प्रस, महोत्तरी, ३ चैत/
मिथिला माध्यमिकी यात्रा मङ्गलवार देखि महोत्तरी जिल्लामा प्रवेश गरेको छ। यात्रा शुरू भएको चौथो दिन महोत्तरी प्रवेश गरेको हो।
यात्राको तेस्रो दिन सोमवार राति भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको गिरिजास्थानमा यात्रीहरूले विश्रमा लिएका थिए। मङ्गलवार एकाबिहानैदेखि महोत्तरीको भारतीय सीमावर्ती क्षेत्र मटिहानीमा यात्रा आइपुगेको हो।
बितेको शनिवार धनुषाको ठेराकचुरीबाट माध्यमिकी परिक्रमा यात्रा शुरू भएको थियो। यात्रीले क्रमशः धनुषाको हनुमानगढी, भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर र गिरिजास्थानमा पहिलो, दोस्रो र तेस्रो दिनको रात्रिविश्राम गरिसकेका छन्। गिरिजास्थानबाट सीमावर्ती भारतीय बजार मधवापुर हुँदै यात्री नेपालको महोत्तरी जिल्लाको मटिहानी प्रवेश गरेका हुन्। यात्रीलाई मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी र मटिहानी नगरवासीले भव्य स्वागत गरेका थिए।
गिरिजास्थानबाट मटिहानीसम्म १५ दिने धार्मिक यात्रामा सहभागीहरूको उत्साहजनक सहभागिता देखिएको छ। आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी यात्रीहरूको भोजन, आवास, खानेपानी, प्राथमिक उपचार र आइपर्ने अन्य कुनै कामका लागि हरेक विश्रमास्थलमा स्वयंसेवकसहितको आवश्यक प्रबन्ध रहेको यात्राका अगुवाहरूले बताएका छन्।यात्राको चौथो दिन मटिहानी आइपुगेका यात्री आठौं दिनसम्म महोत्तरी जिल्लाका क्षेत्रमा नै यात्रारत रहनेछन्। चौथो दिनको रात्रिविश्राम मटिहानीमा, पाँचौं दिन जलेश्वरमा, छैटौं दिन मडै, सातौं दिन ध्रुवकुण्ड र आठौं दिन कञ्चनवनमा रात्रिविश्राम हुने र सोपश्चात् पुनः धनुषा जिल्ला प्रवेश गर्ने यात्रा तालिका छ।
नेपाल र भारतका क्षेत्रसमेत गरी जम्मा १३३ किलोमिटर लामो पदयात्रामध्ये महोत्तरी जिल्लाको क्षेत्रमा २५ किलोमिटर दूरीको यात्रा गरिन्छ।
त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात् मिथिलाका विभिन्न ठाउँमा विहार गरेका भन्ने शास्त्रीय मान्यताको आधारमा मिथिला माध्यमिकी परिक्रमाको परम्परा रहिआएको हो। मिथिला संस्कृति र परम्पराका जानकारहरूका अनुसार अठारौं शताब्दीदेखि मिथिला माध्यमिकी परिक्रमाको सुरुआत भएको हो। रामसीताका पदचाप पछ्याउँदै प्रतिमा राखिएको डोलीअगाडि लगाएर यो यात्रा गरिन्छ। यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ।
यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास कोष र धार्मिक मठहरूले संयोजन तथा समन्वय गर्दै आएका छन्। फागुन औंसीबाट शुरू भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न गरिने मिथिला माध्यमिकी परिक्रमालाई मिथिलाको महाकुम्भ पनि भनिन्छ।