अनन्तकुमार लाल दास
प्रायः शिक्षकहरूको सम्बन्धमा चर्चा–परिचर्चा हुँदा के सुन्न पाइन्छ भने शिक्षकहरूको गल्तीले गर्दा हाम्रा केटाकेटीहरू पढिरहेका छैनन्। समाजले शिक्षकहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्छ अनि मात्र हाम्रा केटाकेटीहरू राम्ररी सिक्छन्। हिजोआज शिक्षकहरू विभिन्न निहुँमा विद्यालयमा अनुपस्थित हुन्छन्। विद्यालयमा हुँदा पनि उनीहरू प्रायः कक्षा बाहिर मोबाइलमा झुन्डिएका देखिन्छन्। आजीविकाका लागि शिक्षण पेशा अन्तिम विकल्प मानिएकोले पनि उनीहरू सिक्न–सिकाउनमा रुचि लिंदैनन्। यदि केटाकेटीहरू सिक्दैनन् भने शिक्षकले सिकाएको छैन भन्ने मान्यता हाम्रो समाजमा छ। यदि उनीहरू परीक्षामा राम्रो ग्रेड ल्याउँदैनन् भने शिक्षकहरूलाई नै जिम्मेवार बनाइन्छ।
यस्ता भनाइहरूले के प्रमाणित गर्छ भने केटाकेटीलाई सिकाउने जिम्मेवारी मात्र शिक्षकको हो र उनीहरू आफ्नो जवाफदेहिता राम्ररी पूरा गर्दैनन्। केटाकेटीहरूले हासिल गरेको उपलब्धिको आधारमा शिक्षकहरूको जवाफदेहिता निर्धारण गर्नु उचित पनि देखिन्छ। धेरै जसो राष्ट्रमा प्राप्त उपलब्धिको विश्लेषण गरी शिक्षकहरूको पदोन्नति गर्ने निर्णय लिइन्छ। सोही आधारमा उनीहरूलाई बर्खास्त पनि गर्न सकिन्छ। प्रस्तुत आलेखले विभिन्न राष्ट्रमा शिक्षकहरूको जवाफदेशिता निर्धारित गर्न लिइएको सङ्क्षिप्त विवरण प्रस्तुत गर्छ साथै हाम्रो सन्दर्भमा यसमध्ये कुन प्रयास सहयोगी हुन सक्छ भन्ने देखाउन खोजेको छ।
विभिन्न देशमा उपलब्धिको आधारमा शिक्षकहरूको जवाफदेहिता तय गर्ने कुरामा कैयन प्रश्न उठाइएको छ। खासगरी जुन विद्यार्थीको उपलब्धि कम छ, उनीहरूले ‘कमजोर’ शिक्षकद्वारा शिक्षा हासिल गरेका छन्। ‘प्रभावी’ शिक्षकसँग पढेको भए उपलब्धि बढ्थ्यो भन्ने कुराको कुनै ठोस प्रमाण छैन। कैयन शोधले के देखाएको छ भने उपलब्धि आधारित जवाफदेहिताले शिक्षकहरूको मनोबल खस्काउने काम गर्छ र उनीहरूलाई जागीर छोड्न बाध्य बनाउँछ। हाम्रो देशको स्थिति यस्तो छैन। उपलब्धि आधारित जवाफदेहिता अन्य दुई कारणको आधारमा पनि गलत साबित हुन सक्छ।
पहिलो, केटाकेटीहरूको सिकाइ धेरै कुरामा निर्भर हुन्छ र ती एकअर्कासँग सम्बन्धित छन्। जस्तै विद्यालयमा शिक्षकबाहेक त्यहाँ उपलब्ध सुविधा, कक्षाको आकार, पाठ्यक्रम र पाठ्यढाँचा, सिक्ने–सिकाउने सामग्री, विद्यालयको नेतृत्व, शिक्षकहरूलाई प्राप्त स्वायत्ततास खासगरी शिक्षणशास्त्र र पाठ्यसामग्री छनोट आदिसँगै केटाकेटीहरूको सामाजिक–आर्थिक परिवेश, अभिभावक वा आमाबुवाको शैक्षिक स्तर, बाल्यावस्थामा दिइएको प्रारम्भिक शिक्षा, केटाकेटीहरूको रुचि आदिले पनि सिकाइलाई प्रभावित गर्दछ। यी कुराहरू आफैंमा धेरै जटिल छन् र यिनीहरूबीचको अन्तर्सम्बन्ध झन् जटिल भएकोले केटाकेटीहरूको सिकाइ वा उनीहरूले सिक्न नसक्दा मात्र शिक्षकको जवाफदेहिता तय गर्नु मुनासिब हुँदैन।
शिक्षकहरूको पहिलो जवाफदेही केटाकेटीहरूलाई सिकाउनु हो भन्ने कुरामा दुई मत छैन तर जवाफदेहिता पूरा गर्नको लागि शिक्षकहरूलाई कस्तो समर्थन, कस्तो साधन र क्षमता आवश्यक पर्छ भन्ने कुरामा पनि विचार गर्नु त्यतिकै आवश्यक छ। यदि शिक्षकलाई त्यस्तो समर्थन, साधन र सुविधा प्राप्त हुँदैन भने के शिक्षक नै जिम्मेवार हो ? यस सम्बन्धमा अध्ययन गर्दा शिक्षकहरूको कार्यलाई उपलब्धिमूलक बनाउन अन्य शिक्षक साथीहरूसँग सहकार्य, शैक्षिक प्रक्रियामा निरन्तर छलफल र उपस्थित समस्या समाधानको लागि गरिने चर्चा–परिचर्चा, उपलब्धिको आधारमा जवाफदेहिता तय गर्नुभन्दा बढी प्रभावी हुन्छ।यस कुरोलाई सफल बनाउन विद्यालयमा शिक्षकमैत्री वातावरण र स्वायत्तता आवश्यक हुन्छ। यसले शिक्षकलाई ऊसँग समाजको अपेक्षा के हो र शैक्षिक प्रक्रिया राम्रो बनाउन उसको भूमिका के हो भन्ने प्रस्ट हुन्छ। जुन विद्यालयमा शिक्षकहरूको भूमिका निर्देशन पालना गर्ने हुँदैन र उनीहरूलाई स्वायत्तता प्रदान गरिएको छ, अर्थात् जहाँ शिक्षकले पाठ्य सामग्री छनोट र त्यसलाई विकसित गरी पाठ्यक्रमको उद्देश्य प्राप्तिका लागि शैक्षिक गतिविधि र मूल्याङ्कन आफैं गर्छन्। यसका लागि पनि शिक्षकहरूमा शैक्षिक समझ हुनु आवश्यक छ। यस परिवेशमा नै शिक्षकको जवाफदेहिता तय गर्न सजिलो हुन्छ, अन्यथा शिक्षकको जवाफदेहिता माथिबाट पठाइएको निर्देशन पालना गर्नु मात्र हुन्छ। शैक्षिक दस्तावेजको अध्ययनले शिक्षकको जवाफदेहिता स्थापित भएको जस्तो लागे तापनि शिक्षामा केही परिवर्तन देखा पर्दैन किनभने शिक्षकहरूले त्यही पुरानो प्रणाली अनुसार नै काम गरिरहन्छन्। त्यसमा कुनै नौलो कुरा हुँदैन।
फिनल्यान्डमा सामूहिक जवाफदेहिताको व्यवस्था छ जहाँ शिक्षकहरूको जिम्मेवारी आफ्ना विद्यार्थीप्रति मात्र नभई विद्यालय, अभिभावक र एकअर्काप्रति पनि हुन्छ। त्यहाँ केटाकेटीहरूको उपलब्धिको आधारमा शिक्षकको मूल्याङ्कन नभई एउटा समूहको रूपमा हुन्छ। करीब ३० वर्ष पहिले नै विद्यालय निरीक्षणको प्रक्रिया बन्द भइसकेको छ। विद्यालयमा शिक्षक र प्रधानाध्यापकले छलफलको आधारमा सिक्ने र सिकाउने प्रक्रियालाई राम्रो बनाउने प्रयास गर्छन्। यस साझा जिम्मेवारीले विश्वासको वातावरण र अझ राम्रो गर्ने प्रयासलाई बल पु–याउँछ।
संयुक्त राज्य अमेरिकामा उच्च कोटिको परीक्षणको आधारमा शिक्षकहरूको मूल्याङ्कन गरिन्छ। सन् १९६० मा आर्थिक र सामाजिकरूपले पिछडिएका वर्गका केटाकेटीहरूको उपलब्धिको चिन्ताले यस प्रक्रियाको थालनी भयो। त्यहाँ सबै विद्यार्थीको परीक्षा समान रूपले लिइन्छ। बढी बहुवैकल्पिक वा एक शब्दमा जवाफ दिने प्रश्न सोधिन्छ। यस प्रक्रियाको धेरै आलोचना पनि भएको छ। यस पछाडिको धारणा केटाकेटीहरूको सिकाइ स्तर बुझेर शैक्षिक प्रक्रिया सुधार्ने देखिन्छ। परीक्षाको मूल्याङ्कन पाठ्यपुस्तकबाट सोधिने प्रश्न मात्र हुने भएकोले शिक्षकहरू त्यही पढाउँछन् जुन परीक्षाको दृष्टिले महत्वपूर्ण हुन्छ। यसबाट परीक्षाको परिणाम त राम्रो हुन्छ तर विद्यार्थीहरूको सिकाइ निश्चित सीमामा समेटिन्छ। यस अवस्थामा शिक्षकको जवाफदेहिता पनि सीमित हुन जान्छ।
सिङ्गापुरमा प्रत्येक शिक्षकले सालभरिका लागि केही लक्ष्य तय गर्छ र त्यस लक्ष्यको प्राप्तिको आधारमा उनीहरूको मूल्याङ्कन हुन्छ र उसको वर्तमान क्षमताको मूल्याङ्कन गरी उसको व्यावसायिक विकासको योजना बनाइन्छ। यसबाट अझ राम्रो गर्ने चाहना प्रबल हुन्छ र शिक्षकलाई प्रभावी शिक्षक बन्न सहयोग प्राप्त हुन्छ। न्युजील्यान्ड, स्काटल्यान्ड र इङ्गल्यान्डमा शिक्षकको जवाफदेशिता एउटा निश्चित ढाँचाको आधारमा तय गरिन्छ। यसमा पूर्व निर्धारित सूचकाङ्कको आधारमा शिक्षकसँग अपेक्षा तय गरिन्छ। बेग्ला–बेग्लै विषय र तहका शिक्षकहरूका लागि बेग्ला–बेग्लै रूपरेखा हुन्छ। विद्यालयको जवाफदेहिता परीक्षामा प्राप्त परिणामको आधारमा निर्धारित गरिन्छ तर शिक्षकहरूको मूल्याङ्कन विद्यालयभित्रको उपयुक्त रूपरेखाको आधारमा गरिन्छ। यो रूपरेखा पूर्णरूपेण पारदर्शी हुन्छ र शिक्षकहरूको जवाफदेहिता तय गर्छ। केही हदसम्म शिक्षक स्वयंले पनि यसको आधारमा आफ्नो मूल्याङ्कन गर्न सक्छ।
राष्ट्रिय शिक्षा नीति २०२० अनुसार भारतमा राष्ट्रिय व्यावसायिक मानकको कुरा राखिएको छ जसबाट शिक्षकहरूको जवाफदेहिता तय हुन्छ। यसको आधारमा शिक्षकहरूको कैरियर मेनेजमेन्ट गरिन्छ जसमा कार्यकाल, व्यावसायिक विकासको प्रयास, तलब वृद्धि, पदोन्नति र अन्य पहिचान सामेल हुन्छ। वेतन वृद्धि वरिष्ठताको आधारमा नभई निर्धारित मानकको आधारमा हुन्छ। हरेक १० वर्षमा व्यवस्थाको गुणस्तरीयताको विश्लेषण गरिन्छ। शिक्षकहरू विद्यालयमा शिक्षाको उन्नतिका लागि के गरिरहेका छन् वा के गरिरहेका छैनन् भन्ने कुराले उनीहरू विद्यार्थी, अभिभावक, समुदाय र जनताप्रति जिम्मेवार हुन्छन्।
यहाँनिर के प्रश्न उठ्नु स्वाभाविक छ भने शिक्षकको जवाफदेहिता तय गर्नुपूर्व यस प्रक्रियालाई कसरी विश्वसनीय र मान्य बनाउने ? कसले यसको रूपरेखा निर्धारण गर्ने ? के शिक्षक आफैंले मूल्याङ्कन गर्ने ? शिक्षकलाई कस्तो प्रकारको समर्थन प्राप्त भइरहेको छ भन्ने कुराको पनि मूल्याङ्कन हुन्छ ? उनीहरूलाई व्यावसायिक विकासको लागि कस्तो अवसर प्रदान गरिन्छ ? उनीहरूले प्राप्त गर्ने सेवा शर्त कस्तो हुन्छ ? उनीहरूलाई अन्य कस्तो प्रकारको सुविधा प्रदान गरिएको छ? उनीहरूले सामना गर्ने चुनौती झेल्न के कुनै प्रक्रिया हुन्छ ? शिक्षकको जवाफदेहिता तय गर्नुपूर्व यस्ता अन्य थुप्रै प्रश्नको जवाफ खोज्नुपर्ने हुन्छ।
शिक्षकहरूको जवाफदेहिता उनीहरूको क्षमता र मूल्यको परिणाम हो। एउटा जवाफदेह शिक्षक आफ्नो क्षमता विकसित गर्न र आफ्नो मूल्यमाथि चिन्तन गर्न स्व–प्रेरित हुन्छ। यो अनिवार्य पनि हो किनभने शिक्षकहरू पनि त्यही शिक्षा प्रणालीबाट निस्केका हुन् जसमा उनीहरूलाई परिवर्तन ल्याउनु छ। यस्तो परिवर्तन ल्याउनको लागि जिम्मेवारीका साथ शिक्षकहरूको सशक्तीकरण गर्नुपर्छ। यो समर्थनको वातावरणमा मात्र सम्भव छ जहाँ शिक्षकहरूलाई आफ्नो काम गर्न समय र सहयोग प्राप्त हुन्छ। यस कारण हाम्रो परिवेशमा शिक्षाको सम्बन्धमा छलफल गर्दा जवाफदेहिताको अर्थलाई फराकिलो दृष्टिले हेर्नुपर्दछ जसमा शिक्षकको काम मात्र हैन, सम्पूर्ण शैक्षिक प्रणालीको सहभागितालाई समेत बुझ्नुपर्ने हुन्छ।