सञ्जय साह मित्र
देशमा वायु प्रदूषण निकै बढेको छ। केही समय पहिले काठमाडौंमा वायु प्रदूषण बढेको समाचार आएको थियो र विस्तारै प्रदूषण कम भएको थियो तर फेरि नेपालमा प्रदूषणको चर्चा निकै बढेको छ। प्रदूषण किन बढ्यो ? यस विषयमा अनेक तर्क आइरहेका छन्। भारतमा धान काटेर डाँठ वा परालमा आगो लगाउँदा वायु प्रदूषण बढेको कुरा पनि आएको छ। देशभरिका वनमा डढेलो लागेर पनि वातावरणमा धूवाँको मात्रा बढ्न गएर प्रदूषित भएको कुरा पनि आएको छ। अहिलेसम्म यी दुई कारण नै बढी सुनिएका हुन्। विगत छ–सात महीनादेखि पानी नपरेको कारण पनि हावामा धूलो र धूवाँको कणको मात्रा बढेको भनाइ पनि बेलाबेलामा सुन्नमा आएको छ। यीबाहेक अन्य सहायक कारणहरू पनि हुन सक्छन्।
यातायातका साधनहरू निर्बाध चलेका छन्। कुन साधनले कति प्रदूषण गर्छ भन्ने कुरातर्फ कसैको ध्यान गएको छैन। सडकमा कुन सवारी साधनले कति धूवFँ फालिरहेको छ भन्ने विषयमा कोही पनि सचेत देखिंदैन। अनगिन्ती ईंटा उद्योग खुलेका छन्। अन्य उद्योगहरूले पनि वातावरणमा त्यत्तिकै प्रभाव पारेको सत्य सबैले बुझेका छन्। सडकहरू जताततै धुलाम्मे छन्। धूलो र धूवाँ उत्पन्न गर्ने अन्य साधन पनि पर्याप्त छन्। निरन्तर वन र वन्य क्षेत्रमाथि आक्रमण भइरहेको छ। मानवीय गतिविधिले वातावरणमा कति असर परिरहेको छ भन्ने विषयमा कोही गम्भीर देखिएको छैन। मानिस लापरवाह र बेपरवाह भएर वातावरणमा प्रहार गरिरहेको छ्। वातावरणमा प्रभाव पार्ने कारकमाथि समयमैं ध्यान नदिंदा निरन्तर समस्या बनिरहेको छ।
हामीले सास लिने वायु अर्थात् प्राणवायु नै प्रदूषित हुँदा त्यसको असर सबैलाई पर्छ। प्राणवायु प्रदूषित हुँदा स्वास्थ्यमा गम्भीर असर पर्ने निश्चित छ। चिकित्सकहरूले अहिले बाहिर निस्कन खतरापूर्ण बताइरहेका छन्। यस अवस्थामा देशका शिक्षालयहरू औचारिक रूपमैं चार दिनका लागि बन्द गरिएको छ। यस विषयमा केही नकारात्मक टिप्पणीहरू पनि आएका छन्। कतिपयले के आरोप लगाइरहेका छन् भने घरमा बस्दा प्रदूषण नहुने र विद्यालय जाँदा प्रदूषण हुने हो र ? घर र विद्यालय जहाँ बसे पनि बालबालिकालाई उही त हो नि १ तर चिकित्सकहरूले घरमा बस्न सल्लाह दिइरहेका छन् र अझ सम्भव हुन्छ भने घरमा पनि झ्याल बन्द गरेर बस्दा राम्रो भनी बताइरहेका छन्। प्रदूषण जहाँ पनि छ, हावाको गुणस्तर निकै कम छ। यस अवस्थामा घर बाहिर जाँदा सवारी साधनको आवागमन निरन्तर भइरहने हुनाले अक्सिजनको मात्रा अझ कम हुन सक्ने तथा अझ बढी खतरनाक वायु बालबालिकाले फोक्सोमा भरिन सक्छ। राज्यले त्यसैले शिक्षालयहरू बन्द गरेको हो। यसैगरी शिक्षालय पुगेपछि कक्षा कोठामा कति विद्यार्थी हुन्छन् भन्ने कुरामा पनि विचार गर्नु आवश्यक छ। एउटा कक्षा कोठामा पचास–साठीजना बालबालिका हुन्छन्। वायुको गुणस्तर कमजोर भएको र एउटा कोठामा पचास–साठीजना बस्ने हो भने हावा झन् प्रदूषित हुने नै भयो र त्यही प्रदूषित हावा बालबालिकाले लिंदा फोक्सोमा के असर पर्ला ?यदि नकारात्मक दृष्टिकोण नराख्ने हो भने राज्यले औसतमा सबै विद्यार्थीको स्वास्थ्यलाई हेर्नुपर्दछ। देशभरको वायुको गुणस्तर कमजोर भएको छ। देशभरको मात्र नभएर छिमेकी अन्य देशको पनि वायुको गुणस्तर कमजोर भएकोले राज्यले बालबालिकाको स्वास्थ्यप्रति गम्भीरता देखाएको हो र यस प्रकार शिक्षालय बन्द गर्ने निर्णय लिनु अघि विभिन्न क्षेत्रसित सल्लाह पनि गरेको हो। यसैगरी देशको विभिन्न भागको वायुको गुणस्तरको विषयमा पनि विश्लेषण गरेको हो। हाम्रो समाजमा पहिलेदेखिकै मान्यता यो पनि हो कि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु जाती। अहिले पनि स्वास्थ्यसित सम्बन्धित संस्था तथा औषधि पसलहरूमा खोकी, रूघा र दमसम्बन्धी रोगीहरूको सङ्ख्या बढेको तथा औषधि सेवनकर्ताहरू बढेको समाचारहरू आएका छन्। केही दिन पहिले त मौसममा एक्कासि आएको परिवर्तनले यस्तो भएको बताइएको थियो तर वास्तवमा मौसममा आएको परिवर्तनभन्दा वायु प्रदूषणले यस्तो भएको हो। मौसम क्षेत्रका जानकारहरूले अझै केही दिन यस प्रकारको वातावरण कायम रहने जानकारी दिंदा चिन्ता थपिएको छ। तर राज्यको जुनसुकै निर्णयको ठाडो विरोध गर्ने, नकारात्मक टिप्पणी गर्नेहरूले आफ्नो गाउँटोलमा अलिकति धूलो र धूवाँ कम होस् तथा वायु प्रदूषण थोरै भए पनि कम होस् भन्ने विचार पु–याउँछन् ? आफ्नै घर वरिपरि धूलो उडिरहेको हुन्छ र एक दुई बाल्टिन पानी सडकमा छम्केर अलिकति भए पनि धूलो कम गर्ने जाँगर कसैले देखाउँदैन। धूलो उडेर आफ्नै घरमा पस्छ आफ्नै स्वास्थ्य बिगार्छ भन्ने बुझेर पनि नगरपालिका र सरकारलाई गाली गर्छौं तर दुई बाल्टिन पानी सडकमा छम्कनु आफ्नै स्वास्थ्यका लागि उपयोगी हुने कुरा बुझेर पनि केही गर्र्दैनौं। बरु घरको फोहोर सम्भव भएसम्म छतबाटै सडकमा फाल्छौं।
हो, कोरोनाकालमा शिक्षाक्षेत्र सबैभन्दा प्रभावित भएको हो तर कोरोनाले नेपालमा मात्र असर गरेको हो कि अन्यत्र पनि ? अझ कतिपय देशले सम्पूर्ण शिक्षालय खोल्न अनुमति दिएका छैनन् वा कतिपय देशका सम्पूर्ण शिक्षालय खुल्न सकेका छैनन्। कतिपय शिक्षालय अनलाइनलाई आधार बनाएर शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाइरहेका छन्। अझ पछिल्लो चरणमा कोरोना महामारीको विस्तार भइरहेको छ। यस दोस्रो लहरले पनि कतैकतै लकडाउनको अवस्था सिर्जना गरिरहेको छ। नेपालमा पनि कोरोनाको दोस्रो लहरको डर पसेको छ। नागरिकलाई सतर्क रहन सम्बन्धित क्षेत्रबाट सूचना सार्वजनिक भइरहेका छन् तर ती सूचनाहरूको बेवास्ता गरिएको पाइन्छ। अहिले खोई सामाजिक वा व्यक्तिगत दूरी बनाएको ? बजारमा जाँदा मास्क लगाउने कतिजना हुन्छन् ? घरमा सेनेटाइजरको प्रयोग गरिरहेका छौं ? राज्यका विभिन्न निकायले सामान्यरूपमा सतर्क वा सावधान रहन गरेको आग्रहलाई बेवास्ता गर्नेहरूले नै बढी मात्रामा राज्यका अन्य सकारात्मक निर्णयलाई पनि नकारात्मक देख्ने गरेका छन् र यसै प्रकारले प्रचार गर्ने गरेका छन्।
घरबाट बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गरौं। मास्कको प्रयोग कोरोना रोकथामका लागि हो र अहिलेको प्रदूषित वायुको कारणले पनि हो। सम्बद्ध क्षेत्रले यो पनि बताइरहेको छ कि सकेसम्म घरबाट बाहिर ननिस्कौं, निस्कनैपर्ने अवस्थामा मास्क प्रयोग अनिवार्य गरौं। मास्कले धेरै हदसम्म हावामा रहेको धूलो, धूवाँ रोक्छ। वायु नै प्रदूषित छ भने फोक्सोमा त्यही प्रदूषित हावा जाने हो भनेर नकारात्मक टिप्पणी गर्ने हो भने पनि मास्कको प्रयोगले केही कम प्रदूषित हावा फोक्सोमा जान्छ। आफ्नै स्वास्थ्यको लागि भए पनि मास्क प्रयोग गरौं तर यदि सामाजिक अगुवा तथा समाजका असल व्यक्तिहरूले मास्क प्रयोग गर्दा अरूले पनि त्यसका अनुसरण गर्छन्। अहिले मास्क लाउनेलाई नकारात्मक रूपमा लिन थालिएको छ तर हावाको प्रदूषणलाई विचार गरिएको छैन। अलिकति सम्झना हुनुपर्छ, अस्पतालमा चिकित्सकहरूले धेरै पहिलेदेखि नै सर्जिकल मास्क प्रयोग गर्दै आएका छन्। हामी सर्वसाधारणले पनि सम्भव भएसम्म घरबाहिर निस्कँदा मास्क प्रयोगलाई संस्कार वा बानीको रूपमा विकास गरौं।
वायु प्रदूषण कम भएर, सन्तुलित हावा प्राप्त हुने वातावरण बन्न सकेमा अवस्था सामान्य हुने कुरामा विश्वस्त रहनुपर्दछ तर अहिले असन्तुलित वातावरणलाई कसरी सन्तुलित बनाउने भन्ने विषयमा विचार गर्नु आवश्यक छ। वायु प्रदूषणलाई कुनै एक व्यक्तिको प्रयासले सन्तुलित बनाउन सकिन्छ भन्ने होइन तर हरेकको गतिविधिले वायु सन्तुलनमा प्रभाव पारिरहेको हुन्छ भन्ने कुरालाई पनि स्वीकार गर्नुपर्छ। जब हरेकको गतिविधिले वायु प्रदूषण प्रभावित भइरहेको हुन्छ भने हरेकको गतिविधिले वायु प्रदूषणलाई कम गर्न पनि सहयोग पुग्दछ। अहिले जब वायु प्रदूषण अत्यन्त खतरनाक तहमा पुगिसकेको छ तब हरेकले कसरी वायु–सन्तुलन गर्ने भन्नेतिर विचार गरी सो अनुरूप प्रयास गर्ने कि ? मुख्यगरी वातावरणविद् तथा वातावरणसित सम्बन्धित संस्थाहरूले वायु प्रदूषणलाई स्थानीयस्तरमा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा गम्भीर हुनु आवश्यक भइसकेको छ।