द्रोण पर्व–३८

– उमाशङ्कर द्विवेदी
धृतराष्ट्रले भने– सञ्जय, अभिमन्यु मारिएपछि दुःख–शोकमा डुबेका पाण्डवहरूले बिहान भएपछि के गरे ? तथा मेरै पक्षका योद्धाहरूमध्ये ककसले युद्ध गरे ? अर्जुनको प्रतापबारे जान्दाजान्दै पनि उनीहरूले अर्जुनमाथि अपराध गरेर कसरी निर्भय रहन सके ? भगवान् श्रीकृष्ण सबै प्राणीमाथि दया गर्नको लागि कौरव–पाण्डवबीच सन्धि गराउने उद्देश्यले यहाँ आएका बेला मैले मूर्ख दुर्योधनसित भनेको थिएँ– बाबु, वासुदेवको कथनानुसार अवश्य सन्धि गरिलेऊ। यो राम्रो मौका हात लागेको छ, दुर्योधन यस मौकाबाट न चूक। श्रीकृष्ण तिम्रै हितको कुरा गर्दैछन् र स्वयंले नै सन्धिको लागि प्रार्थना गर्दैछन्, यदि तिमीले उनको कुरा मानेनौं भने युद्धमा तिम्रो विजय असम्भव हुनेछ।
श्रीकृष्णले स्वयं पनि अनुनयपूर्ण कुरा गरे तर उसले अस्वीकार गरिदियो। अन्यायको आश्रय लिनाको कारण हाम्रो कुरा उसलाई रुचेन, उसले मेरो अवहेलना गरेर केवल कर्ण र दुःशासनको मतको नै अनुसरण ग–यो। जुवा खेलिएको कुरा पनि मलाई मन परेको थिएन। विदुर, भीष्मजी, शल्य, भूरिश्रवा, पुरुमित्र, जय, अश्वत्थामा, कृप र द्रोण–यिनीहरू पनि जुवाको पक्षमा थिएनन्। यदि मेरो मूर्ख पुत्रले यिनीहरूको राय अनुसार पाइला सारेको भए आप्mनो जाति–भाइ, मित्र सुह्द सबैको साथ चिरकालसम्म सुखपूर्वक जीवनयापन गर्न सक्ने थियो। मैले यो पनि भनेको थिएँ– पाण्डवहरू सरल स्वभाव, मधुभाषी, भाइ–बान्धवको प्रिय गर्ने खालको, कुलीन, आदरणीय र बुद्धिमान् छन्, त्यसैले उनीहरूले अवश्य नै सुख पाउनेछन्। धर्मको पालना गर्ने मानिस सदैव र सर्वत्र सुख पाउँछ नै। मरेपछि उसले कल्याण र आनन्द प्राप्त गर्दछ। पाण्डवहरू पृथ्वीको राज्य भोग गर्ने खालका छन्, त्यसलाई प्राप्त गर्न सक्ने शक्ति पनि उनीहरूसँग छ। पाण्डवहरूलाई जे भनिनेछ, उनीहरूले त्यस्तै गर्नेछन्। उनीहरू सदैव धर्ममार्गमा अवस्थित रहनेछन्। शल्य, सोमदत्त, भीष्म, द्रोण, विकर्ण, बाल्हीक, कृप तथा अन्य बूढापाकाहरूले तिम्रो हितको जुन कुरा गर्नेछन्, त्यसलाई पाण्डवहरूले अवश्य नै मान्नेछन्। श्रीकृष्णले धर्ममार्गलाई कहिल्यै छाड्नुहुँदैन र पाण्डवहरू तिनै श्रीकृष्णका अनुयायी हुन्। मैले पनि यदि धर्मयुक्त वचन भने भनें उनीहरूले त्यसलाई मान्नेछन् किनकि पाण्डवहरू धर्मात्मा हुन्।


सञ्जय, यस प्रकार पुत्रको सामु रोइकराइ गरेर पनि मैले धेरै कुरा भनें तर त्यस मूर्खले मेरो कुनै पनि कुरा सुनेन। जुन पक्षमा श्रीकृष्ण जस्ता सारथि र अर्जुन जस्ता योद्धा छन्, त्यस पक्षको पराजय हुनै सक्दैन। तर के गरूँ, दुर्योधनले मेरो विलौनामाथि अलिक पनि ध्यान दिएन। लौ, अब अगाडिको वृतान्त बयान गर। दुर्योधन, कर्ण, दुःशासन र शकुनि–यी जम्मैले मिलेर के सल्लाह गरे ? मूर्ख दुर्योधनको अन्यायको संग्राममा मेरा सबै पुत्रले के गरे ? लोभी, मन्दबुद्धि, क्रोधी, राज्य हड्प्ने इच्छावाल र रागान्ध दुर्योधनले अन्याय वा न्याय जे जति ग–यो, सबैबारे भन।
सञ्जयले भने– महाराज, मैले सबै कुरो प्रत्यक्ष हेरेको छु, म सबै बताउनेछु, स्थिर भएर सुन्नुहोस्। यस विषयमा तपाईंको पनि अन्याय कम्ती छैन। नदीको पानी सुकिसकेपछि पुलेसो बनाउनु समानको तपाईंको यो विलौना व्यर्थ छ। त्यसैले शोक नगर्नुहोस्। युद्धको अवसर आउने बित्तिकै यदि तपाईंले आप्mनो पुत्रहरूलाई रोकिदिएको भए अथवा कौरवहरूलाई मूर्ख, उदण्ड दुर्योधनलाई थुनामा लिन आज्ञा दिनुभएको भए
अथवा स्वयं पिताको कर्तव्यको पालना गर्दै पुत्रलाई सन्मार्गमा स्थापित गरेको भए आजको यो सङ्कट कदापि आउने थिएन।
तपाईं यस जगत्मा बडो बुद्धिमान् ठानिनुहुन्छ तैपनि सनातन धर्मलाई तिलाञ्जलि दिंदै दुर्योधन, शकुनि र कर्णको ‘हो’ मा ‘हो’ मिलाउनुभयो। यतिबेला तपाईंले जुन अलाप–विलाप सुनाउँदै हुनुहुन्छ, यो सबै स्वार्थ र लोभको वशमा हुनुको कारणले हो। विष मिसाएको महझैं यो बाहिरबाट मीठो देखिए पनि भित्र घातक तिक्तता लिएको छ। भगवान् श्रीकृष्णले तपाईं राजधर्मबाट भ्रष्ट भइसकेको सुइँको पाएर अब तपाईंप्रति आदर बुद्धि राख्नुहुन्न। तपाईंका पुत्रहरूले भगवान् श्रीकृष्णलाई तथानाम फोहोर गाली गरिरहँदा पनि तपाईंले रोक्नुभएन। पुत्रहरूलाई राज्य दिलाउने लोभ तपाईंलाई नै सबैभन्दा बढी थियो, त्यसैको त अब फल सामुन्ने आएको छ। पहिले तपाईंले उनीहरूको बाबु–बराजेको राज्य खोसिलिनुभयो, अब पाण्डवहरूले सम्पूर्ण पृथ्वीलाई जित्नेछन्। यतिबेला युद्ध टाउकोमाथि गर्जना गरिरहेको
हेरेर तपाईंले आप्mना पुत्रहरूका अनेकौं दोष औंल्याउँदै उनीहरूको निन्दा गर्दै हुनुहुन्छ, अब यो कुरा सुहाउँदैन। लौ छाड्नुहोस्, यी कुराहरूलाई, पाण्डवहरूका साथ कौरवहरूको जुन घमासान युद्ध भयो, त्यसको ठीक–ठीक वृतान्त सुन्नुहोस्। क्रमशः…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here