नरेश यादव, पर्सागढी, ४ फागुन/
ग्रामीण रिसर्च रामजानकी बगिया पर्सागढी नगरपालिका–४ को आयोजना, वीरगंज महानगरपालिका–११ की जुही कलवारको आर्थिक सहयोग तथा जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान पर्साको सहकार्यमा आइतवार वीरगंज महानगरपालिका–३१ मा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सोलखपुर र लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी माध्यमिक विद्यालय, कोनियालाई सेनेटरी प्याड तथा मेशीन हस्तान्तरण गरिएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि कलवारले रोग लाग्नुभन्दा पहिला सतर्कता अपनाउन जरुरी हुने बताइन् । उनले रोग लागिसकेपछि सतर्क हुनुभन्दा राम्रो रोग लाग्न नदिनेतर्फ सचेत हुनुपर्ने बताइन् । उनले महिलाहरूलाई विभिन्न शारीरिक कठिनाइ हुने गरेको र त्यसमध्ये महीनावारी प्रमुख रहेको बताइन् । उनले विद्यालयमा अध्ययनरत छात्राहरू महीनावारीको क्रममा बढी पीडित हुने गरेको र उनीहरूको अध्ययनमा पनि असर पर्ने गरेकोले सोलाई सहज गर्न विद्यालयमा मेशीनसहितको प्याडको व्यवस्था गरिएको बताइन । विद्यालयमा प्याडको सहजता भएपछि अध्ययन प्रभावित नहुने उनले बताइन् । छात्राहरूले प्याड अभावमा लुगाको प्रयोग गर्दा विभिन्न खाले रोगहरू लाग्ने गरेको उनले बताइन् । सोही विषयलाई मध्यनजर गर्दै प्याडको व्यवस्था गरिएको उनले बताइन् । उनले अहिले छात्राहरूलाई लक्षित गरेर मुखको पाठेघरविरुद्धको खोप एचपिभी सरकारले देशव्यापीरूपमा सञ्चालन गरेको हुँदा यो अवसरको फाइदा लिन सुझाइन् । उनले महीनावारी नियमित प्रक्रिया भएको र छात्राहरूले लाज नमानेर प्याडको प्रयोग गर्नुपर्ने बताइन् ।
कार्यक्रममा एकल विद्यालय पर्साका सचिव अङ्कित अग्रवाल, जङ्गबहादुर दास, पुष्पा चिमरिया, मीना कलवार, विन्देश्वर पण्डित, प्रअद्वय राजु माली र दिनेश चौरसियालगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत शिक्षिका शोभा चौधरी र प्रतिमा चौधरीले तथा सहजीकरण सुजन ढुङ्गेल र हरिन्द्रप्रसाद चौधरीले गरेका थिए ।