प्रस, वीरगंज, २५ फागुन/
मिटर ब्याजपीडित किसान, मजदूरहरूले आइतवार वीरगंजमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
बिपी उद्यानबाट निकालिएको ¥याली जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगेर प्रजिअ गणेश अर्याललाई ज्ञापन बुझाएको थियो ।
सरकारले पनि मिटर ब्याजका कारण सम्पत्ति गुमाएका, जेल बसेका तथा अधिकांश व्यक्ति फरार रहेका अवस्थामा कानून संशोधन गरी देशभरि समस्या सुन्ने र निर्णय दिने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको कारण आज प्रदर्शनसहित प्रजिअलाई ज्ञापन बुझाएको शम्भु यादवले बताए ।
मिटर ब्याजपीडितहरूको निवेदन अनुसार न्याय गर्दा कानून बाँझिने भएकोले सरकारले कानून संशोधन गरी नयाँ कानून बनाउने सहमतिपछि आन्दोलन स्थगित भएको थियो ।
तर सहमतिको आठ महीना बितिसकेको र कानून संशोधन नभएको भन्दै पर्साका पीडितहरूले विरोध ¥यालीसहित ज्ञापन बुझाएको यादवले बताए ।
कानूनका दफाहरू बाँझिएका कारण पीडकहरू अहिले कानूनको दायरामा आउन सकेका छैनन् । कानून संशोधन नहुँदा मिटरब्याज पीडकहरूले अदालतबाट निषेधाज्ञा लिएर आफूलाई बचाउ गर्दै आएको मिटरब्याज पीडित सङ्घ पर्साका अध्यक्ष कृष्णराज ठाकुरले बताए । उनले केही मिटरब्याजीहरूबाट पीडितहरूको सम्पत्ति फिर्ता भएको तर सबैले न्याय नपाएको बताए । उनले शुरूका दिनमा पीडकहरू डराएका र पीडितहरूको सम्पत्ति फिर्ता दिने काम गरेका तर पछिल्लो समयमा उनिहरूको मनोबल बढाउने काम भएको र अहिले उल्टो ठूला पीडकहरूले पीडितलाई दुःख दिने गरेको बताए । अहिले पीडकहरूले प्रहरीलाई समेत टेर्न छाडेको बताए । अध्यक्ष ठाकुरले मिटरब्याजविरुद्ध देशभर प्रदर्शन गरी दवावको कार्यक्रम गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले पिडीत पिडक तथा गृहमन्त्रालय बिच त्रिपक्षिय सहमती भएको बताए । उनले राज्यले पिडीतहरूको हकमा केही बिषयहरू संसोधन गर्न सहमती जनाएको थियो । तर अहिलेसम्म के कारणबाट नभएको आफुलाई जानकारी नभएको भन्दै यसबारेमा मन्त्रालयबाट बुझेर जानकारी गराउने बताए ।