सञ्जय मित्र
हलो जोत्दा हलोको फालीमा घैंटो अड्किएपछि निकालेर हेर्दा त्यसभित्र बालिका रहेको र यसको आधारमा ती बालिकाको नाम सीता राखिएको सन्दर्भ पाइन्छ सीताको जन्मको प्रसङ्गमा । मिथिला राज्यमा देखिएको दुर्भिक्ष निवारणका लागि नरेश सिरध्वज जनकले राज्यको सीमामा कृषियज्ञ गर्नुपर्ने अर्थात् हलो जोत्नुपर्ने थियो । त्यसै अनुसार भूमिसम्राट सिरध्वजको राजनगरभन्दा तीन योजन पश्चिम लक्ष्मणा (हाल लखनदेई) नदीको किनारमा हलो जोतिएको थियो र सीताको प्रादुर्भाव भएको थियो । सम्भवतः त्यति बेलासम्म सिरध्वजको सन्तान थिएन किनभने सिरध्वजकी वास्तविक छोरी उर्मिलालाई बहिनी भनिएको छ र त्यसै अनुसार रामको विवाह सीतासित हुँदा भाइ लक्ष्मणको विवाह उर्मिलासित भएको देखाइएको छ । सिरध्वजपुत्र भानमान (भानुमन्त)लाई पनि रामका साला नै भनिएको उल्लेख पाइन्छ । सीताको प्रादुर्भाव भएको मानिएको स्थल बिहारको सीतामढी हो । सीतामढी भन्ने शब्द नै सीताको मडईबाट भएको मानिएको छ ।
सीतालाई राजनगर जनकपुर पुर्याइएपछि जनकको नामबाट जनकपुत्री जानकी कहलिन थालिएको देखिन्छ । जनकपुरी पनि जनक अर्थात् राजा भन्ने शब्दबाट भएको हो । जनककी पुत्रीलाई जानकी कहलिनु स्वाभाविक हो । भूमिसुता सीतालाई सीता र जानकी दुवै समान नामबाट सम्मानित गरिएको पाइन्छ ।
रामराज्यको लोकप्रियता, सीताको आदर्श तथा कालान्तरमा रामायण महाकाव्यको लोकप्रियताले सीताको प्रभावको पनि विस्तार भएको देखिन्छ । मुख्यगरी हिन्दू समुदायको बाहुल्य रहेका स्थानहरूमा अहिलेसम्म रामको नाम जोडेर लाखौं मानिसले आफ्ना सन्तानको नाम राखेका छन् भने सीताको सवालमा पनि यही लागू हुन्छ । यतिमात्र नभएर राम तथा सीताको नामसित ठ्याक्कै मिल्दो नाम स्थानको पनि राखिएको पाइन्छ । यसले गर्दा राम तथा सीताको प्रभाव कति धेरै रहेको छ भन्ने प्रमाणित हुन्छ । कतिपयले कुनै ठाउँको नाम कसैले राखेकै आधारमा राम वा सीताको आगमन भएको तर्क पनि दिइरहेका हुन्छन् । उदाहरणको लागि सर्लाही जिल्लाको गोडैता नगरपालिकाको रामवन गाउँलाई लिऊँ । त्यहाँका प्रबुद्ध मानिसहरू के कुरामा विश्वस्त छन् भने वनवासको क्रममा राम यस ठाउँमा आएका थिए । यस प्रकृतिको नामलाई रामको प्रभावको रूपमा यहाँ लिइएको छ ।
राम र सीताको प्रभाव हाम्रो दैनिकीदेखि सम्पूणर् संस्कृतिमा परेको छ । अधिकांश गाउँमा रामजानकी मठकै निर्माण भएको छ र यो हजारौं वर्षदेखि चल्दै आएको छ ।
वर्तमान भारतको मध्यप्रदेश अन्तर्गत पर्ने टिकमगढ अहिले जिल्ला हो तर जनकपुरको जानकी मन्दिर यहींकी महारानी वृषभानु कँुवरीले बनाएको सर्वविदित छ । तत्कालीन चलनचल्तीमा रहेको चाँदीको ९ लाख मुद्रा खर्च भएको जानकी मन्दिर निर्माण हुन करीब १७ वर्ष लागेको थियो । जानकी मन्दिरको निर्माण प्रारम्भ सन् १८८४ मा भई सन् १८११ मा सम्पन्न भएको थियो । शुरूमा नौ लखा मन्दिर भनेर चिनिएको जनकपुरको सबैभन्दा प्रसिद्ध धरोहर कालान्तरमा जानकी मन्दिरको नामले प्रसिद्ध भएको छ । अहिले सामान्यतया जानकी मन्दिर भनेपछि यही मन्दिरलाई बुझाउँछ । यद्यपि अनेक शहर र स्थानमा जानकी मन्दिर रहेको छ ।
सीताराम नाम महायज्ञ अर्थात् अष्टजाम त निकै पहिलेदेखि गाउँ समाजमा हुँदै आएको छ । यसैगरी, होली, विवाह तथा अन्य परम्परागत चाडपर्वमा गाइने विभिन्न गीतमा पनि सीता वा राम वा दुवैजनाको नाम अनेक सन्दर्भ र रूपमा आउने गरेका छन् । दुई सम्धीको भेट हुँदा पनि रामराम वा सीताराम । कसैको जन्म हुँदा पनि राम । छोरी जन्मिंदा सीता वा लक्ष्मी । कुनै चिजको गन्ती शुरू गर्दा पनि रामेराम, राम । हरेक गन्तीपछि रामको उच्चारण । सुत्दा पनि सीताराम । बिहान उठ्दा पनि सीताराम । मृत्युमा पनि रामराम । यसबाट यो स्पष्ट हुन आउँछ कि सीतासहित रामको विस्तार हाम्रो संस्कृतिको अन्तर्यसम्म पैmलिएको छ ।
पश्चिम नेपालमा पनि जानकीको प्रसिद्धि यही दुई नामबाट झल्किन्छ । बाँके जिल्लाका स्थानीय तहमध्ये एक हो जानकी गाउँपालिका । यसैगरी, कैलाली जिल्लाका स्थानीय तहमध्ये एक हो जानकी गाउँपालिका ।
जानकी अस्पताल, जानकी मेडिकल कलेज, जानकी क्लब यस्ता सङ्घसंस्थाको सङ्ख्या त धेरै नै हुनुपर्छ । सीता चोक वा जानकी चोक तथा बजार पनि हुन सक्छन् । भारतमा सीतानगर सिंचाइ परियोजना पनि सञ्चालनमा छ । यसबाट सीतानगर कुनै बस्तीको नाम तथा सिंचाइ परियोजनाको नाम पनि भएको स्पष्ट हुन्छ । एउटा ग्राम पञ्चायतको नाम पनि सीतानगर भएको उल्लेख पाइन्छ । उत्तर प्रदेशमा त एउटा जिल्लाको नाम नै सीतापुर रहेको छ । साथै सीतापुर जिल्लाको सदरमुकाम पनि सीतापुर शहर नै रहेको छ । देशको राजधानी काठमाडौंमा सीतापाइला क्षेत्र रहेको छ ।
धेरैको घरमा राम र सीताको मूर्ति (प्रतिमा) वा फोटो राखेर पूजा गरिन्छ । राम र सीताको प्रमुखतामा लेखिएको रामायणलाई पूजा नगर्ने वा धार्मिक ग्रन्थ नमान्ने कमै होलान् । यस ग्रन्थलाई नै धर्मको प्रतीक मान्ने हिन्दू समाज रहेको प्रति सम्भवतः कसैको पनि दुई मत नहोला ।
टेलिभिजनमा जब रामायण कतैबाट प्रसारण हुन्छ, तब श्रद्धा वा भक्तिपूर्वक हेर्नेहरू करोडौंको सङ्ख्यामा छन् । यी सबैबाट रामसँगै सीताको भावनात्मक विस्तार कति व्यापक रहेको छ भन्ने कुरा यहाँ स्पष्ट पार्न खोजिएको छ ।
नेपालको राष्ट्रिय विभूतिमा समेत सीता रहेकी छन् । यसरी कल्पनाको मानिने महाकाव्यदेखि अनेक मिथकसम्म अनि यथार्थ र इतिहास मानिने राष्ट्रिय विभूतिसम्म सीताको विस्तार भएको पाइन्छ ।
वास्तवमा सीताको व्यापकता यति धेरै रहेको छ । यति व्यापक नामको जन्मजयन्ती किन मनाइँदैन ? विभिन्न तथ्यले वैशाख शुक्ल नवमी तिथिका दिन सिरध्वजले कृषियज्ञ गरेको वा सीताको प्रादुर्भाव भनी मानिएको विभिन्न ग्रन्थले उल्लेख गरेको तथा संस्कृतिलाई प्राथमिकता दिएर प्रकाशन हुने क्यालेन्डरहरूले यस तिथिलाई सीताजयन्ती भनेर उल्लेख गर्न थालेका पनि छन् । केही वर्ष रौतहटको कटहरिया नगरपालिकाले सीताजयन्ती भव्यतापूर्वक मनायो । प्रदेश सरकार गठन भएपछि प्रदेश सरकारले यस दिन बिदा दियो पनि एक/दुई वर्ष । जनकपुर उपमहानगरपालिका र जानकी मन्दिरसित सम्बन्धित संस्थाहरूले केही वर्ष जानकी जन्मोत्सवलाई भव्यतापूर्वक नमनाएको होइन । भारत बिहारको सीतामढीमा पनि जानकी जन्मजयन्ती भव्यतापूर्वक मनाइन्छ । अन्यत्र पनि औपचारिकरूपमा यस जयन्तीलाई मनाइँदो हो । यद्यपि रामको जन्म भएको रामनवमी, कृष्णको जन्म भएको कृष्णाष्टमीजस्तै सीताको जन्मजयन्ती सर्वसाधारणका लागि किन संस्कृति बन्न सकेको देखिंदैन ?
नजीकको तीर्थ हेला भएको त होइन ? धर्म र संस्कृतिमा आस्था राख्ने हाम्रो समाज यस मामिलामा भने केही पछाडि परेको हो कि ? सीताको नाम र कर्मको जति विस्तार हुनुपर्ने हो त्यति अझ हुन सकेको छैन कि ? सीतालाई सम्मान गर्ने, भगवती मान्ने, पूजा गर्ने तर उनको जन्मदिनलाई विशेष दिन मानेर तिनको विषयमा बढी चर्चा गर्ने वा प्रेरणा लिने संस्कृतिको विकास हुन अझै बाँकी छ । वास्तवमा सीताको बारेमा हाम्रो समाजले धेरै कुरा जान्न बाँकी रहेको छ । सीताको भूमिमा प्रचलनमा रहेका अनेक किंवदन्तीहरूलाई समेट्नु र सङ्ग्रह गरेर जस्ताको तस्तै घरघरमा पुर्याउनु आवश्यक रहेको छ । सीताका यश र कीर्तिका गाथाहरूलाई चर्चा गर्ने विशिष्ट दिन उनको जन्मदिनलाई अझ विशेष बनाउनेतिर हाम्रो समाजले अहिले विचार नगरे संस्कृतिमा पछाडि पर्ने सम्भावना पनि रहेको छ । प्रबुद्ध वर्गले सीताजयन्तीलाई पनि संस्कृतिको रूपमा विकास गरी सीताको कीर्ति र यशको अझ विस्तार गर्नेतिर पनि विचार गर्ने कि?