँ व्यापारको सृजना गर्नुको साटो विदेशतिर र खास गरी खाडीका मुलुकहरूतिर जोखिमपूर्ण स्थितिमा पनि रोजगारका लागि पुग्छन् । त्यहाँ पुगेर अनेक किसिमका दुःख–कष्ट खेप्छन् । कतिपय त बक्सामा बन्द भएर त्रिभुवन विमानस्थलमा लाश बनेर पुग्छन् । कस्तो हृदयविदारक स्थिति !
हाम्रो शिक्षा नीतिले पनि उद्यमी र उद्यमी भावनाको विकास गर्दैन । राष्ट्रिय शिक्षा एकदम परम्परागत छ । हाम्रो शिक्षालाई व्यवसायमुखी बनाउन आवश्यक छ । हाम्रो शिक्षाले उद्यमीहरू उत्पादन गर्न आवश्यक छ । हाम्रो शिक्षाले युवाहरूमा लगानी गर्ने प्रवृत्ति विकास गर्न आवश्यक छ ।
राष्ट्रिय अर्थतन्त्रलाई गति दिन, राम्रो आम्दानी हुनेहरूले खर्च गर्न आवश्यक छ । विभिन्न किसिमका आवश्यक आवश्यकताका वस्तु एवं सेवाहरूलगायत अनेक अर्ध एवं विलासी वस्तु पनि खरीद गर्न आवश्यक छ । प्रायः रेस्टुरामा खाना खाने, घुमफिरका लागि रिसोर्टहरूमा जाने, जन्मदिन मनाउन फरक स्थानमा जानेजस्ता कार्यहरू गरेर हामीले खर्च बढाउनुपर्छ । खर्च बढे मात्र खरीद–बिक्री बढ्छ र खरीद–बिक्री बढेर उत्पादन बढ्छ, उत्पादन बढेर रोजगारीको स्तरमा वृद्धि हुन्छ ।
यसैगरी हामीले लगानीमा पनि खर्च गर्न आवश्यक छ । नयाँनयाँ व्यापारको विकासमा हामीले लगानी गर्नुपर्छ । बचत गरेर राख्नुहुँदैन । आफूसँग रहेको बचत प्रयोग गर्नुपर्छ । लगानी गर्नुपर्छ। यस्तो गरे मात्र स्वदेशमैं अनेक रोजगार सृजना गरेर युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ । अनेक किसिमका सामाजिक अपराध, यौन अपराध आदि नियन्त्रण गर्न सकिन्छ ।
देशवासीले खर्चको स्तरमा वृद्धि गर्न स्वदेशी उत्पादनमा पनि जोड दिन आवश्यक छ । देशवासीले खर्चमा वृद्धि गर्ने र त्यसरी गरिएको खर्च विदेश पुग्ने स्थिति राष्ट्रिय अर्थ व्यवस्थाका लागि राम्रो होइन । विदेशबाट आयातित वस्तुहरू खरीद गर्न हामीले बढी खर्च (खरीद ) गर्नुको कुनै अर्थ हुँदैन ।
विदेशबाट आयातित वस्तु खरीदमा बढी खर्च गर्नुको अर्थ बालुवामा पानी हाल्नु हो । त्यसकारण खर्चमा वृद्धि गर्नु पूर्व राष्ट्रिय उत्पादन वृद्धि हुनु अनिवार्य छ । राष्ट्रिय उत्पादनमा वृद्धि, खर्च वृद्धिको पूर्व शर्त हो । यो कुरातर्फ गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ । हामीले स्वदेशमा नै अनेक किसिमका वस्तु एवं सेवा उत्पादन गरेर राष्ट्रिय उत्पादनको स्तरमा व्यापक वृद्धि गर्न आवश्यक छ ।