सञ्चालकलाई पक्राउ गर्न माग गर्दै कलैयामा प्रदर्शन

प्रस, वीरगंज, ४ फागुन/
नवजन्म सुधार केन्द्रका सञ्चालक साहेब मन्सुरलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आइतवार कलैयामा प्रदर्शन गरिएको छ ।

कलैया उपमहानगरपालिका–१ स्थित उक्त केन्द्रमा कुटपिट गरी हत्या गरिएका युवक प्रदीपप्रसाद मण्डलका परिवार र स्थानीयले आज विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापन बुझाएका हुन् ।

पीडितहरूले सञ्चालकलाई पक्राउ गर, पीडितलाई न्याय देउ, दोषीलाई कारवाही गर, थप सिसिटिभी फुटेज सार्वजनिक गर जस्ता नाराहरू लगाएर नगरपरिक्रमा गर्दै प्रजिअ अधिकारीलाई ज्ञापन बुझाएका थिए । प्रहरी उपरीक्षक सन्तोष तामाङले घटनामा संलग्न सातजना अभियुक्तलाई पक्राउ गरिएको र उनीहरूलाई कानूनबमोजिम सजाय हुने बताए ।

उनले प्रारम्भिक अनुसन्धानमा केन्द्रका सञ्चालक मन्सुर घटनाको दिन नरहेको र थप अनुसन्धान भइरहेको बताए । फागुन १ गते बिहीवार राति सुधार केन्द्रमा भर्ना भएका कलैया उपमहानगरपालिका–९ रामपुर निवासी मण्डलको केन्द्रमा रहेका मानिसहरूको कुटपिटबाट मृत्यु भएको थियो । प्रहरीले घटनामा संलग्न सातजनालाई पक्राउ
गरी कर्तव्य ज्यान मुद्दा अन्तर्गत बारा जिल्ला अदालतबाट अनुसन्धानका
लागि सात दिनको म्याद थप गराएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्