दिगो वन व्यवस्थापनबारे तालीम

प्रस, परवानीपुर, २५ फागुन/
डिभिजन वन कार्यालय, पर्साको आयोजना र सुनरस कन्सल्टेन्सी एन्ड ट्रेडर्स प्रालि वीरगंजको सहयोगमा आइतवारदेखि वीरगंजमा तीन दिने वन व्यवस्थापनसम्बन्धी तालीम शुरू भएको छ ।

जिल्ला समन्वय समिति, पर्साको सभाहलमा आयोजित दिगो वन व्यवस्थापन एवं संवद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरण तालीममा वनकर्मीहरूको क्षमता अभिवृद्धि गरी वन व्यवस्थापनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

वन व्यवस्थापनमा वातावरणीय र आर्थिक पक्षलाई ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन् । तालीममा सहभागी साझेदारी वनका पदाधिकारी, सञ्चारकर्मी, राजनीतिक दलका अगुवाले दिगो वन व्यवस्थापन तथा संवद्र्धन प्रणाली कार्यान्वयन सुदृढीकरण कार्यक्रममा सहभागी वक्ताहरूले वनलाई वातावरणीय र आर्थिक दुवै दृष्टिबाट हेर्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा राजेशकुमार राईले कार्यक्रमको उद्घाटन गर्दै वन व्यवस्थापनको विषयमा वातावरणीय मात्रै नभएर आर्थिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताए ।

उनले भने– वन संरक्षणको कुरा गरेर मात्रै हुँदैन, वनबाट स्थानीय जनता लाभान्वित भए कि भएनन् भन्ने पक्षलाई पनि ध्यान दिन जरुरी भइसकेको छ । उनले अबको दिनमा वन व्यवस्थापन पनि स्रोतको रूपमा प्रयोग गर्न जरुरी भइसकेको बताए ।

मधेस प्रदेश वन निर्देशनालयका वन निर्देशक जगनाथप्रसाद जयसवालले वनजङ्गलको प्राकृतिक स्रोतको दिगोपनमा ध्यान दिन जरुरी रहेको बताए । वन पैदावर प्राकृतिक स्रोत भएकाले पनि सबैले हातेमालो गरेर जोगाउन जरुरी भइसकेको उनको भनाइ थियो ।

डिभिजन वन कार्यालय, पर्साका प्रमुख मञ्जुर अहमदले पर्सामा साझेदारी र सामुदायिक वनमार्फत वनजङ्गलको संरक्षणमा दिगोपन खोज्दै आइरहेको बताए । उनले सीमित स्रोत साधन र जनशक्तिका बावजूद वनजङ्गल संरक्षण गर्नेतर्फ अग्रसर हुँदै आइरहेको बताउँदै भावी पुस्ताका लागि पनि वनजङ्गल जोगाउन अनिवार्य भएको बताइन् ।

जिल्ला समन्वय समिति, पर्साका उपाध्यक्ष पुरनकुमार कुर्मीले वनजङ्गल एक व्यक्ति र संस्थाले मात्रै संरक्षण गर्न नसक्ने भएकोले सामूहिक प्रतिबद्धताबाट मात्र सम्भव हुने बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्