प्रस, वीरगंज, २६ फागुन/
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक ध्रुवीकरणको अभियान अबको आवश्यकता रहेको बताएका छन् ।
रौतहटको चन्द्रपुरमा आयोजना भएको प्रेस चौतारी नेपाल मधेस प्रदेशको सोमवार दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा नेता पोखरेलले आन्दोलनमा रहेकालाई जोडेर बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । बलियो राष्ट्रिय शक्तिले नै बलियो र समृद्ध राष्ट्र निर्माण गर्ने उनको भनाइ थियो ।
उनले काठमाडौंमा पूर्वराजालाई स्वागत गर्ने भनेर एउटा तमासा देखाइएको बताए । पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्राध्यक्षको हैसियतले राज्यले सम्मान नै गरेको पोखरेलको भनाइ थियो । पूर्वराजालाई देशका कुनै पनि भागमा घुम्ने स्वतन्त्रता रहेको उनले बताए । त्यसैले पूर्वराजा कुनै ठाउँबाट कुनै ठाउँमा आउजाउ गर्दा हल्लाखल्ला गर्नुको कुनै अर्थ नरहेको उनले बताए ।
अहिलेको संविधानमा बदलाव ल्याउन कसैलाई इच्छा छ भने संसद्मा दुई तिहाइ बहुमत ल्याएर आफू अनुकूल संविधान परिवर्तन गर्न उनले चुनौती दिए । जनता मेरो पक्षमा छन् भन्नेले त्यो आँट त गर्नै प¥यो, जुन बाटो छ, त्यो बाटो नहिंड्ने, भीर–कान्लामा हिंड्न खोज्ने, लोकतन्त्रको राजमार्ग छँदैछ, भीर–कान्लाको बाटो किन हिंड्नुप¥यो, भीर–कान्लाको बाटो नहिंडौं, दुर्घटनामा परिएला, राजावादीहरूले यो कुरा बुझे हुन्छ, उनले भने ।
नेपालमा केही भएको छैन, राजाको पालामा उल्का भएको थियो भन्नेलाई विगतमा भएको आर्थिक, भौतिक र सामाजिक विकाससँग अहिले भएको विकासलाई तुलना गरेर हेर्न पोखरेलले चुनौती दिए । गणतन्त्रले हरेक नागरिकलाई अवसर दिएको उनले बताए । त्यसैले गणतन्त्र र राजतन्त्रको तुलना नै गर्न नसकिने उनले दाबी गरे । राजाको शासनकालसँग तुलना गर्ने हो भने नेपालमा विकासको चमत्कार नै भएको छ, शाहवंशीय राजतन्त्रको कारण आज हाम्रो देश पछाडि प¥यो भन्ने कुरा जनतालाई बुझाउन सक्नुपर्छ, पोखरेलले भने ।
अहिले युवा सबै विदेश गए भनेर निराशाको कुरा गर्ने गरिएको बताउँदै पोखरेलले लाहुर जाने नेपाली समाजको विशेषता नै भएको बताए । यो नेपाली समाजको संस्कार भएको उनको भनाइ थियो । अहिले पनि ७० लाखदेखि एक करोडसम्म खर्च गरेर चोर बाटो हुँदै अमेरिका जाने मानिस भएको बताउँदै उनले त्यो पैसाबाट देशभित्रै धेरै काम गर्न सकिने बताए । अमेरिका जान ८०/९० लाख खर्च गर्न सक्नेलाई देशमा नै केही गर्न सकिन्छ भन्ने मनोवृत्ति विकास गराउनुपर्ने पोखरेलले बताए ।
पोखरेलले गणतन्त्रवादीहरू झगडा गर्दा राजावादीहरूले टाउको उठाउने गरेको बताए । त्यही अस्थिरतालाई चिर्न एमाले र नेका मिलेको उनको भनाइ थियो ।
कार्यक्रममा एमालेका नेताहरू राजेन्द्र गौतम, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, चौतारीका श्याम बन्जारा, कमल अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।