प्रस, वीरगंज, ८ फागुन/
भूमिसुधार तथा मालपोत कार्यालय, बाराका अधिकृत, नापी अधिकृतसहित आठजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीवार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।
आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, बाराका मालपोत अधिकृत सुमनप्रसाद चौधरी, तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव, नापी कार्यालय, बाराका तत्कालीन नापी अधिकृत हाल अवकाशप्राप्त दिनानाथ मिश्र, तत्कालीन सर्वेक्षक हाल नापी कार्यालय, पर्सामा कार्यरत नापी अधिकृत शिवबालक साह, नापी कार्यालय, बाराका तत्कालीन सर्वेक्षक सुनीलकुमार झा, जीतपुरसिमरा उपमहानगरपालिका–१३ बस्ने लेखापढी व्यवसायी जयलाल सहनी, जीतपुरसिमरा उपमहानगर–१५ बस्ने जग्गाधनी सुदामाप्रसाद चौधरी थारू र रामपतीदेवी थरुनीविरुद्ध भ्रष्टाचार मुदा दायर गरिएको उनले बताए ।
अभियुक्तहरूले बारा जिल्ला साबिक डुमरवाना गाविस–६ ‘क’को एक कट्ठा जग्गा भएको श्रेस्तामा किर्ते गरी तीन कट्ठा १० धुर कायम गरी बिक्री गरेको आयोगको दाबी छ ।
यसैगरी, दुई कट्ठा १० धुर भएको जग्गाको श्रेस्तामा किर्ते गरी छ कट्ठा कायम गरी नापी कार्यालय, बारा र मालपोत कार्यालय, बारासमेतको मिलेमतोमा श्रेस्ता पुर्जा तयार गरी किर्ते ठगी गरेको अनुसन्धानको क्रममा देखिएको आयोगले जनाएको छ ।
अभियुक्तहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार जनही डेढ लाख जरिबाना र कैद सजायको मागदाबी गरिएको सहायक प्रवक्ता थपलियाले बताए ।