– अनन्तकुमार लाल दास
सामुदायिक विद्यालयको खस्कँदो स्थितिको सम्बन्धमा चर्चा गर्दा सम्पूर्ण दोष त्यहाँ काम गर्ने शिक्षकहरूमाथि थुपार्ने आम प्रवृत्ति भइसकेको छस किनभने यो आफ्नो दोष लुकाउने सबैभन्दा सजिलो तरीका हो। यदि इमानदारीका साथ दोष कसको हो भनेर खोज्ने हो भने शिक्षासँग सम्बन्धित सबैको वास्तविकता खुल्ने डर छ। यस्तो शिक्षक विरोधी वातावरणमा शिक्षकहरूको मनोविज्ञान, उनीहरूको समस्या र उनीहरूको कार्यको पुनर्समीक्षा गर्ने खाँचो रहेको बहस यस आलेखमार्फत उठान गर्न खोजेको छु।
भारतीय साहित्यकार मुंशी प्रेमचन्दले भारतको तत्कालीन शिक्षा व्यवस्थामाथि प्रहार गर्दै के भनेका थिए भने–“मुआइने पर भारी खर्च किया जाता है और मुदर्रिस (शिक्षक) भूखा रह जाता है।” कुरो पुरानो हो तर नेपालको सन्दर्भमा भन्नुपर्दा यो ‘परिदृश्य’ परिवर्तन भएको छैन। हरेक वर्ष ठूलो स्वरमा शिक्षा दिवसमा हुने कार्यक्रम नारामा मात्र सीमित रहन्छ। शैक्षिक नियुक्तिमा ‘लेनदेनको नयाँ तन्त्र’ सँगै शिक्षकहरूलाई धम्काउने र दबाउने ‘व्यवस्थापन समिति’ जस्तो नयाँ शक्ति पनि देखा परेको छ। खस्कँदो सामुदायिक शिक्षा र व्यापार बनिसकेको संस्थागत शिक्षा वा पसलमा आप्mनो कमाइ खर्च गरेर राम्रो शिक्षाका लागि त्रसित मानिसहरूको आक्रोशमाथि शिक्षामा मनगढन्त कुराको मलहम लगाउँदै गैरसरकारी सङ्गठनका शिक्षकहरूभन्दा कैयौं गुणा बढी वेतनभोगी कार्यकर्ता र उनीहरूको अगाडि नतमस्तक शिक्षा प्रमुख इमानदार शिक्षकहरूलाई पनि बेइमान बनाउने षड्यन्त्रमा लिप्त छन्।
नेपालमा लोकतन्त्रको पुनर्बहाली पश्चात् पनि ‘सामन्तवादी सोच’मा परिवर्तन भएको छैन। आपूभन्दा सानो पद वा कदका मानिसलाई मूर्ख वा महत्वहीन ठान्ने प्रवृत्तिमा कमी आएको छैन। आज पनि मधेसीहरूले राज्यसत्ता सञ्चालन गर्न सक्दैनन् भन्ने सोच खसवादीहरूको रहेकोजस्तै महिलाहरूको तुलनामा पुरुषहरू श्रेष्ठ रहेको सोच कायमै छ। शिक्षाका वरिष्ठ पदाधिकारीहरूको सोचमा शिक्षकहरूले राम्ररी विद्यालय सञ्चालन गर्न सक्दैनन् भन्ने सामन्ती सोच नै हो। जुन शिक्षकहरूमाथि हामीले भावी सन्ततिको निर्माणको अभिभारा सुम्पेका छौं, उनीहरूले शिक्षा संसाधनको सही उपयोग गर्दैनन् भन्ने शङ्का गर्नु अनुचित प्रतीत हुन्छ। यस्तो सोच शिक्षक समुदायलाई हीन बुझ्ने मानसिकताको परिचायक हो। यस कारणले नै होला उनीहरूमा आफ्नो जागीरप्रति विश्वासमा कमी आइरहेको छ।
शिक्षकहरूको नियुक्तिलगायत प्रशिक्षण वा सेवा–शर्तलाई यस्तो बनाइएको छ जसबाट शिक्षकहरूको छवि र सम्मान निरन्तर खस्कँदै गइरहेको छ। नेपाली राजनीति र शिक्षासँग सम्बद्ध पदाधिकारीहरूले शिक्षकहरूलाई स्वतन्त्र चिन्तन र अभ्यास गर्ने मौका नै प्रदान गरेका छैनन्। आज सामुदायिक विद्यालयका शिक्षकहरूसँग नवीनता, रोचकता, रचनात्मकता र पढाउनका लागि न समय छ, न वातावरण नै। वास्तवमा भन्ने हो भने उनीहरूको ऊर्जा र प्रेरणाको स्रोत ‘सिस्टम’ बाहिर कहीं अन्यत्र छ। जुन दिनदेखि शिक्षकहरूले यसबारे विचारविमर्श गर्न थाल्छन्, त्यस दिनदेखि नै परिवर्तन र क्रान्तिको ढोका खुल्न थाल्छ। यस कारण सरकारले पनि परिवर्तनका लागि शिक्षकहरूमा सोच विकसित हुन नदिन उनीहरूलाई आर्थिक दृष्टिकोणले सबल बनाउन खोज्दैन।
नेपालको वर्तमान आर्थिक नीति अनुसार बजारलाई ‘शिक्षा’ सुम्पिने जुन दबाब विकसित भइरहेको छ त्यसले पनि सामुदायिक विद्यालयका शिक्षकहरूविरुद्ध वातावरण तयार गर्न सहयोग पु–याएको छ। शिक्षातन्त्रको सबैभन्दा तल्लो तहमा उभिएको शिक्षकको शिक्षण समयबाट पटकपटक ‘समय’ चोरिएको छ। मतदाता सूची तयार गर्ने, चुनावमा खट्ने, जनगणना गर्ने, विद्यालयको आयव्यय राख्ने, पुस्तक लिन जाने, प्रशिक्षणमा भाग लिने, छात्रवृत्ति बाँड्ने, सूचना भर्ने, व्यवस्थापन समिति र शिक्षा प्रमुखको चाकरी गर्ने, हडतालमा भाग लिने, विभिन्न शिक्षक सङ्गठनको नाउँमा बैठकमा भाग लिनेजस्ता काम नै आज सामुदायिक विद्यालयका शिक्षकहरूको प्रमुख दायित्व बनेको छ। यसका साथै धेरै प्रकारका शिक्षकहरू जस्तै राहत शिक्षक, पिसिएफ शिक्षक, अस्थायी शिक्षक, लाइसेन्सधारी शिक्षक, बालविकास शिक्षकजस्ताहरूको नियुक्ति गरेर शिक्षक सङ्गठनको एकता नै ध्वस्त पारिएको छ।
यसरी शिक्षकहरूको अधिकारका लागि सङ्गठित शिक्षकहरूको सङ्गठन दिन प्रतिदिन कमजोर हुँदै गइरहेको छ र सङ्गठित शिक्षक आन्दोलनको अभावमा बजारको दबाबले शिक्षालाई आप्mनो अनुकूल बनाउन सफल भइरहेको छ। आज सामुदायिक र संस्थागत भागिदारीको कुरा चल्न थालेको छ। कैयौं ठाउँमा सामुदायिक विद्यालय बन्द भएका छन्। सरकारी सम्पत्तिको निजीकरण प्रारम्भ भइसकेको छ। शैक्षिक बजारको बढ्दो दबाबले सामुदायिक विद्यालयको शिक्षा दयनीय र शिक्षकलाई कमजोर बनाएको छ। यस विकट शैक्षिक समस्याको समाधान स्वयं शिक्षक र शिक्षक सङ्गठनहरूले मात्र गर्न सक्ने मेरो मान्यता छ तर विडम्बना के छ भने यसो हुन नदिन एकातर्फ सरकारी र मूल्यपरक शिक्षालाई ध्वस्त पारेर निजीकरणलाई बढावा दिने बजार र अर्कोतर्फ योजनाबद्ध तरीकाले दयनीय अवस्थामा पु–याइएका शिक्षकहरू नै बाधक पनि रहेका छन्।
शिक्षकलाई विशिष्ट श्रेणीको श्रमिक मानिएको छ। शिक्षकहरूले आप्mनो ज्ञान परिमार्जन गर्न निरन्तर अध्ययन गरिराख्नुपर्छ। यसको लागि समय र धनको विशेष आवश्यकता पर्छ। यसका लागि उनीहरूलाई राम्रो तलब र ‘मात्र शिक्षण’ को सुविधाको दरकार छ। यसले रचनात्मक वातावरण सृजना गर्न शिक्षकहरूलाई सघाउ पु–याउँछ र उनीहरूलाई सतत चिन्तनशील बनाइराख्छ। यसका लागि शिक्षकहरूलाई दिइने प्रशिक्षणको पनि महत्वपूर्ण भूमिका हुन्छ तर विडम्बना के छ भने उनीहरू सधैं प्रशिक्षणविपरीत काम गरिराखेका हुन्छन् किनभने प्रशिक्षण पछि हुने क्रियाकलापमा सम्बन्धित निकायले कुनै ध्यान दिंदैन। यसको प्रत्यक्ष प्रभाव उनीहरूको काम, छवि र अन्ततः शिक्षा र समाजमा देखा पर्दछ।
यसरी समाज निर्माणको महत्वपूर्ण उपकरण शिक्षा नै शिक्षकहरूको हातबाट चिप्लेर उच्चाधिकारीहरूको हातमा र अन्ततः बजारको हातमा पुग्छ भने बजारले के र कस्तो उत्पादन गर्छ, यो हामी सबैलाई थाहा भएकै कुरो हो। बजारलाई त केवल बेवकूफ उपभोक्ता चाहिन्छ जसले आँखा चिम्लेर विज्ञापनको भरमा जे पनि नयाँ देखिन्छ, किन्न थाल्छ। यदि शिक्षकहरूको आर्थिक स्थितिलाई शोधको विषय बनाइयो भने बजारको पकडमा रहेको मध्यमवर्गी जस्तै उनीहरू पनि ऋणले पिल्सिएका पाइन्छन्। अखबार, पत्र–पत्रिका, पुस्तकहरू, इन्टरनेट सँगसँगै सामान्य मध्यमवर्गीय जीवनको लागि पनि उनीहरूले पाउने तलब पर्याप्त हुँदैन।
विद्यालय निर्माणमा उनीहरूलाई सामेल गराइन्छ तर व्यवस्थापन समिति र प्रधानाध्यापकको मनोमानी र हुने भ्रष्टाचारमा शिक्षकहरू सामेल हुन विवश पारिन्छ अन्यथा जागीर नै खतरामा पर्छ। आज शिक्षण पेशाप्रति अपेक्षित दृष्टिकोण र यथोचित सम्मान प्राप्त नहुँदा शिक्षकहरू हतोत्साहित छन्। वर्तमान प्रणालीमा जागीर जोगाइराख्न र ढोल बजाइको तालमा नाच्ने जुन संस्कृतिको विकास भइरहेको छ त्यसले शिक्षकहरूद्वारा गरिने कार्य–संस्कृति लोप हुँदै गइरहेको छ।
यति हुँदाहुँदै पनि समर्पित र मेहनती शिक्षकहरूको कमी छैन तर प्रोत्साहनको अभावमा उनीहरूको कार्य पनि प्रभावित भइरहेको ध्यान कसैलाई हुँदैन। व्यवस्थाको उनीहरूप्रति बढ्दो अविश्वास र गैरमानवीय व्यवहारले उनीहरूको आत्मविश्वास कमजोर बनाइरहेको छ। यस परिस्थितिमा आज शिक्षकहरूले के भन्न थालेका छन् भने उनीहरू राष्ट्र निर्माता त हुन्, तर विद्यालयको शिक्षा व्यवस्थामा सबैभन्दा कमजोर र निरीह प्राणी पनि हुन्।
अर्कोतर्फ पुरुषप्रधान समाजमा शिक्षिकाहरूलाई विशिष्ट किसिमको पेशागत कठिनाइको सामना गर्नुपरिरहेको छ। सामाजमा के मान्यता छ भने केटाकेटीहरूलाई पढाउने पेशामा महिलाहरू दक्ष हुन्छन्। मेरो मान्यता पनि यही छ, तर पुरुष र महिला दुवैका लागि विद्यालयको कार्य अवधि फरक हुँदैन र यो एउटा पूर्णकालिक पेशा हो किनभने रचनात्मक कार्य समय, समर्पण र निरन्तरताले नै सम्भव हुन्छ। महिला शिक्षकहरूको नियुक्ति उनीहरूमा भएको स्वाभाविक ममत्व, कोमलता र बालमन बुझ्न सक्ने क्षमताको परिणाम हो। तरवर्गीय सामाजिक विभेदबाट उनीहरू पनि कसरी अछूतो बस्न सक्छन् र ? विद्यालय बाहेक गरिने कार्यको थकान र परिवारद्वारा सञ्चालित नारी जीवनले शिक्षिकाहरूको स्वायत्तता खोसेको पाइन्छ। नीतिको यो अधूरोपनले पनि वस्तुतः हाम्रै शिक्षालाई कमजोर बनाउने काम गर्दछ। यस परिवेशलाई राम्ररी नबुझेकाहरूले शिक्षकहरूलाई नै दोषी ठानेर आफ्नो दोष लुकाउने गर्छन्। यस कारण वर्तमान परिवेशमा शिक्षकहरूको मनोविज्ञान र उनीहरूको समस्या बुझ्ने इमानदार प्रयासको खाँचो छ।