सञ्जय मित्र

धर्मशास्त्रहरू अन्धविश्वास हुन् ? अन्धविश्वास भनेर यसलाई पन्छाइदिने हो भने त यसको सामना गर्न नसकेको आरोप पनि आइलाग्न सक्छ । उसो भए सबै धर्मशास्त्रको विचार एकै किसिमको वा एकमतको छ त ? निस्सन्देह धर्म अनेक छन् र एक धर्मका पनि अनेक धार्मिक ग्रन्थ छन् । कुनै पनि धर्मका सबै धार्मिक विश्वास एकै किसिमका छन् त ? यदि सबै धार्मिक ग्रन्थको विचार एउटै भयो भने कालान्तरमा अनेक आरोप फेरि लाग्न सक्छन् जस्तै जडसूत्रवाद, आधुनिकतालाई समेट्न नसकेको, केवल अन्धविश्वास मात्र भएको आदि । यस कारण सबै धार्मिक विचार तथा धर्मग्रन्थमा व्यक्त गरिएका कुराहरूमाथि मन्थन भइरहेका छन् । भइरहन्छन् पनि । पाठक तथा आलोचकहरूले आआफ्नो दृष्टिकोण अनुसार धार्मिक ग्रन्थका विभिन्न विचारमाथि आm्mना तर्कहरू दिने गरेका छन् । यो निरन्तर चलिरहन्छ ।

हाम्रो संस्कृतिमा सबैभन्दा बढी हिन्दू धार्मिक ग्रन्थहरूमाथि चर्चा हुने गरेको छ । कतिपय ग्रन्थलाई नपढी तिनमाथि लेखिएका विचार वा समीक्षालाई पढेर धारणा बनाइ बहस गर्ने गरेका छन् । कतिपयले त सोझै अन्तर्य नबुझीकनै समर्थन वा विरोधमा विचारहरू अभिव्यक्त गर्ने गरेका छन् । कुनै एकाध तर्क वा तथ्य समयको अनन्त विस्तारमा समयसापेक्ष हुन नसकेमा वा भूगोलसापेक्षताको विपरीत हुन गएमा पूरै कृतिलाई नै दोष दिइन्छ । पूरा कृतिलाई नै गाली गरिन्छ । कृतिकारलाई नै सत्तोसराप गरिन्छ । र यसरी अति नकारात्मक टिप्पणी गर्ने कोही नाम चलेका वा प्रसिद्ध व्यक्ति छन् भने अति स्वाभाविकरूपमा सम्बन्धित ग्रन्थ वा ग्रन्थकारमाथि अस्वाभाविक प्रहारहरू हुन थाल्छन् । यस्ता प्रहारहरूले निरन्तरता पाउँदा प्रहारको एउटा संस्कार नै बन्न पुग्दछ । सम्भवतः मनुस्मृतिको विषयमा पनि यही भएको छ । यस कृतिको अध्ययन धेरै कम मानिसले गरेका छन् र यसको आलोचना निकै धेरै मानिसले गरेका छन् । यस कृतिभित्र आलोचना गर्ने प्रशस्त आधार रहेका छन् तर यहाँ कृतिभित्र रहेको एउटा रहस्यको विषयलाई चर्चामा ल्याउन खोजिएको छ।

महिलामा हुने रजस्वला र स्त्री-पुरुष सम्बन्धको विषयमा मनुस्मृतिको तृतीय अध्यायका केही श्लोकमा चर्चा गरिएको छ। हिन्दू समाजमा रजस्वला अवधिका महिलाप्रतिको दृष्टिकोण एकै किसिमको छैन । कतिपयले यसको दोषी मनु वा मनुस्मृतिलाई नै दिने गरेका छन् । यो पनि बहसको विषय हो । मनुस्मृतिका सबै कुरा जस्ताको त्यस्तै मान्नुपर्दछ भन्ने होइन तर यसमा स्त्रीको सम्मानको विषयमा पनि पर्याप्त श्लोक सिर्जना गरिएका छन् । यहाँ कुन सन्तान पाउने र कसरी भन्ने विषयमा मनुस्मृतिमा रहेका केही श्लोकलाई स्पष्ट पार्न खोजिएको छ ।

अहिले पनि छोरा वा छोरी कसरी निर्धारण हुन्छ भन्ने कुरामा व्यापक अन्योल रहेको छ । समाजमा अनेक अड्कलबाजी प्रचलनमा रहेका छन् । यसैगरी, विश्वमा विभिन्न पद्धति तथा विश्वास पनि प्रचलनमा रहेका छन् । विभिन्न शास्त्रमा पुत्रयष्ठि यज्ञ गराइएका र पुत्रको जन्म भएका उदाहरणहरू पाइन्छन् । मर्यादापुरुषोत्तम रामसहित भाइहरू र विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म पनि यज्ञपछि नै भएको शास्त्रहरू बताउँछन् । धर्म र शास्त्रमा विश्वास राख्नेहरूले यस्ता कुरालाई चाख दिएर पढ्छन्, सुन्छन् वा हेर्छन् । अहिले के लाग्छ भने शास्त्रहरू पितृसत्तात्मक युगका सिर्जना भएकाले समाजका सञ्चालक, अगुवा तथा पुरोहितहरूले पुत्रप्राप्तिको विषयमा विशेष चर्चा गर्दै ग्रन्थहरूमा स्थान दिएका छन् र पुत्रीको विषयलाई ओझेलमैं राखेका छन् । मनुस्मृतिले पनि मुख्यतः पुत्रोत्पत्तिकै विषयलाई स्पष्ट पार्ने क्रममा पुत्र कसरी, पुत्री कसरी भन्ने कुरा खुलाएको छ । हजारौं वर्ष पहिले यो विश्वास थियो कि विज्ञान ? अहिले पनि छलफलको विषय हुन सक्दछ ।

युग्मासु पुत्रा जायन्ते स्त्रियोऽयुग्मासु रात्रिषु ।
तस्माद्युग्मासु पुत्रार्थी संविशेदार्तवे स्त्रियम् ।

मनुस्मृतिको तृतीय अध्यायको यो ४८औं श्लोक हो । यस श्लोकले सामान्य अर्थ यो दिन खोजेको छ कि युग्म रात्रि (छैटौं, आठौं आदि)मा सङ्गम गर्नाले पुत्र प्राप्त हुन्छ र अयुग्म रात्रि (पाँचौं, सातौं आदि)मा सङ्गम गर्नाले कन्या उत्पन्न हुन्छ, यस कारण पुत्रको इच्छा राख्नेले ऋतुको समय स्त्रीनजीक युग्म रात्रिमा जानुपर्दछ ।

यस ग्रन्थमा अर्को पनि एउटा गज्जबको श्लोक दिइएको छ । मनुस्मृतिको यस ४८औं पछि लगत्तै ४९औं श्लोक यस्तो छः

पुमान्पुन्सोऽथिके शुक्रे स्त्री भवत्यधिके स्त्रियाः ।
समेऽपुमान्पुंस्त्रियो या क्षीणेऽल्पे च विपर्ययः ।।

अर्थात् पुरुषको वीर्य अधिक छ भने पुरुष हुन्छ, स्त्रीको वीर्य अधिक छ भने स्त्री हुन्छ । समान वीर्य हुन गएछ भने नपुंसक हुन्छ अथवा पुत्र-पुत्री जोडिएको हुन्छ (दुवैको गुण हुन्छ), क्षीण तथा थोरै वीर्य छ भने विपरीत हुन्छ अर्थात् गर्भ नै रहँदैन । छैन त रहस्यको तर्क ! गज्जबको तर्क !

अहिले संसारले एक्स क्रोमोजोम र वाइ क्रोमोजोमको कुरो गरिरहेको छ, गर्भमा सन्तानको लिङ्ग निर्धारणको सन्दर्भमा । किन कोही नपुंसक हुन्छन् वा अहिले भन्न थालिएको तेस्रो लिङ्गी हुन्छन् भन्ने विषयमा हिन्दू शास्त्रले हजारौं वर्ष पहिले नै लेखिसकेको छ । तर माथिका दुई श्लोकमा केही बहस गर्न सकिने ठाउँ पनि रहेको छ ।

यी दुई श्लोकमध्ये पहिलोले युग्म रात्रिको सङ्गमले पुत्र र अयुग्म रात्रिको सङ्गमले पुत्री हुन्छ भन्ने कुरो स्पष्टसित भनेको छ र दोस्रो श्लोकले पुत्र र पुत्री निर्धारणमा वीर्यको मात्राको पक्षलाई अगाडि ल्याएको छ । जब युग्म-अयुग्म रात्रिले सन्तानको लिङ्ग निर्धारण हुन्छ भने वीर्यको मात्राको प्रश्न नै आउनु नपर्ने हो । मनुस्मृतिका यसपछिका श्लोकहरूले पनि यस विषयमा खासै केही बोलेको पाइएको छैन । यस कारण यी दुई श्लोकलाई नै जान्ने वा बुझ्नेले स्पष्ट पार्न सक्छन् र समाजको जिज्ञासालाई शान्त पार्न सक्छन् । वास्तवमा यी दुई भिन्न हुन् कि दुई श्लोक एक अर्काका परिपूरक ?

तर्क नै हो नि १ विज्ञान पनि अनेक शर्तमा आधारित हुन्छ । तथ्यलाई पनि अनेक किसिमले विश्लेषण गरिएको हुन्छ । यो त हजारौं वर्ष पहिले लेखिएको ग्रन्थ हो । हिन्दू समाजमा निकै चर्चा कमाएको ग्रन्थ हो । यद्यपि यस विषयले त्यत्ति बहस पाउन सकेको छैन ।

अहिले भ्रूण परीक्षणमा प्रतिबन्ध छ । भू्रण परीक्षण गरेर गर्भपतन गर्न त झन् हुँदैन, कानूनी र नैतिक दुवै दृष्टिले । भ्रूण परीक्षण गरेर गर्भपतन गर्न सोच्नुको अर्थ यो हो कि कुनै निश्चित लिङ्गप्रति अन्यायपूणर् दृष्टिदोष मनमस्तिष्कमा निर्धारित छ । यो घोर मानवताविरोधी काम हो । र अहिलेसम्मको वैज्ञानिक उपलब्धिले पनि भ्रूण परीक्षण नगरी गर्भभित्रको सन्तान छोरा हो वा छोरी भन्ने विषयमा केही अनुमान लगाउन सक्दैन तर मनुस्मृतिभित्रका यी दुई श्लोकले भने गर्भभित्रको सन्तानको लिङ्गको बारेमा अनुमान पहिलेदेखि नै समाजमा प्रचलित रहेको स्पष्ट पार्दछ ।

हुन सक्छ यस्ता अनुमानहरू केवल अनुमान नै होऊन्, यथार्थसित समन्वय नहोऊन् तर अहिलेसम्म पनि ग्रामीण समाजमा गर्भवतीलाई के मन पर्छ, कस्तो मन गर्छ, कतातिर पेट कहिलेकाहीं दुख्छ, दिसा कस्तो हुन्छ, सपना कस्तो देखिन्छ आदि अन्य आधारहरूको आलोकमा गर्भभित्रको सन्तान छोरा हो कि छोरी भन्ने अनुमान लगाइने गरिन्छ । साथै माथिका दुई श्लोकको भावलाई समेत नितान्त निरक्षर र परम्परागत समाजले अद्यपर्यन्त आत्मसात् गरेको पाइन्छ । मनुस्मृतिको नाम नै नसुनेका तथा कुनै जानकारी नै नराख्ने मानिसहरूले पनि यस किसिमका भाव व्यक्त गर्दछन् अद्यपर्यन्त पनि । मनुस्मृतिका यी दुई श्लोकमा अभिव्यक्त भाव केवल विश्वास हुन् कि विज्ञान पनि ? कि अन्धविश्वास ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here