प्रस, परवानीपुर, २७ जेठ/
वीरगंज महानगरपालिकाले दुई वर्षभित्र साढे ३ करोड रुपैयाँको लागतमा अत्याधुनिक सुविधासम्पन्न ‘इको पार्क’ निर्माण गरिरहेको छ। वीरगंज–२१ परवानीपुरस्थित धम्म तराई विपश्यना ध्यान केन्द्रको सामुन्ने करीब ३० कट्ठा ऐलानी जग्गामा यो पार्क निर्माण भइरहेको छ।
ठेकेदार कम्पनी फिजा कन्स्ट्रक्शनले पार्क निर्माणको काम शुरू गरेको जनाएको छ। वातावरण विभागको बजेटमा निर्माण भइरहेको पार्कमा बोटिङ, पोखरी, पिकनिक स्पट, कुकिङ सेड, गजेबो, बगैंचा, गोलघर, कार्यालय, शौचालयलगायतका भौतिक पूर्वाधार निर्माण गरिने वीरगंज महानगरका इन्जिनीयर दिलसाद महमदले बताए।
चालू आवको असार मसान्तसम्म करीब रु ८६ लाखको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए। अहिले पार्कको मुख्य प्रवेशद्वार, पर्खाल, पोखरी, पिकनिक स्पट, कार्यालय भवन, शौचालयलगायतका निर्माण काम भइरहको उनले बताए।
वीरगंजमा सुविधासम्पन्न पार्क नहुँदा वीरगंजवासी सिमरा, पथलैया, अमलेखगंज, निजगढको मोहरी पार्क, रौतहटको नूनथर, मकवानपुरको शहीद स्मारक, सौराहा, पोखरालगायतका ठाउँमा रमाइलो गर्न जाने गरेका छन्। पार्क निर्माण भएपछि वीरगंजवासीले रमाइलो गर्न, हरियो मनोरम प्राकृतिक वातावरणमा दैनिक व्यायाम गर्न, पिकनिक खेल्न र घुमफिर गर्न पाउने नगरप्रमुख विजयकुमार सरावगीले बताए।
पार्कले पर्सा, बारासँगै भारतीय पर्यटकलाई आकर्षित गर्ने उनले बताए। पार्क निर्माण भएपछि न्यून प्रवेश शुल्क तोकिने उनले बताए।