प्रस, सेढवा, १२ जेठ/
बर्सेनि धानखेतीको बेलामा मलको अभाव हुने देखेर पर्साका किसानहरूले यसपटक धानखेतीअगावै मल बीउको सञ्चय गर्न थालेका छन्।
अहिले धानबालीको लागि खेत खनजोत गर्ने बेला हो। यसपछि बीउ छर्ने काम हुन्छ। केही किसानले मात्र अहिले बीउ छरेका छन्, अधिकांश किसानले बीउ छर्न सकेका छैनन्। जेठको अन्तिम सातादेखि ब्याडमा बीउ छर्ने र असारको अन्तिम सातादेखि रोपाइँ शुरू हुने हुँदा डिएपी, पोटास, युरिया मलका साथै कीटनाशक औषधि र किसानहरूले सञ्चय गर्न थालेका छन्।
आवश्यक भएको बेलामा यी वस्तुहरूको बर्सेनि अभाव हुने हुँदा यसपटक उनीहरूले सिजनअगावै सञ्चय गर्न शुरू गरेका हुन्। मल, औषधिको आवश्यकता भएको बेलामा किसानहरूले बर्सेनि अभाव झेल्दै महँगोमा खरीद गर्नुपर्ने बाध्यता थियो। अहिले कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कम्पनीले रासायनिक मल र उन्नत जातको बीउ सहकारी संस्थाहरूलाई उपलब्ध गराउँदै आएको छ। कृषि सामग्री कम्पनीले डिएपी, युरिया, पोटास प्रत्येक साता १३० बोरा संस्थालाई उपलब्ध गराउँदै आएको छ भने साल्ट टे«डिङले दुई सातामा सय बोरा मल, पोटास उपलब्ध गराउँदै आएको छ।
दुवै कम्पनीबाट अहिले संस्थाहरूमा मल वितरण भइरहेको फाइदा उठाउँदै किसानहरूले सिजनअगावै सञ्चय गर्न शुरू गरेका हुन्।
जीराभवानी गापा–२ सेढवा निवासी प्रदीप दासले निषेधाज्ञा अवधि निरन्तर लम्बिरहेको कारण यसपटक पनि गत वर्षजस्तै मल र बीउबिजनको लागि समस्या हुने भन्दै सञ्चय गरेको बताए। उनले यसपटक अभाव झेल्नुनपरोस् र महँगोमा मल, बीउबिजन खरीद गर्नुनपरोस् भनेर समयअगावै सञ्चय गरेको बताएका छन्। बर्सेनि धानको सिजनमा मल, बीउबिजनको अभाव हुने र संस्थामा मल लिन लाम लाग्नुपर्ने तथा सीमामा सुरक्षाकर्मीको यातना सहेर मल, बीउबिजनको जोहो गर्नुपर्ने भएकोले यसपटक त्यसो नहोस् भनेर अगावै सञ्चय गरेको बताए।
पटेर्वासुगौली गापाका किसान प्रमोद चौधरीले खेतीको भरमा जीविकोपार्जन गर्दै आएका किसानले आवश्यक कृषिजन्य सामग्रीहरू स्थानीय सरकारबाट समयमा नपाउने गरेको कारण यसपटक आफैंले सुरुआत गरेको बताए। उनले सञ्चय गरेपछि आवश्यक परेको बेलामा सहज खर्च गर्न सकिने र अभाव नहुने बताए।
जय माँ मारुती नन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले आफ्नो क्ष्Fेत्रका ७५ प्रतिशत किसानले मल, बीउबिजनको सञ्चय गरेको बताए।