परिश्रम मात्रले सफलता हासिल हुँदैन

  • अनन्तकुमार लाल दास

“उद्यमेन ही सिध्यन्ति कार्याणि न मनोरथैः, नहि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः” अर्थात् जसरी सुतिरहेको सिंहको मुखमा हरिण आफैं प्रवेश गर्दैन त्यसैगरी कठोर परिश्रम गरेर नै कुनै पनि काममा सफलता हासिल हुन्छ।  भन्नुको अर्थ के हो भने जसले आफ्नो जीवनमा जति परिश्रम गर्दछ त्यसले त्यतिकै सफलता हासिल गर्छ। बाल्यकालदेखि “काम गर, काम गर, काम गर रे। काम गरे दाम पाउँछ, काम गरे माम पाउँछ, काम गर रे ” गाउँदै आएको थिएँ। अर्थात् काम गरेपछि अर्थको प्राप्ति हुन्छ र अर्थले खाना पाइन्छ तर के पनि सत्य हो भने चाहिएजति सबै भने पाइँदैन। हुनत माथिको गीतले बाल्यकालदेखि नै परिश्रम गर्ने प्रेरणा प्राप्त भयो। पछि जागीरे भएपछि पनि यसमा कुनै कमी आएन। कहिलेकाहीं साथीहरूले  ‘गदहा’ को संज्ञा दिन्थे। मेरो बुझाइमा गदहा भनेको दिनरात काम गर्ने प्राणी थियो। मनमनै खुशी पनि हुन्थे तर जति परिश्रम गर्दा पनि चाहिएजति सफलता हासिल नहुँदा यदाकदा निराश पनि हुन्थें। पछि चाणक्यबारे विस्तारपूर्वक पढ्ने र जान्ने मौका पाइयो, जसले जीवनमा क्रान्ति नै ल्यायो। चाणक्यलाई राम्ररी बुझेको मानिस कहिल्यै असफल हुनै सक्दैन। प्रस्तुत आलेखमा उनले भनेका केही कुरा सरल भाषामा प्रस्तुत गर्ने जमर्को गरिएको छ।

आचार्य चाणक्यले पनि जीवनमा प्रगति गर्न र सफलता हासिल गर्न परिश्रम गर्नु अनिवार्य छ तर यसको अर्थ के पनि होइन भने काम गर्दा गर्दै तपाईं गदहा बन्नुहोस्। एउटा गदहा आफ्नो जीवनभरिमा सबैभन्दा बढी काम गर्छ। उसले कुनै पनि काम सोचेर वा बुझेर गर्दैन। ऊ कहिल्यै पनि त्यसबाट प्राप्त परिणामको चिन्ता गर्दैन, अर्थात् त्यो काम गरेर उसलाई के फाइदा भइरहेको छ भन्ने कुरा सोच्दैन। उसले आफूसँग कस्तो क्षमता छ भन्ने पनि सोच्दैन, मात्र काम गरिरहन्छ। यस कारण त्यो गदहा जीवनभरि कसैको ‘दास’ बनेर गुजारा गर्छ र कहिल्यै पनि ‘मालिक’ बन्दैन। यसैगरी धेरैजसो मानिस आफ्नो क्षमताको मूल्याङ्कन नगरी मात्र परिश्रम गरिरहन्छन् र एउटा जागीरेको रूपमा आफ्नो जीवन व्यतीत गर्छन तर कहिल्यै पनि मालिक बन्दैनन्।

चाणक्यका अनुसार जङ्गलमा बस्ने जनावरहरू आफ्नो जीवनयापनका लागि शिकार गर्छन्। कहिल्यै उनीहरू सफल हुन्छन् र कहिल्यै असफल। तर त्यस जङ्गलमा एउटा यस्तो चरा पनि बस्छ जो कहिल्यै पनि असफल हुँदैन। त्यो ‘बाज’ भन्ने चरा यस कारणले सधैं सफल हुन्छ किनभने उसले गर्ने प्रत्येक शिकारको पछाडि एउटा सशक्त योजना हुन्छ। एउटा सटीक रणनीति हुन्छ। ऊ शिकारलाई हेर्नासाथ त्यसमाथि हमला गर्दैन। ऊ शिकारमाथि आफ्नो दृष्टि कायम राख्छ र माथिबाट शिकारको निरीक्षण गरिरहन्छ। उसले आफ्नो रणनीतिबारे शिकारलाई थाहा नै दिंदैन। सही समयमा ऊ आफ्नो सम्पूर्ण शक्ति लगाएर शिकारमाथि हमला गर्छ र सफल हुन्छ। ठीक यस्तै विद्यार्थीहरू वा जो कोही, जुनसुकै परिस्थितिमा जीवनमा सफलता हासिल गर्न चाहन्छ, धैर्य र बुद्धिमानीका साथ सशक्त योजना र रणनीति तयार गरेर ठीक समयमा आफ्नो क्षमता अनुसार लक्ष्यमाथि प्रहार गर्दा सफलता सजिलै हात पार्न सक्छ। तर ९० प्रतिशतभन्दा बढी विद्यार्थी भविष्यको लागि न कुनै योजना बनाउँछन्, न रणनीति नै। यस कारण भविष्यमा उनीहरू गदहाजस्तै कसैको जागीरे बनेर जीवन व्यतीत गर्छन्। यदि कसैले यस्तो गलती गरिराखेको छ भने अहिले सतर्क हुनु बेस हुन्छ।

हुनत जङ्गलको राजा सिंह धेरैजसो समय आफ्नै गुफामा व्यतीत गर्छ तर जुनबेला शिकार गर्न बाहिर आउँछ, अधूरो मनले काम गर्दैन। ऊ आफ्नो शिकारमाथि, त्यो ठूलो हात्ती होस् वा स्यानो खरायो, पूरा ताकत लगाएर प्रहार गर्छ। उसको काम गर्ने निष्ठामा सानो वा ठूलो शिकारले कुनै फरक पार्दैन। सिंहले शिकार गर्दा यसरी शिकार गर्छ मानौं त्यो उसको जीवनको अन्तिम शिकार हो। ठीक यसैगरी जीवनको जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सिंहको शिकार गर्ने सीपलाई राम्ररी सिक्नुपर्छ। अर्थात् कुनै पनि काम, स्यानो होस् वा ठूलो, जबसम्म शतप्रतिशत क्षमताको प्रयोग गरिंदैन तबसम्म जीवनको रणभूमिमा असीम उपलब्धि हासिल हुँदैन। उदाहरणका लागि जुनबेला स्टीवजाब्स र उनको टीम आइफोनको निर्माण गरिरहेका थिए त्यस बेला उनको टीमले एउटा फोन बनायो जो आकारमा अलिकति ठूलो थियो। जाब्सले त्यसलाई अझ पातलो बनाउने सल्लाह दिंदा टीमले योभन्दा पातलो हुन सक्दैन भने। जाब्सले नजीकै रहेका फीशटैंकमा फोन फालिदिए। फोनबाट बुलबुला बाहिर आउन थाल्यो। यो हेरेर जाब्सले भने यदि फोनमा हावा पस्ने ठाउँ छ भने यसलाई अझ पातलो बनाउन सकिन्छ। भन्नुको अर्थ के हो भने एउटा जित्ने मानिस सधैं सिंहजस्तै सोच्छ। यसर्थ विद्यार्थीहरूले पनि यो हुन सक्दैन वा भोलि गरौंला भन्ने विचार कहिल्यै पनि मनमा नल्याई सिंहजस्तै पूर्ण निष्ठाका साथ पढाइ गर्नुपर्छ। यही कारण हो कहिल्यै राम्ररी खाना नपाउने स्टीवजाब्स आज विश्वकै सबैभन्दा बढी लाभ हासिल गर्ने कम्पनीको मालिक बनेका छन्।

चाणक्यको अर्को नीति अनुसार खुट्टा नभए पनि सर्पको आक्रामकता र डस्ने शक्तिमा कहिल्यै कमी आउँदैन। उसले आफ्नो कमजोरी कहिल्यै प्रकट गर्दैन किनभने सर्प आफ्नो कमजारीमाथि होइन ताकतमाथि फोकस गर्छ। सर्पले पनि विद्यार्थीहरू जस्तै बहाना बनाउन सक्थ्यो। उसले भन्न सक्थ्यो, मेरो त भाग्य नै खराब छ। ईश्वरले मलाई खुट्टा नै दिएका छैनन् र आँखा यति कमजोर, जसबाट राम्ररी देख्न सक्दिनँ। तर सर्प कहिल्यै यस्तो बहाना बनाउँदैन। खुट्टा नभए पनि ऊ घस्रिंदै हिंड्छ र आँखा कमजोर भए पनि जिभ्रोको संवेदनाले शिकार पत्ता लगाउँछ। ऊ जीवनभरि एउटा योद्धा जस्तै अगाडि बढिरहन्छ। ठीक यस्तै दुनियाँमा हरेक मान्छेभित्र कुनै न कुनै कमजोरी हुन्छ। जुन मानिसले आफ्नो कमजोरीमाथि ध्यान नदिई ताकतमाथि ध्यान दिन्छ, ऊ एक दिन सफल हुन्छ। उदाहरणका लागि एउटा स्यानो जागीरको लागि तीसपल्ट अन्तर्वार्तामा अनुत्तीर्ण भएको मान्छे आज चीनको सबैभन्दा धनी मानिस अलिबाबाका संस्थापक जैकमा हो। यो भाग्यको होइन, परिश्रमको खेल हो। सफलता पाउने पागलपनको हदसम्मको आकाङ्क्षा हो। विद्यार्थीहरूले पनि यदि लक्ष्य प्राप्तिका लागि कमजोरी बिर्सेर आफ्नो क्षमतामाथि फोकस गर्छन् भने सफलता सजिलै हासिल गर्न सक्छन्।

दुनियाँमा कुनै पनि व्यक्ति पेटबाटै सबैथोक सिकेर जन्मिंदैन। योग्यता र क्षमता हासिल गर्नुपर्छ, सिक्नुपर्छ। जबसम्म मानिसले आफ्नो क्षमताको प्रदर्शन गर्दैन, तबसम्म चाहिएजति सफलता हासिल हुँदैन। उदाहरणका लागि एउटा मान्छे जसलाई क्रिकेटर बन्नुछ, ऊ महँगो बैट लिएर आउँछ र अरूलाई त्यस बैटबाट चौका–छक्का लगाउन भन्छ, तर स्वयं आफ्नो बैटिङ्ग क्षमता तिखार्ने प्रयास गर्दैन भने के ऊ राम्रो बैट्समैन बन्न सक्छ ? कहिल्यै पनि बन्न सक्दैन। यदि कसैमा काबलियत नै छैन भने धोनीको बैट लिएर खेल्दा पनि शतक लगाउन सक्दैन, किनभने उसले आफ्नो सीप विकसित गर्न कुनै परिश्रम नै गरेको हुँदैन। हाम्रो जीवनमा पनि यस्तै हुन्छ। सफलता हासिल गर्न चाहिने परिश्रम नै गरिंदैन भने कसरी सफलता हासिल हुन्छ ?

परिश्रम सँगसँगै प्रशंसा प्राप्त गर्नको लागि आफ्नै बखान गर्नु उचित होइन। अर्थात् आफ्नो लक्ष्य कसैलाई भनेर प्रशंसा हासिल हुने होइन, बरु त्यसमाथि शान्तिपूर्वक काम गर्नुपर्छ। तर विडम्बना के छ भने आजभोलि सबैभन्दा बढी यही भइरहेको छ। विद्यार्थीहरूले कुनै ठूलो लक्ष्यलाई सानो–सानो खण्डमा विभाजित गरेर त्यसलाई पूरा गर्दै लैजानुपर्छ। ध्यान के राख्नुपर्छ भने सिक्ने बेलामा आरामको कुरो गर्नुहुँदैन। अर्थात् ‘कल क्या होगा किसे है पता, अभी जिन्दगीका ले लो मजा’ जसले सोच्छ ऊ कहिल्यै पनि सफल हुन सक्दैन। चाणक्यका अनुसार सल्लाह विषय–विशेषज्ञसँग मात्र लिनुपर्छ अन्यथा दिग्भ्रमित हुने सम्भावना बढी हुन्छ। यस कारण गदहाजस्तै परिश्रम मात्र गरेर कसैलाई केही हासिल हुँदैन। यदि परिश्रम मात्रले सफलता हासिल हुन्थ्यो भने ठेलावाला, रिक्शावाला जो सबैभन्दा बढी परिश्रम गर्छन्, करोडपति बन्थे। यस कारण परिश्रम सँगसँगै आफ्नो क्षमता र सीप पनि विकसित गर्नुपर्छ।

आज पनि दुनियाँका महान् मानिसहरू सीप र क्षमताको विकास गर्न थरीथरीका पुस्तक अध्ययन गर्छन् र आफ्नो सीपलाई खिया लाग्न नदिन सुनजस्तै चम्किलो बनाइराख्छन्। भन्न के खोजिएको हो भने स्वयंमाथि विश्वास गर्नुपर्छ। मस्तिष्कलाई तीक्ष्ण बनाउन हरसम्भव प्रयास गर्नुपर्छ र आफ्नो जीवनको जिम्मेवारी स्वयं लिई सफलताको ढोका खोल्न परिश्रम गर्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here