प्रस, रौतहट, ८ फागुन/
रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको मौखिक प्रतिबद्धतामा आमरण अनशन फिर्ता भएको छ ।
रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप नाकामा छोटी भन्सार कार्यालय स्थापना माग गर्दै स्थानीय तीनजनाले हिजो बिहानदेखि शुरू गरेको आमरण अनशन राति प्रजिअ रेग्मीको मौखिक प्रतिबद्धतामा फिर्ता लिइएको हो । उनले सो नाकाबाट पूर्ववत्रूपमा सञ्चालनमा रहेको चार पाङ्ग्रे सवारीसाधन ‘इन्ट्री’ गराएर जान पाउने प्रतिबद्धता जाहेर गरेका थिए ।
उनको प्रतिबद्धतापछि आमरण अनशनमा बसेका साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हकले आमरण अनशन तोडेका थिए । जनमत पार्टीका जिल्ला अध्यक्ष शेख जमसैदको पहलमा प्रजिअबाट प्रतिबद्धता व्यक्त गराइएको र आमरण अनशन तोडिएको थियो । प्रजिअको प्रतिबद्धता अनुसार आज बिहीवार यो नाकाबाट चार पाङ्ग्रे सवारीसाधनहरूले भारत प्रवेश पाएका थिए । तर भारतीय पक्षले भने ती सवारीसाधनहरूलाई भारत प्रवेश गर्न रोक लगाएको स्थानीयले बताए ।