जीवनमा परिस्थितिहरूको आरोह–अवरोधका बीच प्रसन्न रहनका लागि अब जैव रसायनहरूको भूमिका सुनिश्चित भइसकेको छ । तर यिनको सम्बन्ध परिवेश, जीवनशैली तथा मनःस्थितिसित पनि सोझै जोडिएको हुन्छ । यस आधारमा हामी आफ्नो चिन्तन तथा जीवनशैलीलाई अनुशासित राख्दै, यिनमा सानासाना सुधारहरू गर्दै ह्याप्पिनेस हार्मोन्सलाई सक्रिय पार्न सक्छौं र एउटा प्रसन्न एवं सन्तोषजक जीवन बाँच्न सक्छौं । यस पृष्ठभूमिमा डोपामिन, आक्सिटोसिन, एन्डोर्फिन, रिोटोनिनजस्ता ह्याप्पिनेस हार्मोनमाथि प्रकाश पारिएको छ ।
डोपामिनलाई दि रिवार्ड रसायन पनि भनिन्छ । यसले हामीलाई जीवन्त र सजग राख्दै प्रसन्नताको अवदान दिन्छ । यो हाम्रो कामसँग जोडिएको उपलब्धि एवं सन्तुष्टिसँग पनि जोडिएको छ, जब हामी आफ्नो निर्धारित लक्ष्य हासिल गर्दछौं, आफ्नो कर्तव्यको सही निर्वहन गर्दछौं, अनि यो स्राव हुन्छ र जीवनमा एउटा खुशीको अनुभूति छचल्किन्छ ।
यसको आत्मसुधार एवं आत्मनिर्माणका गतिविधिहरूसँग सोझो सम्बन्ध छ । अतः हामी जति आफ्नो जीवनको ध्येयतिर अग्रसर हुन्छौं त्यति नै राम्रो अनुभूति पाउँछौं । अतः हामी निर्धारित दिनचर्या एवं कार्यक्रमहरूलाई एक–एकगरी हासिल गर्दै जाऔं तथा जीवनमा तत्काल यसको सकारात्मक प्रभाव अनुभव गरौं ।
यो पनि पाइएको छ कि पचास प्रतिशत डोपामिन आन्द्रामा तयार हुन्छ, अतः हाम्रो मानसिक स्वास्थ्य र निरोगिताका लागि यसतर्फ ध्यान दिन आवश्यक हुन जान्छ । यसैगरी मन परेको पौष्टिक भोजन गर्दा पनि यसको स्राव हुन्छ, मात्र यति ध्यान राख्नुपर्छ कि त्यो प्राकृतिक होस्, स्वास्थ्यका लागि हानिकारक नहोस् र अन्य प्राणीको हिंसा वा दोहन–शोषणबाट प्राप्त भएको नहोस् । यसका साथै मन परेको सङ्गीत सुन्दा पनि डोपामिनमा वृद्धि हुन्छ, अतः यस्तो सङ्गीतको सकेसम्म लाभ लिउँ ।
आक्सिटोसिन अर्को ह्याप्पिनेस हार्मोन हो, जसलाई भावनात्मक हार्मोन पनि भनिन्छ । यो आपसी सम्बन्ध तथा विश्वाससँग जोडिएको रसायन हो, जसले प्रकारान्तरमा हाम्रो प्रसन्नतामा वृद्धि गर्दछ । क्यालिफोर्नियाको क्लेरमोन्ट विश्वविद्यालयमा महिलाहरूमाथि यसको प्रभावबारे व्यापक शोध भएका छन् र यसको स्रावलाई जीवनको सन्तुष्टिको स्तरसँग जोडेर हेरिएको छ ।
पुरुषहरूको अपेक्षा यसले महिलाहरूको शरीरक्रिया विज्ञान तथा प्रसन्नतामा बढी प्रभाव पार्दछ । आप्mना प्रिय व्यक्तिहरूका साथ समय बिताउँदा तथा अरूप्रति दया–भाव राख्दा आक्सिटेसिन स्रावित हुन्छ । यस हार्मोनको निरोगिता एवं दीर्घायुष्यका साथ सम्बन्ध पाइएको छ ।
यसलाई आत्मीयता विस्तारसँग जोडिएको हार्मोन भन्न सकिन्छ । जति हामी आफ्नो सङ्कीर्ण परिधिबाट माथि उठ्दै जान्छौं, अरूसँग जोडिंदै जान्छौं, खाँचो परेको मानिसका काम लाग्छौं, यस हार्मोनको स्राव हुन्छ र जीवनमा प्रसन्नताको सञ्चार हुन्छ । निस्सन्देह आफ्ना मानिसको आत्मीय स्पर्शले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसका साथ घरपालुवा पशुहरूका साथ अपनत्वले भरिएको क्षणले यसलाई उत्सर्जित गर्दछन्, अतः घरपालुवा जनावरसँग बिताएको समय महत्वपूर्ण हुन जान्छ ।
अरूको साथ घुलमिल तथा समाजीकरणको प्रक्रिया यसमा सहायक बन्दछ तथा अरूलाई मदत गर्दा यसमा वृद्धि हुन्छ । यस सन्दर्भमा आपसी सम्बन्धमा विश्वास, दायित्वबोध, उदारता, कृतज्ञताजस्ता सद्गुणहरूको अभ्यासको महत्वलाई बुझ्न सकिन्छ । समग्रमा स्वार्थबाट परमार्थको यात्रा, ‘म’बाट ‘हाम्रो’ भाव, ‘मेरो’ साटो ‘हाम्रो’ विकास हुँदा आक्सिटोन हार्मोन स्राव हुन्छ जुन प्रसन्नताको आधार बन्दछ ।
अतः के आवश्यक हुन पुग्छ भने आजको सोसल मेडियाको युगमा मोबाइलको साटो केटाकेटी, परिवारजन, तथा पालुवा जनावरका साथ बढी समय बिताऔं, जुन जीवनको खुशी तथा प्रसन्नताको दृष्टिले एउटा विवेकपूर्ण पाइला हुनेछ ।
एन्डोर्फिन्स एउटा दुःखाइ निवारक वा पीडारोधी हार्मोन हो । यसले जीवनको प्रतिरोध क्ष्Fमता बढाएर जीवनमा कष्टहरूका बीच एउटा सन्तुलित जीवनको आधार प्रदान गर्दछ र जीवनको प्रसन्नतामा वृद्धि गर्दछ । हामी कति व्यायाम गर्दछौं, गीत–सङ्गीत सुन्दछौं, स्वस्थ मनोरञ्जनमा भाग लिन्छौं तथा सरल–सहज, मुस्कुराहट, हाँस्दो–खिलखिलाउँदो जीवन बाँच्दछौं, यसबाट एन्डोर्फिन हार्मोनको स्राव हुन्छ, जसले एउटा स्वस्थ तथा नीरोग जीवनलाई पुष्ट गर्दछ तथा यसले जीवनमा उत्फुल्ल अनुभूतिलाई बढाउँछ ।
सिरोटिन मनोदशालाई सन्तुलित पार्ने हार्मोन हो । अवसादको उपचारमा प्रयुक्त गरिने एसएसआरआई (सेलेक्टिभ सिरोटोनिन रिअपटेक इन्हिबिटर) औषधिका कारण यो चर्चामा आएको थियो, जसले मस्तिष्कको सिरोटोनिन स्तरलाई बढाउँछ । सिरोटोनिनलाई प्राकृतिकरूपले बढाउने सबैभन्दा प्रभावशाली तरीका हो नियमित व्यायाम ।
यही कारण हो कि तीव्र गतिकोे हिंडाइले मनमा आश्चर्यजनक परिवर्तन ल्याउँछ । शोधका आधारमा के पाइएको छ भने यसको निर्माणमा पनि आन्द्राका जीवाणुहरूको भूमिका हुन्छ । यस्तोमा केस्रायुक्त तथा थोरै चिल्लो आहार निकै उपयोगी हुन्छ । केस्रायुक्त मोटो अन्न तथा कार्बोहाइड्रेटले सिरोटोनिनको स्तर बढाउँदछ, यही कारण हो कि जब हाम्रो मन अमिलिन्छ, त्यो गुलियो तथा स्टार्चयुक्त भोजनतर्फ लहसिन्छ ।
सूर्यको प्रकाशमा सूर्यस्नानदेखि लिएर प्रकृतिको काखमा समेत पञ्चतत्त्वहरूको सान्निध्यले सिरोटोनिन स्रावित हुन्छ । यसका साथै ध्यान तथा मनको शान्त, स्थिर तथा एकाग्र मनोभूमिले यसमा थप वृद्धि गर्दछन् । यसरी जीवन बढी सन्तुलित, प्रसन्न तथा आन्तरिकरूपले खुशीले भरिन्छ ।
एस्ट्रोजन, सिरोटोनिन निर्माणमा सहायता गर्दछ र झर्काइ एवं उद्विग्नताबाट रक्षा गर्दछ । यसले बढ्दो उमेरका साथ धूमपान तथा बढी व्यायामजस्ता जीवनशैलीका कारकहरूलाई घटाउँछ । यसको असन्तुलन मनको विकारको कारण बन्दछ । तनाव प्रबन्धनले यी हार्मोनहरूको स्रावलाई सन्तुलित बनाउँछस किनकि कोर्टिसोलजस्तो तनाव हार्मोनले प्रसन्नताका उपरोक्त दुई हार्मोनहरूको स्रावमा व्यवधान पुर्याउँछ । योग तथा ध्यानजस्ता तनावबाट मुक्त पार्ने गतिविधिहरूले एस्ट्रोजनको स्तरलाई बढाउँछन् । आफ्नो प्रकृति अनुसार तथा मौसम हेरेर तातो वा चीसो पानीले स्नान गर्नुका साथै यस दिशामा प्रयोग गर्न सकिन्छ ।
प्रोजेस्ट्रोनले उद्विग्नता, झर्काइ तथा मन बिग्रने क्रिया रोक्दछ तथा राम्रो निद्रामा सहायक बन्दछ । प्रायः महिलाहरूमा ३५–४० वर्षको आयुपछि यस ह्याप्पी हार्मोनको स्तर खस्कन्छ तथा अत्यधिक तनाव र असन्तुलित आहारले यो खस्काइ झन् तीव्र बन्न पुग्छ । विशेषज्ञहरूका अनुसार सही भोजन तथा सन्तुलित दिनचर्या यस हार्मोनलाई सन्तुलित गर्ने प्रभावकारी उपाय हो ।
यस प्रकार जीवनको गुणवत्ता सुनिश्चित गर्ने यी ह्याप्पिनेस हार्मोनहरूको प्रकृति बुझ्दै, उचित परिवेश, प्राकृतिक जीवनशैली, सन्तुलित आहार–विहार एवं सकारात्मक चिन्तनका साथ यिनको स्रावलाई नियमित गर्दै एउटा स्वस्थ, नीरोग एवं प्रसन्न जीवन सुनिश्चित गर्न सकिन्छ ।