प्रस, वीरगंज, ७ फागुन/
मुख्यमन्त्री सिंहले बुधवार साँझ वीरगंजस्थित दुईवटा क्यासिनोमा छड्के जाँच गरेका छन् ।
नेपाली नागरिकहरूलाई प्रवेश गराएर क्यासिनो सञ्चालनमा रहेको सूचनाका आधारमा मुख्यमन्त्रीले लड्र्स दियालो र सुरज होटलमा सञ्चालित क्यासिनोमा छड्के जाँच गरेका थिए । उनले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक रहेकोले भित्र प्रवेश नगरी बाहिरबाट कागजपत्र, सिसिटिभी चेक गरेका थिए ।
लड्र्स दियालोको क्यासिनोबाट नेपाली नागरिक फेला परेनन् तर सुरजको क्यासिनोबाट एकजना नेपाली नागरिक फेला परेको र उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । वीरगंजमा भिस्वा होटल र क्लार्क रिसोर्टसमेत गरी चार स्थानमा र बाराको इच्छा होटलमा क्यासिनो सञ्चालन हुँदै आएको छ ।
मुख्यमन्त्रीले आज दुईवटा होटलमा रहेको क्यासिनोमा छड्के अनुगमन गर्ने सूचना दिउँसै बाहिरिएको थियो । सोही सूचनाका आधारमा क्यासिनो सञ्चालकहरूले आज नेपाली नागरिकलाई प्रवेश रोक लगाएको स्रोतले जनाएको छ । मुख्यमन्त्रीले सूचना चुहिएको बारेमा पनि सोधखोज शुरू गरेको थाहा हुन आएको छ ।
पर्सा र बाराका क्यासिनोहरूमा पछिल्लो समय ८० प्रतिशतभन्दा बढी ग्राहक नेपाली नागरिक हुन्छन् । क्यासिनोका कारण कतिपय बिल्लबाठ परिसकेका छन् भने केहिले आत्महत्या पनि गरेका छन् ।
स्थानीय प्रहरी प्रशासनले क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश दिएकोमा चासो नदेखाएपछि अहिले पर्सा र बाराका क्यासिनोहरूमा नेपाली नागरिकको निर्बाध प्रवेश हुने गरेको छ ।