प्रस, वीरगंज, २७ वैशाख/
वीरगंज महानगरपालिका वडा नं १६ नगवामा खानेपानी वितरणका लागि करीब रु चार करोड ५० लाखको लागतमा ओभरहेड टङ्की निर्माण कार्य शुरू भएको छ । शनिवार सङ्घीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले उक्त खानेपानी ओभरहेड टङ्कीको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख एवं नेपाल खानेपानी संस्थान सञ्चालक समितिका सदस्य राजेशमान सिंह पनि सहभागी थिए । खानेपानी मन्त्रालयको नगवा खानेपानी योजना अन्तर्गत त्यहाँ ४५० घनमिटर क्षमताको खानेपानी ओभरहेड टङ्की निर्माण गर्न थालिएको हो । कार्यक्रममा मन्त्री यादवले ओभरहेड टङ्की निर्माणपछि नगवा र त्यस आसपासका क्षेत्रका बासिन्दालाई शुद्ध, सुरक्षित र व्यवस्थितरूपमा खानेपानी उपलब्ध हुने बताए ।
शुद्ध खानेपानी प्रत्येक नागरिकको पहुँचमा ल्याउनुपर्ने सरकारको दायित्व भएकोले यो आयोजना तोकिएको समयसीमाभित्र सफलतापूर्वक सम्पन्न हुनुपर्ने बताए । नगरप्रमुख सिंहले नगवामा ओभरहेड टङ्की निर्माणापछि वडा नं १६ का नागरिकले सहजरूपमा स्वच्छ खानेपानी पाउने बताए । यस आयोजनाले स्थानीयको जीवनस्तरलाई सहजता प्रदान गर्ने भन्दै उनले आयोजना निर्माणका लागि पहल गरेकोमा मन्त्री यादवलाई धन्यवाद दिए ।
वडा नं १६ की वडासदस्य लवङ्गी देवीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, जसपाका केन्द्रीय सदस्यहरू पुरुषोत्तमलाल झा, मधुमाया यादव, सङ्घीय परिषद् सदस्य असलम आलम, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, वडाध्यक्ष रमेश यादव, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबू ढकाल, जसपाका जिल्ला अध्यक्ष सिंघासन साह तेलीलगायतको पनि सहभागिता थियो