लकडाउनमा अनलाइन कक्षाको सार्थकता

  • अनन्तकुमार लाल दास

लकडाउनले सबैभन्दा बढी केटाकेटीहरूको जीवनलाई प्रभावित गरेको छ। खानपानदेखि खेल्ने–उफ्रने सम्मको गतिविधि कुनै पनि रूपमा पहिलेजस्तो रहेन। पढाइ–लेखाइमा पनि एक प्रकारको परिवर्तन देखा परेको छ। यस परिवर्तनलाई आधार दिने काम सूचना र सञ्चारका उपकरणहरूले गरेका छन्। यस परिवर्तनलाई हामीले ‘अनलाइन कक्षा’को रूपमा हेरेका छौं। आफ्नो सन्तानको भविष्यलाई लिएर सबैभन्दा बढी चिन्तित रहने मध्यमवर्गले यस परिवर्तनलाई सजिलै स्वीकार गरेको छ। आज पुनः हामी दोस्रोपटक लकडाउनमा छौं। केटाकेटीहरूको भविष्यलाई लिएर पुनः अभिभावक र शिक्षकहरू चिन्तित छन्। शिक्षा मन्त्रालयले जबसम्म यस विषयमा कुनै ठोस निर्णय दिंदैन, होनहार विद्यार्थीहरू आफ्नो समय र शोख सामाजिक  सञ्जालमा खर्च गरिरहेका छन्। शिक्षामन्त्रीको सल्लाह अनुसार ‘स्टे एट होम र  स्टडी एट होम’को नारासहित विद्यालय खोल्ने प्रबन्धमा सम्बन्धित निकाय लागेको छ। शिक्षाको जिम्मा पाएको स्थानीय सरकार कसको प्रतीक्षा गरिरहेको छ, थाहा छैन।

केटाकेटीहरूसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घको संस्था युनिसेफले विश्वभरिका करीब ४६ करोड ३० लाख केटाकेटी, लकडाउनका कारण विद्यालय बन्द रहेकोले, पढाइबाट वञ्चित रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। चाखलाग्दो कुरो के छ भने लकडाउनमा अर्थिक क्षेत्रमा पर्ने विनाशकारी प्रभावको चर्चा सर्वत्र हुन्छ तर लामो समयसम्म विद्यालय र क्याम्पस बन्द हुँदा केटाकेटीहरूमाथि पर्ने प्रभावबारे कुनै चिन्ता देखिंदैन। लकडाउनमा अनलाइन कक्षा प्रारम्भ गरेर धेरैजसो शैक्षिक संस्थाहरूले के बुझेका छन् भने उनीहरूले आफ्नो शिक्षा दिइरहेका छन् र केटाकेटीहरूको पढाइमा लकडाउनको कुनै प्रभाव परेको छैन।

अनलाइन कक्षाको अर्थ इन्टरनेटको माध्यमले शिक्षक र विद्यार्थीबीच विषयगत संवाद हुनु। यसमा सहभागी हुनका लागि एउटा स्मार्ट फोन, टैबलेट, ल्यापटप, डेस्कटप, इन्टरनेट र केही विशेष साफ्टवेयर आवश्यक हुन्छ। यसका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरूमा अलिकति पनि प्रविधिको ज्ञान हुनु जरूरी हुन्छ। यसमा सकारात्मक कुरा के छ भने आज सदरमुकामका साथै गाउँलेहरूलाई पनि यसबारे बृहत्त ज्ञान छ। ठूला कक्षाका विद्यार्थीहरूका लागि उनका अभिभावक दक्ष छन् कि छैनन् यसबाट कुनै फरक पर्दैन तर साना कक्षाका केटाकेटीहरू पूर्णरूपले अभिभावकमाथि निर्भर हुन्छन्। गत वर्षको तीतो अनुभवका कारण सानोतिनो मोबाइलले काम चलाउने परिवारले पनि राम्रो स्मार्ट फोन लिइसकेका छन्। शिक्षकहरू पनि यसका लागि तयार छन्। उनीहरूले यसलाई कोरोनाकालको उपलब्धि ठानेका छन्।

हाम्रो देशमा विद्यालय शिक्षाको वर्गीकरण अभिभावकको आर्थिक हैसियत अनुसार निर्धारित गरिन्छ। यस वर्गीकरणको प्रभाव ‘अस्थायी’ अनलाइन कक्षामा पनि प्रस्टरूपले देखिन्छ। सुविधासम्पन्न वर्गसँग जोडिएको विद्यालयहरू र त्यसमा अध्ययनरत विद्यार्थीहरू अत्याधुनिक प्रविधिका साथ अनलाइन कक्षामा उपस्थित हुन्छन्। तर आर्थिकरूपले विपन्न परिवार यसबाट वञ्चित छन्। यहींनिर एउटा गम्भीर प्रश्न के उठ्छ भने के अनलाइन शिक्षा नियमित कक्षाको विकल्प हुन सक्छ ? एउटा शिक्षकको रूपमा मेरो जवाफ ‘हुँदैन’ नै हुन्छ। यस जवाफको पछि मेरा केही ठोस तर्कहरू छन् जो गत वर्ष मेरो साथीको दुईवटा सन्तान र एउटा शिक्षकको रूपमा मेरो सामु आएको थियो। कुनै पनि केटा वा केटी सानो कक्षा होस् वा ठूलो एक्लै, आफ्नो व्यक्तित्वका साथ विद्यालय जाने गर्छन्। घरबाट विद्यालय जाँदा वा विद्यालयबाट घर फर्कंदा एक्लै सबै खाले परिस्थिति र क्रियाकलापबाट प्रभावित हुन्छन्। एउटा विद्यार्थीको रूपमा कुनै पनि केटा वा केटी दिनभरि आफ्नै उमेर समूहका केटाकेटीहरूका साथ सबैभन्दा बढी समय विद्यालयको आफ्नै कक्षामा व्यतीत गर्छन्। नयाँ सांस्कृतिक र सामाजिक शहरी परिवेशले केटाकेटीहरूको एउटै उमेर समूहलाई विद्यालयको कक्षामा मात्र सीमित गरिदिएको छ। अनलाइन कक्षाको शक्ति र सीमाको आकलन केबाट पनि गर्न सकिन्छ भने इन्टरनेट सम्पर्क देशका धेरै सीमित घरमा छ र त्यहाँ पनि नेटवर्कको समस्या लगातार भइरहन्छ। अर्कोतिर साधनस्रोतको अभावले गर्दा नेपाल अन्य मुलुकभन्दा बढी जोखिममा रहेको छ।

लकडाउनको यस विषम परिस्थितिमा साना कक्षाको सन्दर्भमा अनलाइन शिक्षाको एउटा विशेषता के देख्न सकिन्छ भने प्राविधिक सहयोग, घरको वातावरण, स्यानो घर, उनीहरूको निगरानी र त्यसको लागि उपयुक्त अवसरजस्ता कैयन कारणले योगदान पु–याइरहेको हुन्छ। यसमा केटाकेटीहरूको अनलाइन कक्षामा उनीहरूसँगै परिवारको एक वा एकभन्दा बढी सदस्य सामेल हुन्छन्। विद्यालयको कक्षामा त्यही छात्र आफ्नो बेंचमा परिवारका कुनै सदस्यको साथ बस्दैन तर घरमा हुने अनलाइन कक्षामा घरको कुनै न कुनै सदस्यको साथ अवश्य बसेको हुन्छ। ससाना केटाकेटीहरूको हकमा यो कुरा शत प्रतिशत देखिन्छ। कैयौंपटक त पूरा परिवार साथ हुन सक्छ। परिवारका सदस्यहरूको यस खाले सहयोगले केटाकेटीहरूलाई दबाबमा राख्छ। विद्यालयको कक्षामा केटाकेटीहरूमाथि यस प्रकारको दबाब हुँदैनन्।

यस प्रकारको कक्षामा विद्यार्थी जीवनको चञ्चलता, साथीहरूसँग गरिने स्वच्छन्द व्यवहार, हाँस्ने, उफ्रनेजस्ता सामान्य व्यवहारको स्थिति गायब हुन्छ अर्थात् रहँदैन। शिक्षकको कुरा नसुन्दा वा नबुझ्दा साथीहरूसँग बुझ्ने स्थिति घरमा हुने अनलाइन कक्षामा हुँदैन। एउटा शिक्षकलाई कुन विद्यार्थीले बुझ्यो, कसले बुझेन भन्ने कुरा थाहा हुँदैन। कक्षामा पढाउँदा एउटा सामान्य शिक्षकले पनि केटाकेटीहरूको हाउभाउ वा उसको अनुहार र आँखा पढेर विद्यार्थीले बुझिराखेको कि छैन भन्ने कुरा थाहा पाउन सक्छ तर अनलाइन कक्षामा यो सम्भव हुँदैन।

यस कारण अनलाइन शिक्षा विद्यालय कक्षाको विकल्प हुन सक्दैन। तर कोरोनाजस्तो भायावह विपत्मा एउटा अस्थायी अल्पकालीन व्यवस्था अवश्य हुन सक्छ। घरमा पढाइ हुने यस व्यवस्थामा शिक्षण सामग्रीको अभाव, कालोपाटीको कमी, प्रस्ट नबुझ्दा जिज्ञासा राख्ने अवसर, सबैमाथि निगरानी राख्नु, मनोविज्ञान बुझ्ने सम्भव देखिंदैन। आँखासँग आँखा जुधाएर पढाउनु, कुरा गर्नु, सम्झाउनु र जानकारीको आदान–प्रदानको एउटा बेग्लै महत्व हुन्छ। पढाउँदा–पढाउँदै घरको कक्षाकोठामा कुराकानी हुनु वा कुनै कामको लागि अभिभावकद्वारा अ–हाइनु आम समस्या हो। यसबाहेक भिडियो बन्द राख्नुको पछाडि पनि कैयन तर्कहरू थिए। जस्तै डेटा पैक छिट्टै समाप्त हुनु, नेट बाधित हुनु, आवाज प्रस्ट नसुनिनु, पिडिएफ फाइल नखुल्नु वा एप डाउनलोड नहुनु जस्ता प्रमुख कारणहरू थिए।

विद्यालय विद्यार्थीहरूको समग्र विकासको केन्द्र हुन्छ। खेलकूद, अतिरिक्त क्रियाकलाप, अनुशासन र नेतृत्व क्षमता विद्यालयमा नै विकसित हुन्छ। मित्रता निर्वाह गर्ने र सहयोग गर्ने गुण विद्यालयमा स्वतः विकसित हुन्छ। सामुदायिकताको बोध र समाजीकरण विद्यालयमा नै सम्भव हुन्छ। यस कारण विद्यालयको ठाउँ कहिल्यै पनि घरमा हुने अनलाइन कक्षाले लिन सक्दैन। तर के बुझ्नु आवश्यक छ भने कुन परिस्थितिमा यस विकल्पको प्रयोग भइरहेको छ ?

अनलाइन कक्षाको केही सकारात्मक प्रभाव छ तर यसको सीमा बुझ्नु पनि त्यति नै आवश्यक छ। यस प्रकारको कक्षा स्वाध्ययनको लागि मानसिकरूपले अनुशासित विद्यार्थीहरूको लागि अति उपयोगी हुन्छ। हुनत विश्वभरि नै विद्यालय शिक्षा व्यवस्थामा साना विद्यार्थीदेखि किशोर उमेर समूहका विद्यार्थीहरूमा पढाइप्रति रुचि विकसित गर्नु र त्यसलाई कायम राख्नु वर्तमानको सबैभन्दा ठूलो चुनौती मानिन्छ। यो केटाकेटीहरूको सहज विशेषतासँग जोडिएको सत्य हो। बाध्यतावश आयोजित हुने यस प्रकारको कक्षालाई केही हदसम्म प्रभावी बनाउन सबैभन्दा ठूलो काम कक्षामा विद्यार्थीहरूको सङ्ख्या कम गर्नु हो। यसो गरेर मात्र यस प्रकारको कक्षालाई केही हदसम्म उपयोगी बनाउन सकिन्छ तर हाम्रो देशको वर्तमान शिक्षा व्यवस्थामा, त्यो संस्थागत होस् वा सामुदायिक, सम्भव देखिंदैन किनभने भौतिक सुविधाको हिसाबले हामीकहाँ विद्यालयहरूको स्थिति दयनीय नै छ। यसबाहेक सधैं मास्क लगाउने र सुरक्षित दूरी कायम राख्ने विश्वास केटाकेटीहरूबाट गर्न सकिंदैन।

वर्तमानमा शिक्षाको यस विकल्पलाई प्राविधिकरूपले विकसित पनि गरिंदै छ, जसबाट पढ्न र पढाउनु सुलभ र सरल हुन सकोस्। वर्तमान जटिल परिस्थिति र समयले हामीलाई धेरै कुरा सिकाएको छ, जसमा अनलाइन शिक्षा पनि एउटा हो। तर अनलाइन कक्षाको नाउँमा पढाइको दिखावाको आधारमा केटाकेटीहरूसम्म शिक्षाको प्रकाश पुगिरहेको निष्कर्षमा भने पुग्न सकिन्न। हामीले कुनै यस्तो बाटो अवलम्बन गर्नुपर्छ जसमा पढाइबाट वञ्चित रहेका वा पछि परेका केटाकेटीहरू कोरोनाकाल समाप्त भएपछि विशेष व्यवस्था अन्तर्गत आफ्नो कोर्स पूरा गर्न सकून्। यदि यो सुनिश्चित गरिएन भने यस अवधिमा पढाइमा भएको नोक्सानीको भर्पाई कहिल्यै हुन सक्दैन र समाज र अर्थव्यवस्थाले लामो समयसम्म यसको परिणाम भोग्नुपर्छ। यसतर्फ पनि ध्यान दिइयो भने मात्र अनलाइन कक्षा सार्थक हुन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here