प्रस, पोखरिया, २७ वैशाख/
पर्साको पोखरिया नगरपालिका वडा नं ९ मा ‘मधेस माटो पार्क’ निर्माणको शनिवार शिलान्यास गरिएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संयुक्तरूपमा सो पार्क निर्माणको शिलान्यास गरेका हुन् । मुख्यमन्त्री सिंहले उक्त पार्कमा हाल पर्खाल र मुख्य प्रवेशद्वार निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ विनियोजन गरिसकेको बताए ।
पोखरियामा निर्माण थालिएको ‘मधेस माटो पार्क’लाई मधेसको एकता, पहिचान र गौरवको प्रतीकको रूपमा विकास गर्ने लक्ष्य लिएको अध्यक्ष डा राउतले बताए । उनका अनुसार उक्त पार्कमा मधेस प्रदेशका १३६ वटै पालिकाका संस्कृति र पहिचान झल्काउन ती पालिकाका धार्मिक एवं ऐतिहासिक स्थलबाट सङ्कलन गरिएका माटो स्थापना गरिनेछ । अध्यक्ष डा राउतले केही वर्ष अघि सञ्चालन गरेको ‘माटो यात्रा’ अभियान अन्तर्गत मधेस प्रदेशका विभिन्न ठाउँको माटो सङ्कलन गरेका थिए । त्यही माटोलाई पार्कमा स्थापित गरिने बताइएको छ ।
शिलान्यास कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, जनमत पार्टीका सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो।